आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेट

‘लिग लिडर’ बन्ने धुनमा रहेको गुजरात र आत्मसम्मान फर्काउने दाउमा रहेको चेन्नई आपसमा भिड्दै

आइतबार, ११ जेठ २०८२, ०९ : ५१
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ। खेल आइतबार अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
  • गुजरात प्लेअफमा पुगिसकेको छ भने चेन्नई उपाधि होडबाट बाहिरिएको छ। गुजरातले लिगमा उत्कृष्ट प्रदर्शन गरेको छ र चेन्नईले आफ्नो प्रतिष्ठाका लागि खेल्नेछ।
  • गुजरात र चेन्नईबीच आईपीएलमा हालसम्म ७ खेल भएका छन्, जसमा गुजरातले ४ खेल जितेको छ। खेलमा गुजरातका साई र शुभमन लयमा छन्।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सको सामना गर्दै छ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । यो गुजरातको घरेलु मैदान हो । 

गुजरात र चेन्नई यो सिजन पहिलो पटक आपसमा भिड्न लागेका हुन् । आईपीएलको जारी सिजनमा खेल्न लागिएको यो ६७औँ खेल हो । गुजरात र चेन्नईले भने लिग चरणमा आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । 

जारी सिजनको आईपीएलमा यी दुवै टोली फरक परिस्थितिमा छन् । गुजरात यसअघि नै प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेको छ । पाँचपटकको च्याम्पियन चेन्नई भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । 

आईपीएलको इतिहासमा भने चेन्नई सर्वाधिक सफल टोली हो । चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ । सन् २०१० मा पहिलो पटक चेन्नईले उपाधि जितेको थियो । फाइनलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । 

सन् २०११ को उपाधि पनि चेन्नईले नै उचालेको थियो । उक्त संस्करणको फाइनलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराएको थियो । चेन्नईले सन् २०१८ मा उपाधि चुमेको थियो । फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो । 

सन् २०२१ को उपाधि पनि चेन्नईले चुमेको थियो । फाइनलमा चेन्नईले कोलकाता नााइट राइडर्सलाई २७ रनले पराजित गरेको थियो । सन् २०२३ मा पनि चेन्नई सुपर किङ्सले उपाधि जितेको थियो । फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

यसको विपरित, गुजरात टाइटन्सले हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो । 

‘लिग लिडर’ बन्दै अघि बढ्ने धुनमा गुजरात

हाल गुजरात १३ खेलबाट १८ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसीन छ । गुजरातले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नौ खेलमा विजयी भएको गुजरातको टोली चार खेलमा भने पराजित भएको छ ।

gt

आइतबारको खेलमा चेन्नईलाई हराएमा गुजरात टाइटन्स २० अंकसहित तालिकामा पहिलो भएर प्ले–अफ चरणमा पुग्ने पक्का हुनेछ । त्यसैले चेन्नईविरुद्धको खेल गुजरातका लागि निकै महत्त्वपूर्ण छ । आफ्नो अघिल्लो खेलमा गुजरातको टोली लखनउ सुपर जायन्ट्ससँग पराजित भएको थियो ।

धर्मराएको आत्मसम्मान फर्काउने चेन्नईको दाउ

उपाधि होडबाट बाहिरिइसकेको चैन्नई १३ खेलबाट केवल ६ अंक बटुल्दै तालिकाको अन्तिम अर्थात, १०औँ स्थानमा आसीन छ । यो सिजन चेन्नईको प्रदर्शन बिर्सनलायक छ । चेन्नईले केवल तीन खेलमा जित र १० खेलमा हारको नतिजा निकालेको छ । 

त्यसैले, आइतबारको खेलमा चेन्नई प्रतिष्ठाका लागि मैदानमा ओर्लनेछ । आफूसँग गुमाउन केही बाँकी नरहेकाले चेन्नई आइतबारको खेलमा आफूभन्दा निकै बलियो टोली गुजरातलाई हराएर धर्मराएको आत्मसम्मान फर्काउने धुनमा हुनेछ । 

हेड टु हेडमा गुजरात अगाडि 

गुजरात र चेन्नईबिच आईपीएलमा हालसम्म कुल सात खेल खेलिएको छ । त्यसमा गुजरात केही बलियो देखिन्छ । गुजरातले चार खेलमा चेन्नईलाई हराएको छ । चेन्नईले भने तीन खेलमा गुजरातलाई पराजित गरेको छ । 

चेन्नई र गुजरातको टोली अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा यसअघि तीन पटक आपसमा भिडिसकेका छन् । त्यसमध्ये दुई खेलमा गुजरातले चेन्नईलाई पराजित गरेको छ । चेन्नईले भने यो स्टेडियममा एक पटकमात्र गुजरातलाई हराएको छ । 

सन् २०२३ को फाइनल खेल पनि गुजरात र चेन्नईबिच यही स्टेडियममा खेलिएको थियो । त्यो खेलमा चेन्नईले गुजरातलाई पाँच विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैले यी दुई टोली यो स्टेडियममा चौथो पटक आपसमा भिड्न लागेका हुन् । 

लयमा छन् गुजरातका साई र शुभमन

यो सिजन गुजरात टाइटन्सका खेलाडीले अब्बल प्रदर्शन गर्दै आएको छ । यो सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा गुजरातकै दुई खेलाडी पहिलो र दोस्रो स्थानमा छन् । यो सूचिमा पहिलो स्थानमा आसीन साई सुदर्शनले ६ सय ३८ रन बनाइसकेका छन् । 

यसक्रममा उनले एक शतक र पाँच अर्धशतक बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा गुजरातकै शुभमन गिल दोस्रो स्थानमा छन् । उनले कुल ६ सय ३६ रन बनाएका छन् । यस क्रममा उनले ६ वटा अर्धशतक प्रहार गरेका छन् । 

गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने प्रसिद्ध कृष्णा हुन् । जारी सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि उनी दोस्रो स्थानमा आसीन छन् । उनले १३ खेलमा २१ विकेट लिइसकेका छन् । 

सर्वाधिक विकेट चेन्नईका नुर अहमदको नाममा

जारी सिजनको आईपीएलमा चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिवम दुवे हुन् । उनले १३ खेलमा कुल तीन सय ४० रन बनाएका छन् । चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर नुर अहमद हुन् ।

noor

नुर अहमदले १३ खेलमा २१ विकेट लिएका छन् । यो सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी पहिलो स्थानमा आसीन छन् । उनको उत्कृष्ट प्रदर्शन भने केवल १८ रन खर्चिएर चार विकेट हो । 

ब्याट्सम्यानलाई साथ दिने पिच

गुजरात र चेन्नईबिच आइतबारको खेल हुने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा खेलिएको पछिल्ला ६ मध्ये पाँच खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । 

छैन वर्षाको सम्भावना

चेन्नई र गुजरातबिच खेल हुने दिन आइतबार अहमादाबादमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर चर्को गर्मी हुने बताइएको छ । अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । 

सम्भावित टोली

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), जस बटलर (विकेटकिपर), साई सदुर्शन, शेरफन रदरफोर्ड, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, अरशद खान, साई किशोर, कागिसो राबडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा । 

चेन्नई सुपर किङ्स : महेन्द्रसिंह धोनी (कप्तान तथा विकेटकिपर), आयुष म्हात्रे, डेभोन कनवे, उर्विल पटेल, रवीन्द्र जडेजा, डेवाल्ड ब्रेविस, शिवम दुबे, अंशुल कम्बोज, रविचन्द्रन आश्विन, नुर अहमद, खलिल अहमद र माथिशा पाथिराना ।

Indian Premier League (IPL) 2025 Indian Premier League (IPL) 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप