आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
कलाकार

‘आफूले अभिनय गरेको फिल्म आफ्नो बच्चाजस्तै हो, कुनैलाई हेला गर्न पनि मिल्दैन’

मैले अहिलेसम्म हिरोइन सिफारिस गरेको छैन : अभिनेता लामिछाने
आइतबार, ११ जेठ २०८२, १० : ०६
आइतबार, ११ जेठ २०८२

काठमाडौंँ । अभिनेता खगेन्द्र लामिछाने कहिले ‘टुल्के’, कहिले ‘धनपति’,  कहिले ‘डमरु’ नामले चिनिए । आफ्नो भूमिका अनुसारको नामले चिनिने उनी अब ‘विश्व’ नामबाट चिनिने तरखरमा छन् ।

जेठ १५ गतेदेखि प्रदर्शन हुने फिल्म ‘महाभोज’मा लामिछाने विश्व नाम गरेको चरित्रमा देखिन लागेका हुन् । लामिछानेका अनुसार ‘महाभोज’मा उनले गाउँबाट काठमाडौंँ आएर सङ्घर्ष गर्ने एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

आफू मुख्यतः मौलिक कथा र पटकथा भएको फिल्ममा अभिनय गर्न रुचाउने लामिछाने बताउँछन् । त्यसैले प्रायः आफ्नै लेखनमा जोडिएर मात्र अभिनय गर्दै आएको उनको भनाइ छ ।

यसपटक भने उनले बाहिरी स्क्रिप्टमा अभिनय गरेका छन् । मनपर्दाे चरित्र र निर्देशक दिनेश राउत भएकाले ‘महाभोज’मा आफू जोडिएको लामिछानेले बताए । उनी अभिनित फिल्म ‘के घर के डेरा : घर नम्बर २’ पूर्णरूपमा हलबाट नउत्रिँदै उनको अर्को फिल्म आउन लागेको हो । दुई साताको अन्तरालमा नयाँ फिल्म रिलिज हुँदा प्रमोसनको चटारो हुने उनी बताउँछन् ।

आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने ‘महाभोज’को विषयमा अभिनेता खगेन्द्र लामिछानेलाई रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  •  तपाईं सधैँ आफ्नो लेखन र थोरै स्टार भएको फिल्ममा काम गर्दै आउनुभएको थियो । धेरै स्टार भएको र अर्काको लेखन रहेको फिल्म ‘महाभोज’मा कसरी जोडिनुभयो ?

– यस फिल्ममा जोडिनुका दुई कारण छन् । एउटा त, फिल्मका निर्देशक दिनेश राउत, अर्को फिल्मको कथा र मेरो चरित्र । राउत राम्रो निर्देशक हुन् भनेर भनिरहनुपर्ने कुरो होइन । राम्रो निर्देशकसँग काम गर्ने इच्छा हरेक कलाकारमा हुन्छ । त्यो इच्छा ममा पनि थियो ।

मैले उहाँका फिल्म हेर्दै आएको छु । उहाँ आफैँले फोन गरेर ‘सँगै काम गर्न सकिन्छ कि’ भनेर सोध्नुभयो । मैले फिल्मको स्क्रिप्ट पढेँ । ठिक लाग्यो । अनि फिल्ममा जोडिएँ ।

अर्काे कुरा, मैले आफ्नो लेखन बाहेकको फिल्ममा काम नगरेको होइन । फिल्म लेखनसमेत आफूले गर्दा बाहिरको फिल्म गर्न समय मिल्दो रहेनछ । अहिले लेखन कम गरेर, बाहिरी लेखनको पनि फिल्म गर्न थालेँ ।

khagendra Lamichhane (4)

  •  फिल्ममा फरक–फरक चरित्रमा देखिदै आउनु भएको छ । ‘महाभोज’मा कस्तो चरित्रमा देख्न पाइन्छ ?

– फिल्ममा मेरो विश्व नामको सिम्पल चरित्र छ । ऊ गाउँबाट काठमाडौँ आएर जागिर गर्दै विभिन्न समस्यामा जेलिँदै सङ्घर्ष गरिरहेको हुन्छ । त्यही क्रममा ऊ केही कुरोका लागि गाउँ फर्किन्छ । गाउँ फर्किंदाको उतारचढाव मेरो चरित्रमा देख्न सकिन्छ । यस अगाडि भने फिल्म हेर्दा मज्जा आउँदैन । चरित्र र कथा प्रभावशाली भएकाले फिल्म मेरो रोजाइमा परेको हो ।

  •  गाउँबाट काठमाडौँ आएर सङ्घर्ष गर्ने पात्र त ‘पशुपति प्रसाद’मा पनि थियो नि, होइन र ?

– अहिलेको समयमा अधिकांश मानिस गाउँबाट काठमाडौँ आएर सङ्घर्ष गरेका छन् । काठमाडौँमा यहाँका रैथाने कति प्रतिशत होलान् र ? अहिले भएको जनसङ्ख्यामा पनि आधाभन्दा बढी त गाउँबाटै आएका हुन् । उनीहरू सबैका आ–आफ्ना सङ्घर्षको कथा छन् । फिल्ममा त्यस्तै कथाले प्राथमिकता पाउँदै आएको छ । यहाँका रैथानेहरूको कथा, सङ्घर्ष र जनजीवनमा फिल्म नबनेको भने होइन । काठमाडौँ केन्द्रित कथा बनाउँदा कि यहाँको रैथानेको बन्छ, कि बाहिरबाट आएर सङ्घर्ष गर्नेको विषय उठाउनुपर्छ । कथा त्यो भए पनि फिल्मले भरपुर मनोरञ्जन दिन्छ । दर्शकले कल्पना नगरेको कथा भेट्छन् ।

  •  दिनेश राउतसँग पहिलो सहकार्य कस्तो रह्यो ?

– उहाँ एकदमै राम्रो निर्देशक हो । सामाजिक चेतना पनि उहाँको राम्रो छ । उहाँ राजनीतिक चेत भएको व्यक्ति पनि हो । उहाँको फिल्मबाट पनि यो थाहा पाउन सकिन्छ । निर्देशक होस् वा अन्य सर्जक, उसलाई आफ्नो सामाजिक परिवेश कस्तो हो ? समाज कता गइरहेको छ ? समाजको अवस्था के छ ? हाम्रो राजनीतिक अवस्था के छ भन्ने कुराको आधारभूत ज्ञान हुनुपर्छ । उहाँको फिल्म हेर्दा उहाँमा यस्ता कुरो चेत भएको महसुस गर्न सकिन्छ । उहाँले बनाएको पछिल्लो फिल्म प्रसाद, प्रकाश र पुजार सार्की सामाजिक चेतका उदाहरण हुन् । अहिलेको ‘महाभोज’ पनि उहाँले राम्रो बनाउनु भएको छ ।

khagendra Lamichhane (3)

  •  दिनेश राउतले अहिलेसम्म बनाएको फिल्म र तपाईंले अभिनय गरेको फिल्ममा खासै मेल खाँदैन, तर दुवैको सहकार्य कसरी भयो ?

– मलाई पनि उहाँसँग काम गर्ने इच्छा थियो । उहाँले पनि यसमा मलाई योग्य देख्नुभएछ । हाम्रो कुरो मिलेर जोडिएका हौँ । म फिल्ममा आफ्नो क्यारेक्टरमात्र राम्रो हेर्दिनँ, समग्र सबै क्यारेक्टर राम्रो भयो भने मात्र खेल्ने गर्छु । यो फिल्मको कथा समसामयिक छ । मानिसहरूसँग कनेक्ट हुन्छ । फिल्मको कथालाई अगाडि बढाउन भूमिका खेल्ने पात्रहरू पनि राम्रा छन् । त्यसकारण पनि गर्नुपर्छ भन्ने लाग्यो ।

निर्देशक राउतमा म फिल्म मार्फत के भन्दैछु, कलाकारबाट कसरी काम लिन सकिन्छ भन्ने खुवी राम्रो छ । उहाँसँग काम गर्न मलाई सहज पनि भयो । फिल्मबाट पूर्णमनोरञ्जनको अलावा केही राम्रो विषय लिएर दर्शक हलबाट घर फर्किनेछन् । यो फिल्मको सुन्दरता भनेको त्यही हो ।

  •  भर्खर ‘के घर के डेरा : घर नम्बर २’ रिलिज भयो । तुरुन्तै ‘महाभोज’ आउँदा व्यक्तिगत रूपमा तपाईंलाई असर पर्दैन ?

– वर्षैपिच्छे धेरै फिल्म बन्ने क्रम बढ्दो छ । त्यसैले फिल्म रिलिजका लागि निर्मातालाई निकै सकस पर्छ । कहिलेकाहीँ एउटै अभिनेताको दुई फिल्म पनि जुधेका छन् । मेरो पनि कुनै दिन त्यस्तो होला । कोसिस सकेसम्म फिल्मको अन्तर बढी बनाउने गर्नुपर्छ । मेरो विचारमा दुई साताको अन्तरमा फिल्म आउँदा पनि दर्शकलाई खासै फरक पर्दैन । किनभने हप्तैपिच्छे दर्शकले नयाँ फिल्म हेरिरहेका हुन्छन् ।

  •  कलाकारको हिसाबले त सहज नै होला ?

–केको सजिलो, धेरै धपेडी हुँदोरहेछ । दुवै फिल्म आफ्नो भएपछि उत्तिकै समय दिनुपर्छ । यस्तो अवस्थामा दुवैलाई समान हिसाबले समय दिन सकिन्न । आफूले अभिनय गरेको फिल्म आफ्नो बच्चाजस्तै हो । कुनैलाई हेला गर्न पनि मिल्दैन । फेरि प्रचार प्रसार समय एउटै पर्छ । कसको गर्ने, कसको नगर्ने ? निकै कठिन हुन्छ । यो पटक दुवै युनिटसँग सल्लाह गरेर काम गरेका कारण त्यति अप्ठ्यारो भएको छैन ।

khagendra Lamichhane (2)

  •  पहिलो पटक अभिनेत्री अञ्जना बराइलीसँग स्क्रिन सेयर गर्नुभएको छ, अनुभव कस्तो रह्यो ?

– अञ्जना एकदमै राम्रो कलाकार हो । उनी एकदमै सहज छिन् । उनका फिल्म एकपछि अर्काे हिट भइरहेका छन् । राम्रो काम गर्ने कलाकारसँग काम गर्दा बेग्लै उत्साह  हुँदोरहेछ ।  

  •  हिरोले फिल्मका लागि हिरोइन सिफारिस गर्ने चलन छ रे नि ?

– मैले अहिलेसम्म कुनै फिल्मका लागि कुनै हिरोइन सिफारिस गरेको छैन । मेरो त्यही बानी थाहा भएर होला, अचेल त सोध्न पनि कोही आउनुहुन्न । पहिले तपाईंको अपोजिटमा को हिरोइन लिँदा ठिक होला भन्ने खालको कुरो आउँथ्यो । त्यो समय म निर्देशकलाई भन्थेँ, ‘कलाकार को लिने भन्ने तपाईको कुरो हो । चरित्रका लागि फिट हुने र राम्रो अभिनय गर्न सक्ने नयाँ वा पुराना जो ल्याउँदा पनि मलाई फरक पर्दैन ।’

  •  तपाईं निर्माता, निर्देशक र लेखक पनि हो, अब फिल्म पनि आफैँ बनाउनुहुन्छ कि ?

 – हाम्रो टुकी आर्टबाट केही फिल्म निर्माण हुने गरी पाइपलाइनमा छन् । नियमित फिल्म ल्याउने भनेर प्लानिङ भइरहेको छ । दसँैपछि काम सुरु हुन्छ । फिल्महरूको लेखन कार्य भइरहेको छ । अब, म लेख्ने काम कम गरेर अभिनय र निर्माणमा सपोर्ट गर्ने गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप