आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

गृहमन्त्री लेखकको राजीनामाबारे कांग्रेसमा दुई धार

आइतबार, ११ जेठ २०८२, १२ : ०८
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाबारे कांग्रेसभित्रै दुई धार देखा परेको छ।
  • अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएपछि विपक्षी दलले राजीनामा मागेको छ भने कांग्रेसका नेताहरू दुई समूहमा विभाजित भएका छन्।
  • डा. शेखर कोइरालाले नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् भने कृष्णप्रसाद सिटौलाले कर्मचारीको गल्तीलाई लिएर राजीनामा माग्न नमिल्ने बताए।

काठमाडौँ । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने/नदिनेबारे उनकै पार्टी नेपाली कांग्रेसमा दुई धार देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार छापा हानेर प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएपछि प्रश्न गृहमन्त्री लेखकमाथि तेर्सिएको छ । 

सो प्रकरणमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले उनको औपचारिक रुपमा राजीनामा माग गरिसकेको छ । तर कांग्रेसभित्रै भने लेखकले राजीनामा दिनु पर्ने/नपर्नेबारे नेताहरू दुई धारमा देखिएका हुन् । स्पष्ट रूपमै दुई गुटमा विभाजित कांग्रेसको संस्थापन पक्ष लेखकलाई बचाउन लागेको छ । डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूह भने आरोप लागेपछि निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ । लेखक कांग्रेसमा संस्थापन पक्षीय नेता हुन् । 

इतर समूहका नेता डा. कोइरालाले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिए । डा. कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको उदाहरण रहेकाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए  । 

‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समिति बनाउनुस् । गर्नुहोस् तपाईंहरू भने भइहाल्यो नि’, डा. कोइरालाले भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

डा. कोइरालाले मन्त्री लेखकलाई राजीनामा दिन सुझाएको अर्को दिन आइतबार संस्थापन पक्षीय नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरे । 

विराटनगरमा आइतबार बिहान पत्रकारहरूसँग कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतासमेत रहेका सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । ‘विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएका उदाहरण हामीसँग छन्,’ सिटौलाले भने,  ‘अहिले मन्त्रीमाथि कुरा उठेको होइन । अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको छ । अख्तियारले छानबिन गरिरहेकोले मन्त्रीमाथि आरोप लगाउन केही समय पर्खनुपर्छ । केहीले आरोप लगाए भन्दैमा मन्त्रीले राजीनामा दिन पर्दैन ।’

कांग्रेसले संस्थागत रूपमा भने यसबारे धारणा सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप