आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

उपाधि होडबाट बाहिरिएका दुई पूर्वविजेता कोलकाता र हैदराबादबिच प्रतिष्ठाको भिडन्त

आइतबार, ११ जेठ २०८२, १५ : ५०
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ, जुन राति ७:४५ बजे सुरु हुनेछ।
  • यो खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ र यी दुवै टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन्, तर खेलको नतिजाले तालिकामा केही असर गर्न सक्छ।
  • कोलकाताका लागि कप्तान अजिंक्य रहाणे सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् भने वरुण चक्रवर्ती सर्वाधिक विकेट लिने बलर हुन्। हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक रन बनाएका छन्।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबारको दोस्रो खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच खेलिँदै छ । यो खेल नेपाली समय अनुसार, राति ७:४५ बजे सुरु हुनेछ । कोलकाता र हैदराबादबिचको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा खेलिने छ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ६८औँ खेल हो । कोलकाता र हैदराबादले आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । 

यो सिजनको आईपीएलमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

यी दुबै टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । त्यसैले यो खेलको नतिजाले अंक तालिकामा खासै असर पार्ने छैन । हालसम्म १३ खेल खेलेको कोलकाता १२ अंकसहित तालिकाको सातौँ स्थानमा छ । 

कोलकाताले पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । कोलकाताको दुई खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ । यो खेलमा विजयी भए कोलकाताको टोली तालिकाको छैटौँ स्थानमा उक्लने छ । 

यसैगरी, हैदराबाद १३ खेलबाट ११ रन बटुल्दै तालिकाको आठौँ स्थानमा आसीन छ । हैदराबादले हालसम्म पाँच जित र सात हारको नतिजा निकालेको छ । हैदराबादको पनि एक खेल वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ । 

आईपीएलको इतिहासमा हालसम्म कोलकाता र हैदराबादबिच कुल २९ खेल खेलिएको छ । त्यसमध्ये २० खेलमा कोलकाताले हैदराबादलाई हराएको छ । बाँकी नौ खेलमा हैदराबादले कोलकातालाई पराजित गरेको छ ।

यो सिजनको आईपीएलमा कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान अजिनक्या रहाणे हुन् । उनले १२ खेलमा कुल तीन सय ७५ रन बनाएका छन् । यस क्रममा उनले तीनवटा अर्धशतक बनाएका छन् । 

कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने वरुण चक्रवर्ती हुन् । प्रभावशाली स्पिनर वरुणले हालसम्म १७ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा वैभव अरोडा दोस्रो स्थानमा छन् । उनले १६ विकेट लिएका छन् । हर्षित राणाले पनि १५ विकेट हात पारेका छन् । 

यसैगरी, हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान अभिषेक शर्मा हुन् । उनले १३ खेलमा कुल चार सय सात रन बनाएका छन् । यस क्रममा उनले एक शतक र दुई अर्धशतक बनाएका छन् । हैदराबादका सर्वाधिक विकेट लिने बलर हर्षल पटेल हुन् । उनले १२ खेलमा १६ विकेट लिएका छन् । 

हैदराबाद र कोलकाताबिच खेल हुने अरुण जेट्ली स्टेडियमको पिच ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । तुलनात्मक रूपमा सानो मैदान भएकाले पनि यो स्टेडियममा बढी रन बन्ने गरेको पाइन्छ । 

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९५ खेल खेलिएको छ । त्यसमध्ये ४५ खेलमा पहिले ब्याटिङ गर्ने र ४९ खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

अरुण जेट्ली स्टेडियममा हालसम्म खेलिएको आईपीएलमा बनेको उच्च स्कोर भने सात विकेट गुमाएर दुई सय ६६ रन हो । उक्त स्कोर अघिल्लो सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध बनाएको थियो । 

हैदराबाद र कोलकाताबिच खेल हुने दिन आइतबार दिल्लीमा वर्षाको सम्भावना निकै कम रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना पाँच प्रतिशत मात्र छ । तापक्रम भने २८ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ । 

सनराइजर्स हैदराबादको सम्भावित टोलीमा प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, ईशान किशन (विकेटकिपर), हेनरिक क्लासेन, अनिकेत वर्मा, नितिश कुमार रेड्डी, अभिनव मनोहर, हर्षल पटेल, जयदेव उनादकट, एसान मालिङ्गा र हर्ष दुवे रहेका छन् । 

कोलकाता नाइट राइडर्सको सम्भावित टोलीमा अजिनक्या रहाणे (कप्तान), सुनिल नारिन, रहमानुल्लाह गुरबाज (विकेटकिपर), वेंकटेश ऐयर, अंगकृष रघुवंशी वा मनिष पाण्डे, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, वैभव अरोडा, हर्षित राणा,  वरुण चक्रवर्ती, एनरिक नोर्जे वा स्पेन्सर जोन्सन छन् । 

सनराइजर्स हैदराबादले हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो । 

हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो । 

कोलकाता नाइट राइडर्सले हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो । 

कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो । फाइनलमा कोलकाताले पन्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप