आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

पैँयुको झ्याङबाट झ्याउँकिरी सङ्गीत, प्रेमको पर्खाइमा सहादत

आइतबार, ११ जेठ २०८२, १७ : ५२
आइतबार, ११ जेठ २०८२

तरेली परेको उकालै उकालो उक्लिएपछि बल्ल टेकियो रुबी भ्यालीको पुरु जहाँको होमस्टेमा स्नेहिल आतिथ्यको सत्कार मनैबाट पोखिएर घर–आँगन, पिँढी चोटा, कोठा छुर्लुप्पै भएको थियो ।

आहाल पानीको मात्रै कहाँ जम्दो रहेछ र ? आहाल त जम्दोरहेछ प्रेमको पनि । पग्लिएर मुटुका कन्दराहरूबाट । आँखाले मात्रै कहाँ रुन जान्दछ र ? आँखाभन्दा पहिल्यै रसाएर रुन जान्दोरहेछ, हृदयले अनि दह जम्दो रहेछ आतिथ्यको । हो त्यही आतिथ्य भावको प्रेमिल दहमा स्नेहाभिशिक्त थियौँ हामी । झमक्क भइसकेको झम्के साँझमा झ्याउँकिरीको सङ्गीत रन्किरहेको थियो, एकनासले झ्याउँऽऽऽ झ्याउँऽऽऽ ।

यस्तो समयमा हामी रुबी भ्यालीको पुरु उक्लँदै थियौँ । वरपर वारि डिल होस् वा वन वनेलीका छेउ–किनार हुन्, पैँयु ढकमक्क उत्ताउलिएका थिए बुटाभर फक्रिएर । फूलको मौसम त भइसकेको होइन, किन यसपाला पैँयु अगाडि नै बग्रेल्ती फुलेका छन् हँ । मनमा एक सर्काे तर्क पनि तरेलियो । विकासे भाषामा जलवायु परिवर्तनका कुरा छरिन्छन्, विश्व तापमानका कुरा बेसाइन्छन्, आयात गरिन्छन्, घाघडान मौसमविद्का दर्शनहरू । हुन पनि सक्छ यी र यस्तै सन्दर्भहरूले तर हाम्रा शास्त्रहरू जहाँ अव्याख्येय भएर रहेका वसन्त वर्णन, सौरशास्त्रका चर्चाहरू कसैले गरेका छैनन् । आज त्यतातिर जानु पनि छैन, तर यति सम्झाउँछु, फरक–फरक समयमा फुल्ने कुसुहरू छन्, जस्तो कि स्वस्थानीका समयमा पैँयु, धुर्सुल, भीमसेनपाती, वर्षात्मा ईन्द्रबेली, असारे, बाह्रमासे— यिनलाई आफ्नै समयमा मुस्कुराउनु छ, आफ्नै मौसममा लहराउनु छ र फक्रनुछ । बुद्धि ज्यादा भएकाहरूको तर्कमा बरालिरहने फुर्सद यी उत्ताउला पैँयुका फूलहरूलाई कहाँ छ र ?

लाग्छ, जीवन भन्नु नै उक्लिरहने यात्रा रहेछ, चाहे सपना र सफलताको उकालो होस् वा उमेरको गौँडो होस् हामीले उक्लनैपर्छ । 

झ्याउँकिरीहरू किन बोलाउँछन् हँ दिउँसै साँझ ? किन आफ्नै टाउको फुट्ने गरेर हल्ला बेसाउँछन् तिनीहरू ? के वनवाटिकाको निरव सन्नाटाले चिथोर्छ हो तिनीहरूलाई ? प्रश्नहरूका चाङ उम्रिन्छन् मनभरि र त्यही अनुत्तरित सवालबाट उम्रिएको कम्पनले हल्लाउँछ मेरो मन–मस्तिष्कलाई बेस्करी ।

साँझको ढल्किँदो प्रहरमा कसैले अलि परबाट सुसेल्दै थियो :
मेरो माया छ भने तेता
छिनछिन चुरा बजाउँदै आऊ यता ! 

प्राणी विज्ञानका ज्ञाता मेरो एकजना साथीले एक दिन सुनाउँदै थियो कि यी झ्याउँकिरीहरू मिर्मिरे साँझमा आफ्नी पोथी साथीलाई समागमका लागि बोलाउन सकेसम्म मिठो स्वरमा चिच्याउँछन्, मुखले पनि र पखेटा बजाएर पनि ।

मलाई लाग्यो कि गीत सुसेल्ने ती गिताङ्गे र यो झ्याउँकिरीमा के फरक छ र ? उत्तर आफैँभित्र खोज्दै छु ।

प्रेमको उत्तापमा रापिएको झ्याउँकिरी पोथी नपाएसम्म र नआएसम्म उरालिरहन्छ प्रेमको सङ्गीत । सायद त्यसै गरेर हुन सक्छ, रातभर हामी बास बसेको घरभन्दा अलि पर्तिर मादल घन्किरहेको थियो, बाँसुरी र मुजुरा बजिरहेका थिए । गीत गुन्जिरहेका थियो । उस्तै छिप्पिँदो रातमा पनि सुनिएको थियो झ्याउँकिरी ।

हामी थाकेर लखतरान थियौँ र निदायौँ भुसुक्कै । भोलिपल्ट मिर्मिरे उज्यालोमै जानुु थियो उकालो बाटो । उठ्दा मकै–भटमासको सातुसामल समेत प्रेमपूर्वक घरबेटीले निःशुल्क गोजीमा भरिदिएपछि आँखा मिच्दै उचालियौँ । हिँड्दा कुखुराहरू ब्युँझिएका थिए, चिर्बिराउँदै थिए धोबिनी र चिबे चरीहरू, घुर्दै थिए परेवा तथा ढुकुरहरू र भँगेरीका कल्र्याङमल्र्याङ्हरू ।

खै किन ब्युँझिएनन् झ्याउँकिरीहरू ? उज्यालो हिमालमा पोखिनै लाग्दा हामी लिङ्जोमा प्रातः भोजन लिङ्जोमा लिएर सिन्दुर खर्कतर्फ हान्नियौँ । आज त यतै विश्राम गरिन्छ भन्ने सोच पलायो । चौँरी गोठमा भोलि बिहानै जानु छ, उकालै उकालो गणेश हिमालको फेदीतिर । अथवा जानु छ जीवनका उचाइतिर जहाँ समयले निथार्दै ल्याएका अनुभूति, सम्भावना र जिज्ञासाका थुप्रा–थुप्रालाई हिउँजस्तै पगालेर मनका तरलतासँग संयोजन गर्दै महल बनाउनु छ अक्षरहरूका ! फुलिसकेका छन् हिउँजस्तै शिरका केशराशिहरू र पनि जीवनका सपना कति हो कति बाँकी छन् । थाहा छैन ऊ त्यो पारिको सेताम्मे चुचुराजस्ता हिमवाटिका छुन्छन् कि छुँदैनन् सपनाहरूले ।

यी झ्याउँकिरीहरू मिर्मिरे साँझमा आफ्नी पोथी साथीलाई समागमका लागि बोलाउन सकेसम्म मिठो स्वरमा चिच्याउँछन्, मुखले पनि र पखेटा बजाएर पनि ।


हो, भोलि बिहानै उठेर उक्लनु छ सिन्दुर खर्क । उचालिनु छ निकै माथिको हाँखर्कसम्म । जहाँ पुग्न अझै तीन दिन हिँड्नुपर्छ । त्यहाँबाट पनि हार्ची पास गरेर अरु चार दिन उक्लेपछि मात्रै पुगिन्छ, गणेश हिमालको जरासम्म । जहाँबाट उठेको छ हाम्रो टोपीजस्तै स्वाभिमानको उँचो शिर अर्थात् गणेश हिमालको चुचुरो । त्यहाँ चुचुरो मात्रै पनि त छैन, फेदैमा छ गजाननले नियमित स्नान गर्ने गणेशकुण्ड । अलि पर शिर उचालेर हेर्ने हो भने गणेशजीका क्रीडा मन्द मुस्कानले हेरिरहेकाजस्ता देखिन्छन् गौरी शङ्करका शृङ्खला पनि ।

हिँउ छिचल्दै हार्चीमा झन्डा ठड्याएर ओरालो झर्‍यौँ । हिमाली जिल्ला भएर पनि हिउँ छुन केही दिन हिँड्नुपर्ने वा अवसर पर्खिनुपर्ने हाम्रा लागि एक घण्टा हिँउमै मस्तसँग खेलिरह्यौँ, खेलिरह्यौँ । बेस्सरी हिउँसँग न्यास्रो मेटिने गरेर उफ्रापाप्री गर्‍यौँ, खेल्यौँ र चिप्लिदै, खेल्दै रुद्र दह अर्थात् कालो दहको स्याँठिलो ठिहीमा स्युस्यु गर्दै पुग्यौँ । साँझ ढल्किँदै थियो र चिसोमा जे–जस्तो बन्न सक्यो खाएर मस्त सुत्यौँ । सायद यहाँको चिसोमा बस्न नसक्ने रहेछ कि क्या झ्याउँकिरीको सङ्गीत सुन्न पाइएन ।

गणेश हिमालको छातीमा रुद्रताल वा कालो दहको अप्रतीम सुन्दरता पान गर्दै अर्काे दिन निगालाका झ्याङ्हरू, बकुन्द्र मृग र भालुका बगाल हिँड्ने बाटा, वासस्थल नियाल्दै नियाल्दै नेत्रावतीका सुसेली र सङ्गीत सुनेर सुत्यौँ । यहाँ भने झ्याउँकिरीका ध्वनि गुञ्जायमान थियो । निगालाका झ्याङमुनि सायद लुकेर बस्ने खरायो र हाब्रेहरूले बिस्ट्याएका मात्रै देख्यौँ । हामीलाई देखेर ती भूमिगत भए होलान्, वासस्थल देखिए पनि तिनलाई देखिएन ।

बास खोस्नु र खोसिनु एउटा पीडा तिनले भोगे जसरी भुटानी शरणार्थीले आफ्नो धर्ती र आकाश खोसिनुको दर्दनाक जिन्दगी अद्यापि भोगिरहेका छन्, कहरपूर्ण शिविरहरूमा ।
केही दिन हामी शिविरहरूमा बस्यौँ । धुँवाधुलो मुक्त आकाशलाई नियाल्यौँ । घरखेत र बैंक ब्यालेन्सका झन्झटहरूबाट मुक्त रह्यौँ । फोनका भाइब्रेसन र रिङटोन नबज्दा पनि जिन्दगी चल्दोरहेछ । होटल, रेस्टुरेन्ट र लजहरू नहुँदा झन् ढुक्कले प्यारपूर्ण आतिथ्यमा बास बस्न सकिन्छ । प्रहरी र प्रशासन नहुँदा झनै गतिलो सुरक्षा प्रबन्ध हुँदोरहेछ । मान्छेका लागि प्रकृतिको काख जति सुरक्षित र पञ्चपाप (लोभ, मोह, मद, मात्सर्य र हिंसा) रहित जीवनअन्त कतै नहुँदोरहेछ भन्ने चेत पनि हामीले त्यहाँ नै महसुस गर्‍यौँ । यस्तो लाग्यो कि भीडहरूबाट पर बाँचिरहेको जीवन नै यथार्थपरक भोगाइ हो, जहाँ छलकपट छैन, लोभ–मोह छैन, दम्भ–दर्प छैन । सपाट र सिधा जे छ त्यही जिन्दगी हो, प्रकृतिको काखमा !

सानो अवरोधले लक्ष्यभन्दा केही ओर्तिर नै गन्तव्य विश्राम गर्नुपर्ने स्थिति आइपरेपछि फर्कनुको विकल्प रहेन । दिनमा १४ घण्टासम्मको सफर । दुःखहरू साथी भइदिएपछि तिनले पनि उति साह्रो नदगल्च्याउने रहेछन् । एक घण्टा हिँड्दा फतक्क गल्ने जिउ १४ घण्टा हिँड्दा पनि उस्तै स्फूर्ति कसरी आउँदो हो ? यस्तै मात्रै पो लागिरह्यो ।

बेलुका ८ बजेतिर मात्रै हिन्दुङ्मा बास बस्न पुगियो । नजिकै रहेको तिंदुको रुखमा उस्तै झ्याउँकिरीको स्वर एकनाशले उर्लिरहेको सुनिन्थ्यो । त्यो पनि एक नभएर अनेक झ्याउँकिरीहरूको सामूहिक गायनजस्तो । एकातिर दिनभरको यात्रा र थकान अर्काेतिर नजिकै रहेका वृक्षहरूमा समूह बनाएर साङ्गीतिक उत्सव मनाइरहेका झ्याउँकिरीका झन्झनाहटले निद खलबल्याइदिए । मध्यरातमा कतिवेला निद्रादेवीले अँगालो मारिन् पत्तो भएन । निद आउने वेलासम्म प्रेमिकाको अभावले तीव्र स्वरमा सामूहिक आलाप अलापिरहेका थिए ।

हल्लाहरू पन्साएर निदाउनु पनि गजबकै सक्षमता रहेछ । जो कोहीसँग त्यसको सक्षमता हुँदैन पनि । यस्तो लाग्छ, दुर्बाेध्य भाषामा चराहरू, किराहरू, नदीहरू र वायुहरूले फ्याँक्ने हल्ला पनि त एक किसिमको वैचारिक विमर्श न हो, जुन बुझ्नेहरूका लागि कथा र नबुझ्नेहरूका लागि व्यथा हुन सक्छ ।

हो, म हल्लाहरूको मध्यमै निदाएको थिएँ र ब्युझँदा पनि कानमा त्यही कल्लोल कोलाहलको भ्रम बाँकी रहेछ । लाग्छ, हामीले अन्तस्करणबाट आत्मसात गरेका विषय र प्रसङ्गहरूको झङ्कार निकै लामो समय स्थिर रहन सक्छ । जस्तो ः अहिले भइरहेको छ ।

समाजमा नारीहरूको अस्मितामा धावा बोलिएको वर्तमान परिप्रेक्ष र जनसाङ्खिक आँकडामा छोरीहरूको सङ्ख्या ताजुबलाग्दो किसिमले घटेजस्तै झ्याउँकिरीको बथानमा पनि किरीहरूको जनसाङ्खियक आँकडा बिलाउँदै गएछ कि ?

प्रेमिकाको खोजीमा ती झ्याउँकिरीहरू आफ्नो टाउको नफुटेसम्म गीत गाइरहन्छन् । पखेटा फटफटाएर सङ्गीत बजाइरहन्छन् । कस्तो पर्खाइ ? कस्तो धैर्यता ?

त्यसवेलासम्म ऊ बोलाइरहन्छ, आफ्नी प्रेमिकालाई जतिवेलासम्म ऊ आउँदिन वा ऊ कराउँदा कराउँदै टाउको फुटेर मरोस् ।
मैले टाढाबाट सुनिरहेको भाकामा केही फाँकी गुन्जिरहन्छ :
कि त आइदेऊ बसिदेऊ काखमा
कि पिलाइदेऊ मेटासिड मुखमा।

मान्छेले सायद ती झ्याउँकिरीहरूबाटै सिकेका हुन् कि सम्बन्धहरूमा उत्सर्ग गर्न ।

हो मर्दाेरहेछ झ्याउँकिरी पनि आवाज उराल्दा उराल्दै ।

सेताम्मे फुलेको पैँयुको बोटमा अघिसम्म उर्लिरहेको झ्याउँकिरीको कल्लोल कोलाहल बिस्तारै शान्त हुँदै रह्यो । बिस्तारै बिलाउँदै गयो । लाग्यो, उसले तिर्खाएको रहर मेटायो होला । उसको वियोगको आँसु बग्न छोड्यो होला । हेर्ने उत्कण्ठा जाग्यो । उत्सुकतावश नजिकै रहेको सेताम्मे फुलेको पैँयुका झ्याङमा मधुरो टर्चलाइट बोकेर गएँ ।

देखेँ एउटा झ्याउँकिरी फूलमा टाँसिएको छ । निष्प्राण छ तर उसको टाउको प्याट्ट फुटेर प्राण पखेरु निख्रिएको छ । झ्याउँकिरीको प्रेमोत्सर्ग हो वा सहादत ? थाहा भएन तर केही शब्दाश्रु कोर्न मन लाग्यो । मन नमिठो र गह्रुगो किन भैरहेछ, थाहा भएन तर नमेटिने प्यासले सकिने तिनको साङ्गीतिक जीवनप्रति अग्लो सहानुभूति पलाइरह्यो, पलाइरह्यो ।

अक्षर आवास धादिङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवीनबन्धु पहाडी
डा. नवीनबन्धु पहाडी
लेखकबाट थप