शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

दक्षिण अफ्रिकाका निक पोथास नेपाली क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक

बिहीबार, १५ जेठ २०८२, १० : २७
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । नेपाल क्रिकेट संघले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ ।

यसअघि ५१ वर्षीय निक पोथासले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजको राष्ट्रिय टोलीको प्रशिक्षक टिममा रहेर पनि महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । 

निक पोथासको सहकार्यमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि क्यानले लिएको छ । 

नेपाली टोलीले आगामी जुनमा स्कटल्यान्डमा लिग–२ को आफ्नो आगामी शृंखला खेल्दैछ । निक दक्षिण अफ्रिकी क्रिकेट टोलीका पूर्वखेलाडी पनि हुन् । उनले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । 

स्कटल्यान्डमा हुने शृंखलामा नेपाल र आयोजक राष्ट्रका अतिरिक्त नेदरल्यान्ड्सको पनि सहभागिता रहने छ । नेपाली टोलीले आफ्नो पहिलो खेल जुन २ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जुन ४ तारिखमा नेदरल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेल जुन ८ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ । नेपालले चौथो खेल जुन १० तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । 

लिग–२ शृंखला सकिएपछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि खेल्नेछ । लिग–२ को प्रत्येक शृंखला सकिएपछि सहभागी टोलीले टी–२० शृंखला खेल्ने परम्परा छ ।

जारी लिग–२ प्रतियोगितामा हालसम्म नेपाली टोलीको प्रदर्शन निराशाजनक देखिएको छ । नेपाली टोली १२ खेलबाट ६ अंक बटुल्दै तालिकाको अन्तिम अर्थात, आठौँ स्थानमा आसिन छ ।

लिग–२ तालिकामा २० खेलबाट २८ अंक बटुलेको अमेरिका पहिलो स्थानमा छ । २० खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक जोडेको छ ।

१६ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड चौथो, २० खेलबाट २० अंक जोडेको क्यानडा पाँचौँ, २० खेलबाट १४ अंक जोडेको नामिबिया छैटौँ, १६ खेलबाट ६ अंक हात पारेको यूएई सातौँ स्थानमा छन् । 

सहभागी टोलीहरुका लागि लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ । 

लिग–२ प्रतियोगिताको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोली एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप