शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

इजरायली आक्रमणबाट गाजामा ४४ जनाको मृत्यु

बिहीबार, १५ जेठ २०८२, २१ : ३३
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • इजरायली आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
  • गाजामा मानवीय सहायता फिर्ता आउन थालेको छ, तर भोकमरीको चपेटामा परेका मानिसहरूको संख्या बढ्दो छ र अवस्था भयावह छ।
  • अमेरिकी सहायता केन्द्र नजिकै इजरायली सेनाको गोली लाग्दा २ जनाको मृत्यु र कैयौँ घाइते भए ।

गाजा सिटी ।  इजरायली आक्रमणमा परी गाजा पट्टीमा बिहीबार कम्तीमा ४४ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता फिर्ता आउन थालेको छ तर १८ महिनाको विनाशकारी युद्धपछि मानवीय स्थिति अझै भयावह छ। खाद्य सुरक्षा विज्ञहरुका अनुसार हरेक पाँच जनामध्ये एक जना भोकमरीको चपेटामा परेका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि इजरायली सेनाले पनि हमासको विनाशका लागि नयाँ प्रयास गरेको भन्दै उक्त क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ ।

गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भने, ‘इजरायली आक्रमणमा ४४ जनाको मृत्यु भएको छ, जसमा २३ जना अल–बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएका छन् ।’

‘दक्षिणी गाजा पट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्र नजिकै आज बिहान इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्,’ उनले भने । 

अमेरिका समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित यो केन्द्र हमासको हातबाट आपूर्तिलाई टाढा राख्नको लागि सहायता वितरणको लागि नयाँ प्रणालीको एक हिस्सा हो । संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घबाट यसको आलोचना भएको छ।
 
‘हामीमाथि जे भइरहेको छ, त्यो अपमानजनक छ। भीडले हामीलाई अपमानित गरिरहेको छ,’ बिहीबार जीएचएफ केन्द्रको भ्रमण गरेकी गाजाकी स्थानीय सोभी अरिफले भने । ‘आफ्ना बच्चाहरूलाई खुवाउनको लागि एक बोरा मैदा प्राप्त गर्न हामी त्यहाँ जान्छौँ र हाम्रो जीवनलाई जोखिममा पार्छौँ ।’

इजरायली सेनाले अल–बुरेज र सहायता केन्द्र नजिकै भएको मृत्युको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले भनेको छ, ‘बुधबार गाजा पट्टीमा दर्जनौँ आतङ्कवादी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।’

युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग बिहीबार भएको टेलिफोन वार्तामा जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलको ‘व्यवस्थित भोकमरी रणनीतिले सबै नैतिक र कानुनी सीमा नाघेको’ बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप