हमासद्वारा अमेरिकाको युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव अस्वीकार
सारांश
- हमासका एक वरिष्ठ अधिकारीले गाजामा युद्धविराम र बन्धक मुक्तिको अमेरिकी प्रस्ताव अस्वीकार गर्ने बताए।
- प्रस्तावमा ६० दिनको युद्धविराम र प्यालेस्टिनी कैदीहरूको रिहाइको साटोमा जीवित बन्धक र शव फिर्ताको योजना थियो।
- इजरायलले अमेरिकी योजना स्वीकृत गरेको जनाएको छ, तर हमासले युद्ध अन्त्यलगायतका मुख्य माग पूरा नभएको जनाएको छ।
गाजा । एक वरिष्ठ हमास अधिकारीले प्यालेस्टिनी सशस्त्र समूहले गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अमेरिकाको नयाँ प्रस्ताव अस्वीकार गर्ने बताएका छन् ।
ह्वाइट हाउसले बिहीबार इजरायलले अमेरिकी दूत स्टिभ विटकोफको योजनामा ‘स्वीकृति’ दिएको र अहिले हमासको औपचारिक प्रतिक्रिया कुरिरहेको जनाएको थियो । इजरायली सञ्चारमाध्यमहरूले इजरायली अधिकारीहरूको हवाला दिँदै जनाए अनुसार उक्त योजनाले दुई चरणमा १० जना जीवित बन्धक र १८ जना मृत बन्धकका शव फिर्ता गराउनेछ । यसको सट्टामा ६० दिनको युद्धविराम र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइ गरिनेछ।
तर हमास अधिकारीले उक्त प्रस्तावले युद्धको अन्त्य लगायतका मुख्य मागहरू पूरा नगरेको बताउँदै आफूहरूले उचित समयमा औपचारिक प्रतिक्रिया दिने बताए। इजरायली सरकारले यस विषयमा कुनै टिप्पणी गरेको छैन, तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार बन्धक परिवारहरूलाई अमेरिकी योजना स्वीकृत गरेको बताएका थिए।
गत मार्च १८ मा अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा भएको दुई महिनाको युद्धविराम विफल भएपछि इजरायलले गाजामा पूर्ण नाकाबन्दी लगाएर पुनः हमासमाथि सैनिक कारबाही सुरु गरेको थियो। अझै पनि हमासले नियन्त्रणमा राखेका ५८ जना बन्धकमध्ये कम्तीमा २० जना जीवित रहेको विश्वास इजरायलको छ ।
गाजामा पछिल्ला १० हप्तामा करिब ४ हजार मानिसको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार इजरायली स्थल कारबाही र खाली गराउने आदेशका कारण थप ६ लाख मानिस पुनः विस्थापित भएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण