सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

पहिलो दिन दान दिएर केही मान्छे ल्याइए, दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए : प्रधानमन्त्री

शनिबार, १७ जेठ २०८२, १८ : २४
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए, स्वास्थ्यकर्मी महासंघको कार्यक्रममा सम्बोधन गर्दै।
  • उनले राजतन्त्र पक्षधरको विरोध र गतिविधिप्रति टिप्पणी गर्दै देशलाई सुशासन र विकासको बाटोमा लैजानुपर्ने बताए।
  • ओलीले दरबार हत्याकाण्डपछिको नक्कली राजतन्त्र र त्यसले निम्त्याएको अवस्थाबारे चर्चा गर्दै प्रतिगमन अब सम्भव नभएको बताए।

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन् ।

‘निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघ–संगठन खुल्ने स्थिति थिएनन् । अहिले तपाईँहरू पेसागत र व्यावसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, “यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरूले विरोध प्रदर्शन गरे । उनीहरूलाई जनमत सङ्ग्रह भएको लाग्यो रे । तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए । दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए । मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा...गरेर डर लागेन ? भनेर खेलेको याद आयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ । अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्न सक्छ, होस् गर ।’

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाई सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।

“दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन् निरङ्कुशता लाद्यो । जनताको अधिकार खोज्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैतृक सम्पत्ति थुपार्‍यो । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो,” प्रधानमन्त्री ओलीको भनाइ थियो, “यस्ताहरूले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदै छ । यस्ता कुराहरूसँग हामी सचेत हुनुपर्छ । यो जनताको सामाजिक उत्तरदायित्व हो । आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ । प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्छौँ तर प्रतिगमन अब सम्भव छैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप