मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

गाजामा भोकले बेहाल भएकाहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरे

आइतबार, १८ जेठ २०८२, १० : ५९
आइतबार, १८ जेठ २०८२

गाजापट्टी । गाजाका मानिसहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरेको र खाना चोरेर लगेको विश्व खाद्य कार्यक्रमले बताएको छ । शुक्रबार राति र शनिबार बिहान गाजामा पीठोले भरिएको ७७ ट्रक पठाएको मानवीय सहायता संगठन (डब्ल्यूएफपी)ले बताएको थियो । सबै ट्रकहरू बाटोमा रोकिएको र धेरैजसो खानेकुरा लगिएको मानवीय सहायता संगठन (डब्ल्यूएफपी)ले भनेको छ । 

ट्रकहरू गोदामसम्म पुग्छन् कि पुग्दैनन् भन्नेमा आफूहरूलाई पहिला देखि नै शङ्का भएकोले बाटोमा भीड भयो भने मानिसहरूलाई खानेकुरा लैजान दिइने निर्णय पहिला नै गरिएको एफपीए प्रवक्ता अबीर एतेफाले बीबीसीलाई बताइन् ।

इजरायलले गाजामा ११ हप्ताको लागि नाकाबन्दी लगाएको थियो । यसलाई मे १९ मा हटाइएको थियो । नाकाबन्दी हटेपनि अहिलेसम्म आइपुगेको सहायताले मानिसहरूको १० प्रतिशत आवश्यकता मात्रै समेट्ने संयुक्त राष्ट्र संघले बताएको छ । 

शनिबार खाना आउँदैछ भन्ने सुनेपछि मानिसहरू बाटोमै भीड गरेर बसेका थिए । भोकका कारण मानिसहरू निकै हताश बनेको अनि ट्रक खाद्य वितरण केन्द्रसम्म पुग्ने समय पनि पर्खन नसकेको एतेफाले भनिन् ।

खानेकुरा लैजान डब्ल्यूएफपीले नागरिकहरू नजिक भएको अनि लुटेरा गिरोहहरूको खतरा कम भएको सडक रोजेका थिए । लगभग ८० दिनको पूर्ण नाकाबन्दी पछि गाजामा भोकमरी चरम अवस्थामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप