बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परम्परागत सीपमा आधारित युवा सञ्जालमा नयाँ समिति चयन

आइतबार, १८ जेठ २०८२, १६ : ३९
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद अन्तर्गतको ‘परम्परागत सीपमा आधारित युवा सञ्जाल’ को अध्यक्षमा राज कार्की सर्वसम्मत चयन भएका छन् । अबको दुई वर्ष कार्कीको कार्यकाल रहनेछ ।

शुक्रबार सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा आयोजित एक कार्यक्रममा युवा सञ्जालको नयाँ कार्यसमिति छनोट भएको हो ।

नयाँ कार्य समितिमाअध्यक्ष कार्की, उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा मल्ल, सचिवमा अनिल नेपाली, सहसचिवमा उमा मिश्र, कोषाध्यक्षमा अमित कुमार दास, सह कोषाध्यक्षमा विक्रम लकान्द्री सहित १६ जना सदस्यमा छनोट भएका छन् । सदस्यहरूमा लक्ष्मी खड्का, विवेचना अधिकारी, शर्मिला चक्रधर, ज्ञानी लाखे, विप्लव खतिवडा, प्रेम कार्की, देउरूपा थापा, पार्वती जोशी र पार्वति भट्टराई छनोट भएका छन् । 

युवा सञ्जालमा छनोट हुने सबैलाई शुभकामना दिदै राष्ट्रिय युवा परिषदमा उपाध्यक्ष सुरेन्द्र बस्नेतले सीपमा आधारित व्यवसायमा संलग्न सबैलाई एकजुट भएर आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न प्रेरित गरे । देशभरिका युवालाई उद्धमशीलतामा लाग्दै समृद्धि र देश विकासमा लाग्न आव्हान गरे ।

नव निर्वाचित अध्यक्ष कार्कीले परम्परागत व्यवसायलाई आधुनिकरण गर्दै सरकारसँग पहुँच पुर्‍याएको र सहकार्यप्रति आभार व्यक्त गर्दै युवा परिषदका उपाध्यक्ष बस्नेतलाई आभार व्यक्त गरे । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडि बढाइरहेका छन् । उनले विगत सात वर्षदेखि सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नवीनतम सोच बोकेको ब्रान्ड हो ।

कार्की टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र नभई उद्यमशीलताको एक स्कुलका रुपमा स्थापित गर्न खोजिरहेका छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई अगाडि सारेको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम, शाखा अधिकृत रमेश कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप