अपडेट
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम राख्ने माओवादी निर्णय
सोमबार, १९ जेठ २०८२, १६ : २१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।
सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए ।
‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको छ’, सापकोटाले भने ।
त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ ।
दलको बैठकमा पार्टीभित्रका विज्ञहरू मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायतसँग बजेटबारे सांसदहरूले अन्तरक्रिया गरेका थिए ।