६ घर दलित परिवारको बाटो बन्द हुने गरी मन्दिरमा पर्खाल

समाचार सारांश
- सिराहाको विष्णुपुरमा दुर्गा मन्दिरको पर्खाल निर्माणले दलित बस्तीको बाटो बन्द भएको छ।
- स्थानीय बासिन्दाका अनुसार, पर्खाल निर्माणले ६ घरपरिवारको बाटो बन्द भएको छ, जसले गर्दा उनीहरूले एम्बुलेन्स र शव लैजान समेत समस्या हुने बताएका छन्।
- स्थानीय वडाध्यक्षले भने मन्दिरको जग्गा नाप नक्सा गरी बाटो बनाउने दाबी गरे पनि, जग्गाको स्वामित्वको विवाद अझै समाधान हुन सकेको छैन।
सिराहा । सिराहाको विष्णुपुर गाउँपालिका ४ थलहा कटाहास्थित दुर्गा मन्दिरको पर्खाल निर्माणका कारण यहाँ रहेको दलित बस्तीको बाटो बन्द हुने भएको छ । मन्दिर घेर्ने क्रममा लगाएको पर्खालले पश्चिम तर्फ रहेको १० घर महरा घरपरिवार मध्ये ६ परिवारको बाटो नै बन्द भएको हो।
मधेस प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय लहानबाट ५० लाख ६० हजार ४ सय ५५ रुपैयाँ निकास भएपछि दुर्गा मन्दिरको पर्खाल निर्माण जारी छ।
पर्खाल निर्माणका कारण स्थानीय सञ्जय महरा, रामशंकर महरा, शिवर महरा, जयनन्द महरा, शिवु महरा र बुधराम महराको घरबाट मूल सडकसम्म पुग्ने बाटो बन्द भएको छ । उनीहरूको घर अगाडि मन्दिरतर्फबाट ६ फिट बाटो छाडेर पर्खाल निर्माण गरेपछि गाउँको मुख्य सडकमा निस्किने बाटो ब्लक भएको हो ।
सँगै सँगै दलित बस्तीसँगै जोडिएको विघौंको पोखरी विवाद वर्षौँ देखि समाधान हुन सकेको छैन। तर, हेपाहा प्रवृत्तिका कारण दलित बस्ती नै ब्लक हुने गरी पर्खाल निर्माण गरेको स्थानीय राम एकवाल महराले दुखेसो गरे। उनले भने, ‘आज पनि यहाँ धेरै मानिसले राज्यको सम्पत्तिमा मोज गरिरहेको छ। तर, हामी दलित गरिबले प्रयोग गरेको सानो टुक्रा जमिनमा पनि यहाँका ‘पञ्च’ भन्नेहरूको गिदे नजर छ। हामी दलितहरू हेपाहा प्रवृद्विकाे सिकार भएका छौँ।’
दुर्गा मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र रामएकवाल महराको घर छ । उनीहरूको घर अगाडि बाटो भने छुट्टाइएको छैन । राम एकवाल महराले आफ्नो घर अगाडि रहेको मन्दिरसम्म आफ्नो निजी जग्गा रहेको दाबी गरे । ‘मन्दिरसम्म हाम्रो जग्गा छ । ६ घरलाई बाटो नै ब्लक गरी पर्खाल निर्माण गर्न लागिएको छ,’ उनले गुनासो गरे ।
उनीहरुले सारो गाह्रो परेको बेला एम्बुलेन्स छिराउने र मर्दा लास निकाल्ने बाटोसमेत नछोडेर पर्खाल निर्माण गरिएको गुनासो गरे । उनीहरुले भने, ‘हामीले जति नै हारगुहार गरे पनि जनप्रतिनिधि र स्थानीयले भद्र भलादमी भन्नेहरूले जग्गा छाडेनन्। हामी दलित, गरिब भएकाले नै हाम्रो बाटो बन्द गरिएको हो।’
स्थानीय कविता महराले आफूहरूलाई कुनै सूचना नै नगरी एक्कासि डोजर सहित आएका उनीहरुले खाल्डो खन्न थालेको बताइन् । ‘हामीले रोक्ने लाख प्रयास गर्दा पनि महिला प्रहरी ल्याएर हामीलाई छेके । बलजस्ती उनीहरुले खाल्डो खनेर पर्खाल लगाए; कविताले भनिन्, ‘मर्दा पर्दा सजिलो तरिकाले लास निकाल्ने सम्मको बाटो दिनोस भनेर हामीले लाख बिन्ती गर्यौँ, कसैले सुनेनन्।’
पूर्व गाविस अध्यक्षसमेत रहेका स्थानीय ७० वर्षीय भोगेन्द्र साहले समाजमै छलफल गरी उनीहरूका लागि बाटो छाडेर पर्खाल निर्माण गरिएको जिकिर गरे। उनले दलितहरूले जथाभाबी फोहोर गरेकोले मन्दिर संरक्षणको लागि पर्खाल लागेको बताए।
वडाध्यक्ष रामबाबु यादवले मन्दिरको जग्गा नाप नक्सा गरी १२ फिटको बाटो बन्ने गरी मन्दिरको तर्फबाट ६ फिट जग्गा छाडेर पर्खाल निर्माण गरिएको दाबी गरे । तर मन्दिरको उत्तर पश्चिम छेउको बाटोमा केही समस्या रहेको उनले स्वीकार गरे । उनले अलमलिँदै भने, ‘त्यहाँ गाउँ ब्लकको जग्गा रहेको र ७ मिटर जमिन मन्दिरको छुटेको भन्ने मैले नापी कार्यालयबाट भर्खरै सूचना पाएको छु। त्यस्तो समस्या रहेछ भने हामी तत्काल बसेर समस्या समाधान गर्छौँ।’
गाउँ ब्लकको जग्गा जसले भोग चलन गर्दै आएको छ उसैको हुने अवस्था मधेसमा छ । यसअनुसार पनि गाउँ ब्लकको जग्गा स्वामित्वको विवादले ६ घरपरिवार चमार समुदायको बाटो जुनसुकै बेला बन्द हुने देखिन्छ।
ज्याला–मजदुरी गरी जीविकोपार्जन गरिरहेका उनीहरू मन्दिरको पश्चिमतर्फ ३ कठ्ठा नम्बरी जग्गामा पुर्खौँ देखि बस्दै आएका छन्। खुला जग्गामा उठबस गर्ने गरेका थिए ।
मन्दिरको परिसरको दक्षिण पूर्व कुनामा वडा नम्बर ४ को कार्यालय छ। त्यसको दक्षिण सार्वजनिक पोखरी र पश्चिम दक्षिणपट्टी सामुदायिक विद्यालय छ। यो सबै जमिनको सरकारी रहेको भनीएपनि कुन प्रकृतिको जमिन हो भन्ने कुरा वडा अध्यक्ष यादवले समेत खुलाउन सकेनन्।
दुर्गा मन्दिरको कम्पाउन्ड वाल तथा गेट निर्माणकार्य वीरेन्द्र यादव अध्यक्ष रहेको उपभोक्ता समितिबाट भइरहेको छ।