शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

सुदूरपश्चिम : सोडारीविरुद्ध मुद्दा चलेसँगै को बन्छ एकीकृत समाजवादी संसदीय दलको नेता ?

मङ्गलबार, २० जेठ २०८२, १९ : ३२
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको पद निलम्बन भएको छ।
  • अख्तियारले सोडारीविरुद्ध १ करोड ८ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति गैरकानुनी रूपमा कमाएको आरोप लगाएको छ।
  • सोडारीको निलम्बनपछि नेकपा (एकीकृत समाजवादी) ले नयाँ दल नेता चयन गर्नुपर्ने भएको छ, उपनेता प्रकाश रावल नेता बन्ने सम्भावना छ।

काठमाडौं । पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी­) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको पद निलम्बन भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि उक्त मुद्दाको किनारा नलाग्दासम्म पद निलम्बन हुने व्यवस्था छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा माग दाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारको आरोपमा सोडारीले गैरकानुनी रूपमा सम्पत्ति थुपारेको उल्लेख छ ।

सोडारीको सांसद पद निलम्बन भएसँगै सो पार्टीले दलको नयाँ नेता चयन गर्नुपर्ने भएको छ । उपनेता प्रकाश रावलले बुधबार बैठक बोलाएर दलको नयाँ नेता चयन गर्ने तयारी भइरहेको बताए ।

‘छलफल हुँदैछ । भोलि दलको बैठक बस्छ र नयाँ नेता चयन हुन्छ’, रावलले रातोपाटीसँग भने, ‘दलको नेताका लागि कुनै विवाद छैन । सहमतिमै चयन गरिन्छ ।’

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका चार सांसदमध्ये सोडारी निलम्बनमा परेपछि तत्काललाई तीन जना मात्र कायम हुने भएका छन् ।

हाल उपनेताको भूमिकामा रहेका रावल नै दलको नेता बन्ने सम्भावना बढी रहेको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ । त्यसबाहेक सांसदद्वय नरेशकुमार शाही र माया पन्तले पनि दलको नेता बन्ने चाहाना राखेको बुझिएको छ । यद्यपि पार्टीका शीर्ष नेताहरूले रावल वा शाहीमध्ये कसलाई भन्छन् उही दलको नेता बन्ने सम्भावना रहेको चर्चा एकीकृत समाजवादीभित्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप