बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

टाउको दुखेका बिरामीलाई आइरन चक्की दिइएपछि...

मङ्गलबार, २० जेठ २०८२, १५ : ०३
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • कालिकोटको खाँडाचक्र नगरपालिका-३ मा रहेको स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन्। बिरामीलाई आइरन चक्की दिएको आरोप छ।
  • स्थानीयका अनुसार स्वास्थ्य केन्द्रमा कर्मचारीको लापरबाही भएको छ। दुई हप्तादेखि कर्मचारी नभएको र नि:शुल्क औषधि नपाएको गुनासो छ।
  • स्थानीयले कर्मचारीलाई कारबाहीको माग गरेका छन्। खोकी र टाउको दुखेका बिरामीलाई आइरन चक्की वितरण गरिएको बताइएको छ।

कालिकोट । टाउको दुखेको बिरामीलाई आइरन चक्की दिइएको भन्दै कालिकोटको खाँडाचक्र नगरपालिका-३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीयले स्वास्थ्य केन्द्रको गम्भीर लापरबाही रहेको बताएका छन् । उक्त स्वास्थ्य केन्द्रमा करिब दुई हप्तादेखि कर्मचारी नरहेको स्थानीयको भनाइ छ ।

‘गाउँका स्वास्थ्य केन्द्रमा नागरिकमाथि यस्तो खेलबाड हुनु निकै लापरबाही हो, पावर र पहुँच देखाउँदै वडाका बिरामी नागरिकलाई थर्काउने, धम्काउने जस्ता कर्मचारीबाट भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय समयमा नआउने, सरकारले नि:शुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध हुँदैन ।’

साथै बिरामी नागरिकलाई दुख दिनु राम्रो विषय नभएको र खोकी लागेको, टाउको दुखेको बिरामीलाई औषधी लिन जाँदा आइरन चक्की वितरण गरिएको स्थानीय खगेन्द्र पाण्डेले बताए ।

उक्त आइरन चक्की स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीले वितरण गरेको उनको भनाइ छ । स्थानीयहरूले स्वास्थ्य केन्द्रका कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?