शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

उत्तर कोरियासँग सम्बन्ध सुधार्न चाहन्छन् नयाँ दक्षिण कोरियाली राष्ट्रपति

बुधबार, २१ जेठ २०८२, ११ : ४८
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • दक्षिण कोरियामा आम चुनावमा डेमोक्रेटिक पार्टीका नेता ली जे म्युङले जित हासिल गरे, जसले उनलाई नयाँ राष्ट्रपति बनायो।
  • ली जे म्युङले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
  • पूर्व राष्ट्रपति युन सुक योलले मार्शल ल लगाएपछिको संकट अन्त्य गर्दै ली जे म्युङको विजय भयो, जसले देशको अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता जनाए।

सोल । दक्षिण कोरियामा आम चुनावको नतिजापछि डेमोक्रेटिक पार्टीका नेता ली जे म्युङले जित हासिल गरेका छन् । यससँगै ली जे म्युङ दक्षिण कोरियाको नयाँ राष्ट्रपति बनेका छन् । ९० प्रतिशत मत गणनामा ली जे म्युङले ४८ प्रतिशत मत प्राप्त गरेका थिए । 

चुनाव जितपछिको आफ्नो पहिलो भाषणमा ली जे म्युङले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्ने बताएका छन् । राष्ट्रपतिको रूपमा आफ्नो पहिलो भाषणमा ली जे म्युङले उत्तर कोरियाको बारेमा यही भनेका थिए ।

कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न आफ्नो सरकारले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्ने ली जे म्युङले बताएका थिए । उत्तर कोरियाबाट उत्तेजना जारी रह्यो भने अमेरिकासँगै मिलेर आफूले उत्तर कोरियाको आक्रमणको उचित जवाफ दिने उनले बताए । उनको सरकारले जापान र अमेरिकासँगको सम्बन्धलाई अझ बलियो बनाउने पनि म्युङले भने ।

पूर्व रूढिवादी राष्ट्रपति युन सुक योलले अचानक देशमा मार्शल ल लगाउने आदेश दिएपछि देश संवैधानिक सङ्कटमा फसेपछि दक्षिण कोरियामा आम चुनाव भएको थियो । ली जे म्युङको विजयसँगै उक्त संकट अन्त्य भएको छ । ६० वर्षीय ली चुनाव अघि नै विजयको दावेदार थिए । विभिन्न सर्वेक्षणहरूमा, लीलाई राष्ट्रपति पदको लागि सबैभन्दा लोकप्रिय उम्मेदवारको रूपमा देखाइएको थियो । गत वर्ष डिसेम्बरमा पूर्व राष्ट्रपति युनले देशमा मार्शल ल लगाएपछि सोको विरोध गर्नेमा ली जे म्युङ सबैभन्दा महत्त्वपूर्ण व्यक्ति थिए । 

ली तेस्रो पटक राष्ट्रपति पदको दौडमा थिए । सन् २०२२ को सुरुमा उनी राष्ट्रपति पदका उम्मेदवार पनि थिए । तर प्रतिस्पर्धामा युनसँग चुनाव हारे । ली दक्षिण कोरियाको सबैभन्दा बढी जनसंख्या भएको प्रान्त ग्योन्गीका गभर्नर भइसकेका छन् । उनी सेओङनाम शहरका पूर्व मेयर पनि हुन् । आफूले देशको अर्थतन्त्र सुधार गर्ने लिले भनेका छन् । ली आफ्नो ज्वलन्त भाषणका लागि परिचित छन् । 

उनी एक खतरनाक सार्वजनिक नेता भएको र जसले राजनीतिक लाभको लागि देशलाई पनि विभाजन गर्न सक्ने उनका आलोचकहरू भन्छन् । ली विरुद्ध पाँच आपराधिक मुद्दामा मुद्दा चलिरहेको छ । दक्षिण कोरियामा राष्ट्रपतिलाई आपराधिक कारबाहीबाट उन्मुक्ति छ । ली राष्ट्रपति निर्वाचित भएपछि दक्षिण कोरियाली कानून अनुसार यी मुद्दाहरू स्वतः बन्द हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप