शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

विपक्षीलाई सत्तापक्षकाे जवाफ : गृहमन्त्रीकाे राजीनामा र छानबिन आयोग असम्भव !

बुधबार, २१ जेठ २०८२, १६ : ४५
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठनको मागमा सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न सकेन।
  • विपक्षीको अवरोधका कारण संसद बैठक दुई दिन स्थगित भयो, जसले बजेटमाथिको छलफल प्रभावित पारेको छ।
  • सत्तापक्षले विपक्षीको मागलाई अपरिपक्व र संसदलाई बन्धक बनाएको आरोप लगाएको छ, भने गृहमन्त्रीले संसदमा जवाफ दिने बताएका छन्।

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नगरे पनि छानबिन आयोग गठन गर्नुपर्ने विपक्षीको मागलाई सत्तापक्षले कुनै हालतमा स्विकार्न नसकिने जनाएको छ । 

साथै अपरिपक्व माग अघि सारेर विपक्षीले संसद्लाई बन्धक बनाउन नहुने सत्तापक्षको भनाइ छ । विपक्षीले भने आफ्ना माग पुरा नभएसम्म सदनको नियमित काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिँदै आएका छन् । 

सोही चेतावनीका कारण मङ्गलबार र बुधबार दुवै दिनका बैठक सुचना टाँस गरेर स्थगित भएका छन् । बैठक स्थगित भएपछि बजेटमाथिको छलफल प्रभावित भएको छ । 

सहमति जुटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग बुधबार गरेको छलफलमा समेत दुवै पक्षले आआफ्ना अडान छाड्न मानेनन् । जसले गर्दा भिजिट भिसा प्रकरण थप पेचिलो बनेको छ भने प्रतिनिधि सभा बन्धक जस्तै बन्न पुगेको छ । 

सत्ता र विपक्षी दुवैले अडान नछाडेपछि बुधबार १ बजेका लागि तय भएको बैठक सवा ३ बजेलाई सारिएको थियो । सारिएको समयमा समेत बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्ने गरी स्थगित गरिएको छ । 

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा विपक्षीले उठाएका मागको जवाफ गृहमन्त्री रमेश लेखकले संसदबाटै दिने भने पनि विपक्षीले त्यो अवसर नै नदिएको बताए ।

प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीले राजीनामा नगर्ने र उच्चस्तरीय छानबिन आयोग पनि नबन्ने प्रस्ट पारे । ‘गृहमन्त्रीले सांसदबाट जवाफ दिन्छु भनेर पटक पटक भनिराख्नुभएको छ । त्यो अवसर विपक्षीले दिइरहेको छैन, पहिले उहाँको कुरा सुन्नुपर्छ’, बर्तौलाले भने, ‘गृहमन्त्रीको राजीनामा पनि हुने कुरा छैन । उहाँहरूले भनेजस्तो कुनै समिति पनि बन्दैन ।’

सत्तापक्षले विपक्षीले अपरिपक्व तरिकाले माग राखेको र विषय उठाएको पनि बताएको छ । ‘उहाँहरूले अपरिपक्व तरिकाले माग राख्नुभयो । विषय उठाउनु भएको यो विषयलाई पुनर्विचार गर्नुपर्छ, पछि हट्नुपर्छ र संसद्को गतिरोध खुलाउने कुरामा भूमिका खेल्नुपर्छ यो कुरा प्रस्ट छ’, बर्तौलाको भनाइ छ । 

गृहमन्त्रीले संसद्मा बोलेपछि धेरै कुरा प्रस्ट हुने सत्तापक्षको भनाइ छ । भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको अवस्थामा फेरि अर्को आयोग जरुरी नभएको सत्तापक्षको जिकिर छ । 

‘प्रतिपक्ष रचनात्मक हुन सकेन, सिर्जनात्मक हुन सकेन । उहाँहरूको निगाहाबाट हाउस चल्ने ? विपक्षीले संसद्लाई बन्धक बनाइरहेको छ’, प्रमुख सचेतक बर्तौलाले भने, ‘ यो परिस्थिति अन्त्य गर्नुपर्छ । फेरि पनि हामी भन्छौ–उहाँहरूले समय माग्नुभएको छ । आज हामीले सुचना टाँस गरेर नै स्थगित गर्‍यौ हामी सहयोगी भूमिकामा छौ ।’

सत्तारुढ अर्को दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि विपक्षीले गृहमन्त्रीलाई संसद्मै बोल्न नदिने गलत नजिर स्थापित गर्न खोजेको बताए । ‘गृहमन्त्रीले संसद्मा जवाफ दिन खोज्दा बोल्न दिनुपर्छ । बोल्नै नदिने हो भने गलत नजिर बस्छ हामी त्यसको पक्षमा छैनौ’, घिमिरेको भनाइ छ । 

प्रतिनिधि सभा बैठक प्रभावित बनेपछि बुधबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसद्को गतिरोध अन्त्यका लागि विपक्षी दलका केही नेता र सांसदहरूसँग छुट्टै संवाद गरेका छन् ।

नेता खड्काले संसद् भवन परिसरमै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा गृहमन्त्री रमेश लेखकसँग संवाद गरेका हुन् । श्रेष्ठ र लेखकसँगको संवादअघि खड्काले रास्वपाका सांसद मनिष झा र हरि ढकालसँग संवाद गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप