बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

बिहीबार, २२ जेठ २०८२, ०० : ३५
बिहीबार, २२ जेठ २०८२

सारांश

  • रामेछापमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा १४ अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ।
  • मन्थली नगरपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीले खादा, नगद र प्रशंसा पत्रसहित जोडीहरूलाई सम्मान गरे।
  • वक्ताहरूले जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बितिसक्दा पनि विभेद कायमै रहेको र कार्यान्वयनमा जोड दिए।

रामेछाप। अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई रामेछापमा सम्मान गरिएको छ । 

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०८२ को अवसर पारेर बुधबार यहाँ राष्ट्रिय दलित पत्रकार सङ्घले ती जोडीहरूलाई सम्मान गरेको हो । 

अन्तरजातीय विवाह गर्ने रामचन्द्र विक र प्रतिभा बोहोरा, पवन रसाइली र अनिता मगरलगायत जोडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा, नगद र प्रशंसा पत्रसहित सम्मान गरे।  

त्यस अवसरमा बोल्ने अधिकांश वक्ताहरूले सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको १८ वर्ष पूरा भइसके पनि समाजमा विभेद कायमै रहेको बताएका थिए ।  यसको कार्यान्वयन र व्यावहारिक पक्षका लागि सबैको सहयोग आवश्यक रहने पनि वक्ताहरूको भनाइ थियो । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापका अध्यक्ष नवराज विकले समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूतलाई निस्तेज गर्नका लागि अन्तरजातीय विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए। 

सम्मानितमध्ये अन्तरजातीय विवाह गर्ने रीता खड्काले पवित्र प्रेम र सम्बन्धका अगाडि सामाजिक बन्धन बाधक बन्न नहुने भन्दै आफूहरूले खुसीले नै त्यसलाई चुनौती दिएको बताए । उनले भने, “विवाह संस्कृति, परम्पराअनुसार नै गरेका हौँ, हामी खुसी नै छौँ ।”  

सम्मानित भएकी अनिता मगरले पनि परिवार र समाजका बन्धनबाट माथि उठेर विवाह गरेको तर माइती पक्षले अझै स्वीकार गर्न नसकेको भन्दै दुख व्यक्त गरिन् ।  “अन्तरजातीय विवाहले हामी त खुसी छौं तर मेरो माइतीसँगको सम्बन्ध भने टुट्यो । उहाँहरूले स्विकार्नु भएको छैन, यही कार्यक्रममार्फत मेरो माइतीको सम्बन्धलाई पनि सुमधुर बनाई दिन मेरो आग्रह छ”, उनले भनिन्। 

अन्तरजातीय विवाह गरेकी प्रतिभा बोहोराले भनिन्, “अन्तरजातीय विवाह गर्दैमा गल्ती गरेको सम्झनुहुन्न । समाजले नराम्रो भन्दैमा केही असर पर्दैन, सबैभन्दा ठुलो कुरा त आफूखुसी हुनुपर्छ । अरूको खुसीका लागि आफ्ना खुसीहरूलाई कति दिनसम्म दबाएर राख्ने !”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप