शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म

शुक्रबार, २३ जेठ २०८२, २३ : ५९
शुक्रबार, २३ जेठ २०८२

रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–

१. कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबी
एक पटक फेरि नेपाली कांग्रेसले मधेस प्रदेश सरकारका लागी दाबी गरेको छ । मधेस प्रदेशमा जाने कांग्रेसका हरेक शीर्ष नेताले सो सरकार आफ्नो पार्टीको नेतृत्वमा बन्ने दाबी गर्दै आएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मधेस प्रदेशको सरकार अब काँग्रेसले नेतृत्व गर्ने दाबी गरे । नेपाली कांग्रेसको मधेस प्रदेश कार्यालयमा पुगेका सभापति देउवाले पत्रकारसँग कुरा गर्दै भने, ‘अब कांग्रेसको नेतृत्वमा यहाँ (मधेस प्रदेश) को सरकार बन्ने निश्चित भएको छ ।’ आलोपालो सरकार सञ्चालनको सहमतिअनुसार अबको पालो कांग्रेसको रहेको र चाँडै नै त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

२. कोरोनाको जोखिम

भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष असर नेपालका सीमावर्ती क्षेत्रहरूमा देखिन थालेको छ ।

सुदूरपश्चिम प्रदेशको पश्चिम र दक्षिण सीमा भारतसँग जोडिएको छ । विशेषगरी कैलालीको त्रिनगर र कञ्चनपुर जिल्लाको गड्डाचौकी नाका हुँदै दैनिक सयौँ व्यक्ति नेपाल भित्रिरहेका छन् । त्यसैले पनि यहाँ सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै चासो बढेको छ ।

३. आरोप–प्रत्यारोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर गरेसँगै राजनीति तरङ्गित भएको छ । एमाले र एकीकृत समाजवादीका नेताबिच यो प्रकरणमा आरोप–प्रत्यारोप चलेको छ ।

४. प्रतिशोधको गन्ध: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर हुनुमा प्रधानमन्त्री केपी ओलीमा प्रतिशोधको गन्ध रहेको बताएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ ।’

५. भिजिट भिसा प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसाको नाममा सेटिङको विषयमा छानबिन गर्न सत्तापक्ष सकारात्मक देखिएको छ ।

शुक्रबार दिउँसो नयाँ वानेश्वरस्थित संसद् भवनमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर काकी र प्रमुख सचेतक श्यामकुमार घिमिरेबिचको छलफलमा कांग्रेस नेताहरू भिजिट भिसा प्रकरणमा छानबिन गर्न सकारात्मक सकारात्मक देखिएका हुन् ।

६. वाईसीएल

नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

७. प्रतिवेदन हस्तान्तरण

गण्डकी प्रदेश सरकार मातहत रहेका विभिन्न संरचनाको पुनरावलोकन गर्न गठित समितिले प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको छ । शुक्रबार समितिका संयोजक शरदचन्द्र पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई रिपोर्ट हस्तान्तरण गरेका हुन् । ३ सय २४ पृष्ठको प्रतिवेदनमा समितिले प्रदेशभित्र रहेका संरचनाको औचित्य र आवश्यकता गहिरो गरी केलाएको छ ।

८. मन्त्रालयमा हाजिर गर्छन् भट्टराई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै नियन्त्रणमा लियो ।

सो दिन अख्तियारले छापा मारेर भट्टराईसँग सम्बन्धित अफिसियल र व्यक्तिगत डिभाइस समेत नियन्त्रणमा लिएको थियो । सोही प्रकरणले गर्माएको राजनीति अझै सेलाएको छैन  ।

सोही घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेसहितका माग राख्दै प्रतिपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आएका छन् । प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामासहित संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गरिरहेका छन् ।

तर जसका कारण प्रतिनिधिसभा बन्धक बनिरहेको छ, उनै सहसचिव भट्टराई भने दैनिक गृह मन्त्रालय पुगेर हाजिर गर्दै फर्किँदै गरिरहेको पाइएको छ ।

९. अनेरास्ववियु

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वयिुको २४औँ राष्ट्रिय महाधिवेशन जेठ २५ देखि सुरु हुँदै छ । त्यसअघि संगठनका नेताहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर महाधिवेशनको  तयारीबारे आवश्यक ब्रिफिङ गरेका छन् ।

 १०. बीमाको सवाल

दश महिनाको अवधिमा झन्डै ८९ हजार पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख सरेन्डर गरिएको हो ।

११. बहुबिवाह

बहुविवाह गरेको आरोपमा पक्राउ परेका एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

१२. आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी

सामाजिक अभियन्ता युवराज पौडेल (सफल) ले शुक्रबार मोहम्मद अफताब आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा दुई छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन् । 
उनले शुक्रबार आलम सफाइ प्रकरणमा महान्यायाधिवक्ताको कार्यालयमा  भिडियो फुटेज र कल डिटेल्स झिकाई छानबिनका लागि माग गरेका छन् । 

त्यस्तै, पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छुट्टै निवेदन दिँदै पतञ्जली जग्गा अनियमितता प्रकरणको बारेमा समेत प्रश्न उठाएका छन्। उनले भारतका स्वामी रामदेव, स्वामी बालकृष्ण लगायतका पतञ्जली कम्पनीका मुख्य व्यक्तिहरूलाई किन आरोपित नबनाइएको भनेर जानकारी माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप