खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी

समाचार सारांश
- कृषि मन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन वैज्ञानिक विधिबाट भइरहेको बताए।
- मन्त्री अधिकारीले खाद्य स्वच्छता नीति कार्यान्वयन र मोबाइल ल्याब भ्यान परिचालनबारे जानकारी दिए।
- उनले खाद्य स्वच्छताको महत्त्व र बजारमा अखाद्य वस्तु बिक्री हुने समस्याबारे पनि चर्चा गरे।
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरू वैज्ञानिक विधिहरूको प्रयोगबाट हुँदै आइरहेको बताएका छन् ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरूलाई तीव्रता दिइएको बताएका हुन् ।
उनले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरूको कडाइका साथ जाँच र नियमन गर्न यसै वर्षदेखि मोबाइल ल्याब भ्यान परिचालन गरिएको जानकारी दिए । मन्त्री अधिकारीले आम नागरिकले दैनिक उपभोग गर्ने खाना सुरक्षित गराउनका लागि राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगेको बताए । छ दशकपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन संसद्बाट पारित भई गत साउनदेखि कार्यान्वयनमा आएको मन्त्री अधिकारीको भनाइ थियो ।
उनले भने, ‘संयुक्त राष्ट्रसंघले यस वर्ष तय गरेको ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ भन्ने जुन उद्देश्य बोकेर नागरिकहरूका माझमा अन्तर्राष्ट्रिय रूपमा आएको छ यसलाई हामीले मनाउने मात्र होइन व्यवहारमा कुन ढङ्गबाट लागु गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । यसका लागि नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन निरीक्षण तथा जाँच परीक्षणका कार्यहरू वैज्ञानिक विधिहरूको अवलम्बन गर्दै आइरहेको छ ।’
‘हामीले यी कुरा भनिरहँदा बजारमा किन अखाद्य वस्तु विक्री हुन्छ त भन्ने प्रश्न पनि हामीसँग त्यत्तिकै आइरहेको छ । सरकारले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरूको कडाइका साथ नियमन गर्न हरेक आर्थिक वर्षमा बजेट र कार्यक्रमको व्यवस्था गरेको हुन्छ । चालु आवमा हामीले मोबाइल ल्याब, भ्यान परिचालन गरी बजार तथा उद्योगको अनुगमन गरी अन द स्पट जाँच परीक्षण गरिरहेका छौँ । यसले उपभोक्तामा सकारात्मक सन्देश दिनुको साथै नियमन कार्यमा थप प्रभावकारिता देखिएको छ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव