काठमाडौँ । १३ वर्षदेखि २८ वर्ष उमेर समूहको जनसङ्ख्या अर्थात् ‘जेन–जी’ पुस्ताले देशको अवस्था फेर्न नेताहरू सुध्रिनुपर्ने मत प्रकट गरेको छ ।
रातोपाटीले देशका सातै प्रदेशको प्रतिनिधित्वसहित एक हजार १९ जनामा गरेको मत सर्वेक्षणमा यस्तो धारणा प्रकट भएको हो ।
‘देशको अवस्था फेर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्नको जबाफमा ६२.७ प्रतिशत अर्थात् ६३९ जनाले नेताहरू सुध्रिनुपर्ने मत प्रकट गरे । देशको अवस्था सुधार्न संविधान र कानुनको कार्यान्वयन प्रभावकारी बनाउनु पर्छ भन्नेमा २७.८ प्रतिशत २८३ जना देखिएका छन् ।
देशको अवस्था सुधार गर्न शासन व्यवस्था नै फेर्नुपर्छ भन्नेमा ९.५ प्रतिशत अर्थात् ९७ जनाले मत प्रकट गरेका छन् ।
मत सर्वेक्षणमा कोशीबाट सहभागी भएका १४७ जनामध्ये ६१.९ प्रतिशत अर्थात् ९१ जनाले देशको अवस्था सुधार गर्न सबैभन्दा पहिला नेताहरू सुध्रिनुपर्ने बताएका छन् ।
संविधान र कानुनको कार्यान्वयन प्रभावकारी बनाएर देशको अवस्था फेर्न सकिन्छ भन्नेमा विश्वास गर्नेहरू कोशीमा २८.६ प्रतिशत अर्थात् ४२ जना देखिएका छन् । शासन व्यवस्था नै फेर्नुपर्छ भन्नेको संख्या १४ अर्थात् ९.५ प्रतिशत छ ।
मधेस प्रदेशबाट सर्वेक्षणमा सहभागी १२५ जनामध्ये ६८.८ प्रतिशतले देशको अवस्था फेर्न सबैभन्दा पहिला नेताहरू सुध्रिनुपर्छ भन्ने मत जाहेर गरेका छन् । संविधान र कानुनको कार्यान्वयन प्रभावकारी बनाएर देशको अवस्था सुधार गर्न सकिने पक्षमा मत राख्ने २१.६ प्रतिशत छन् भने शासन व्यवस्था नै फेर्नुपर्ने पक्षमा ९.६ प्रतिशत छन् ।
बागमती प्रदेशबाट सर्वेक्षणमा सहभागी १७४ जनामध्ये ६०.३ प्रतिशत अर्थात् १०५ जनाले नेताहरू सुध्रिनुपर्ने पक्षमा मत प्रकट गरेका छन् । संविधान र कानुनको प्रभावकारी कार्यान्वयनबाट देशको अवस्था सुधार गर्न सकिने पक्षमा २९.३ प्रतिशत अर्थात् ५१ जना र शासन व्यवस्था फेर्नुपर्ने पक्षमा १०.३ प्रतिशत अर्थात् १८ जना देखिएका छन् ।
गण्डकीबाट सर्वेक्षणमा सहभागी गराइएका १२७ जनामध्ये ५७.५ प्रतिशत अर्थात् ७३ जनाले देशको अवस्था सुधार गर्न नेताहरू सुध्रिनुपर्ने मत राखेका छन् । ३४.६ प्रतिशत अर्थात् ४४ जनाले संविधान र कानुनको कार्यान्वयन प्रभावकारी तुल्याएरै देशको अवस्था सुधार गर्न सकिने जनाएका छन् । शासन व्यवस्था फेर्नुपर्ने पक्षमा भने ७.९ प्रतिशत देखिएका छन् ।
लुम्बिनीबाट सर्वेक्षणमा सहभागी १५० जनामध्ये ६७.३ प्रतिशतले देशको अवस्था सुधार गर्न सबैभन्दा पहिला नेताहरू सुध्रिनुपर्ने बताएका छन् । यस्तै, संविधान र कानुनको कार्यान्वयन प्रभावकारी बनाएर देशको अवस्था सुधार गर्न सकिने पक्षमा २५.३ प्रतिशत अर्थात् ३८ जना देखिएका छन् । शासन व्यवस्था नफेरी देशको अवस्था सुधार नहुने पक्षमा भने ७.३ प्रतिशत अर्थात् ११ जना देखिएका छन् ।
कर्णालीबाट सहभागी १५० मध्ये ६०.७ प्रतिशतले देशको अवस्था सुधार गर्नका लागि नेताहरू सुध्रिनुपर्ने मत प्रकट गरेका छन् । यस्तै, संविधान र कानुनको कार्यान्वयन प्रभावकारी बनाएर देशको अवस्था सुधार गर्न सकिने पक्षमा ४६ जना अर्थात् ३७.७ प्रतिशत छन् । शासन व्यवस्था नै फेर्नुपर्ने पक्षमा ८.७ प्रतिशत अर्थात् १३ जना देखिएका छन् ।
सुदूरपश्चिमबाट सर्वेक्षणमा सहभागी १४६ जनामध्ये ६३ प्रतिशत अर्थात् ९२ जनाले देशको अवस्था सुधार गर्ने हो भने सबैभन्दा पहिला नेताहरू सुध्रिनुपर्ने मत प्रकट गरेका छन् । २४ प्रतिशत अर्थात् ३५ जनाले चाहिँ संविधान र कानुनको कार्यान्वयन प्रभावकारी बनाएर देशको अवस्था सुधार गर्न सकिने पक्षमा मत जाहेर गरेका छन् । १३ प्रतिशत अर्थात् १९ जना भने शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने पक्षमा छन् ।
मत सर्वेक्षणमा जेन–जी पुस्तालाई राजनीतिमा रुचिबारे पनि सोधिएको थियो । ‘धेरै छ’, ‘अलिअलि छ’ र ‘पटक्कै छैन’ भनेर जम्मा तीन विकल्प दिइएकोमा ४५ प्रतिशतले ‘अलिअलि छ’ भन्नेमा मत जाहेर गरेका छन् । ‘पटक्कै छैन’ भन्नेमा ३९.४ प्रतिशत र ‘धेरै छ’ भन्नेमा १५.६ प्रतिशत देखिएका छन् ।
कोशीबाट सहभागीमध्ये ५०.३ प्रतिशतले राजनीतिमा अलिअलि रुचि रहेको बताएका छन् । राजनीतिमा पटक्कै रुचि छैन भन्ने ३४ प्रतिशत र धेरै छ भन्ने १५.६ प्रतिशत छन् ।
यस्तै मधेसबाट सहभागीमध्ये ५२.८ प्रतिशतले राजनीतिमा अलिअलि रुचि रहेको बताएका छन् । पटक्कै छैन भन्ने विकल्प रोज्ने मधेसमा ३१.२ प्रतिशत छन् भने १६ प्रतिशतले धेरै रुचि रहेको उल्लेख गरेका छन् ।
बागमतीबाट सहभागीमध्ये ४४.३ प्रतिशतले राजनीतिमा अलिअलि रुचि रहेको बताएका छन् । यहाँ राजनीतिमा पटक्कै रुचि छैन भन्ने ३९.७ प्रतिशत र धेरै रुचि छ भन्ने १६.१ प्रतिशत छन् ।
यसैगरी गण्डकीबाट सहभागीमध्ये ४६.५ प्रतिशतले राजनीतिमा अलिअलि रुचि रहेको, ३७ प्रतिशतले पटक्कै रुचि नरहेको र १६.५ प्रतिशतले धेरै रुचि रहेको जनाएका छन् ।
लुम्बिनीबाट सहभागीमध्ये ५०.७ प्रतिशतले राजनीतिमा अलिअलि रुचि रहेको, ३६.७ प्रतिशतले पटक्कै रुचि नरहेको र १२.७ प्रतिशतले धेरै रुचि रहेको जबाफ दिएका छन् ।
कर्णालीमा राजनीतिमा पटक्कै रुचि छैन भन्नेको प्रतिशत कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा बढी छ । कर्णालीमा ४६.७ प्रतिशतले राजनीतिमा पटक्कै रुचि नरहेको बताएका छन् । सुदूरपश्चिमबाट सहभागीमध्ये ४८.६ प्रतिशतले राजनीतिमा पटक्कै रुचि नरहेको बताएका छन् ।
अलिअलि रुचि छ भन्ने कर्णालीमा ३६.७ प्रतिशत र धेरै रुचि छ भन्ने १६.७ प्रतिशत छन् ।
यस्तै सुदूरपश्चिमबाट सहभागीमध्ये ३५.६ प्रतिशतले अलिअलि रुचि छ भन्ने विकल्प रोजेका छन् भने धेरै रुचि छ भन्नेहरू १५.८ प्रतिशत छन् ।
(कोशीबाट अर्जुन आचार्य, मधेसबाट अली असगर देवान, बागमतीबाट गणेश दुलाल, गण्डकीबाट प्रकाश ढकाल, लुम्बिनीबाट तेजेन्द्र केसी, कर्णालीबाट पंखबहादुर शाही र सुदूरपश्चिमबाट सविता बुढाको सहयोगमा ।)
प्रतिक्रिया