शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल–चीन सहमति कार्यान्वयन हुँदै जानेछ : प्रचण्ड

बुधबार, २८ जेठ २०८२, २१ : ०६
बुधबार, २८ जेठ २०८२

मुस्ताङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरलानाकामा चीन सरकारले भन्सार, अध्यागमन तथा एकीकृत सुरक्षा पोष्टलगायत भौतिक संरचना निर्माण गरी दिने सहमति गरेको बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले आज आयोजना गरेको जिल्लास्थित सरकारी कार्यालयसँगको छलफल तथा अन्तरक्रियामा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका बेला भएको सहमतिअनुसार काम हुँदै जाने विश्वास व्यक्त गरे । 

सहमतिअनुसार नेपाल पक्षले नै कोरला पूर्वाधार निर्माणका लागि स्पष्ट खाका पेस गर्न नसकेकै कारण पूर्वाधार निर्माणमा ढिलाइ हुन पुगेको अध्यक्ष दाहालको भनाइ छ ।

उनले कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्नका लागि चीन सरकार अहिले पनि तयार रहेको उल्लेख गरे । कोरला सडक मुस्ताङको मात्रै नभइ समग्र राष्ट्रकै लागि आर्थिक समृद्धिको मेरूदण्ड भएकाले यसको रणनीतिक र दीर्घकालीन महत्त्व रहेको अध्यक्ष दाहालको भनाइ छ । 

कोरला नाकालाई पर्यटन र अन्तरराष्ट्रिय व्यापार तथा पारवाहन प्रवद्र्धनका लागि नाकामा संरचना बनाइदिन पर्‍यो भनेर प्रस्ताव राखेको उनले उल्लेख गरे । 

कोरला सडक आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न र सडक स्तरोन्नतिलाई तीव्रता दिन सकेमात्रै नेपालकै आर्थिक क्रियाकलापमा यस नाकाबाट योगदान पुग्ने अध्यक्ष दाहाले विश्वास व्यक्त गरे । 

एक अर्को प्रशङ्गमा माओवादी अध्यक्ष दाहालले मुस्ताङको धार्मिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक रूपले विशिष्ट जिल्ला भएकाले यहाँ राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटक आउने गरेको बताए । 

उनले एक्याप, स्थानीय तह र वनको त्रिकोणात्मक समस्या र चुनौती रहेको आफूले महसुस गरेको बताए । 

अन्तरराष्ट्रिय मञ्चले नेपाललाई रू ५० करोड बजेट जलवायु अनुदान दिने सहमति गरेको भए पनि त्यसपछिको सरकारले त्यसप्रति खासै चासो नदिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप