१० बजे १० समाचार : न्यायाधीशमाथि आक्रमणदेखि एमालेमा तरंगसम्म

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको २९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. न्यायाधीशमाथि आक्रमण
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतले कालो मसी छ्यापेको छ ।
बिहीबार न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारुलाई कालो मसी छ्यापेका हुन् । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।
२. प्रतिनिधिसभा स्थगित
प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी संसद् बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् ।
३. एमालेमा तरंग
दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन मिति नजिकिएसँगै नेकपा एमालेमा ७० वर्षे ‘उमेरहद’ बहस पेचिलो बन्दै गएको छ ।
यो बहस चर्कदै जाँदा एमाले नेता कार्यकर्ताहरूमा ७० वर्षे उमेरहद कायम गर्नुपर्ने र नपर्ने सवालजवाफमा केन्द्रित हुन थालेका छन् । यहीबिचमा पूर्व राष्ट्रपति विद्या भण्डारीको बढ्दो राजनीतिक भेटघाट र सक्रियताले पनि पार्टीभित्र उमेरहद र नेतृत्व परिवर्तनको मुद्दाले थप तरङ्ग ल्याइदिएको छ ।
४. भारतीय विमान दुर्घटना
एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए। अहिलेसम्म दुर्घटनामा एक जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।
विमानको सिट नम्बर ११–ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका हुन्। उनको भिडियो पनि सार्वजनिक भएको छ।
यसअघि समाचार एजेन्सी एएनआईले प्रहरी आयुक्तलाई उद्धृत गर्दै अर्को व्यक्तिको अस्पतालमा उपचार भइरहेको जानकारी दिएको थियो। तर उनको पनि मृत्यु भएको हो ।
५. मिसिल अध्ययनमा माधवका मान्छे
नेकपा एकीकृत समाजवादीका नेताहरू अध्यक्ष माधव नेपालविरुद्ध दायर मुद्दाको मिसिल अध्ययनमा लागेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि जग्गा खरिद बिक्री र हदबन्दी प्रकरण छुट दिएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
६. सिफारिस
प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट २०७८ असार १० गते न्याय परिषद् सदस्य नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल आगामी असार ९ गते सकिँदै छ । भण्डारी पदावधि सकिएर अवकाश हुन लागेपछि रिक्त ठाउँमा प्रधानमन्त्री ओलीले नेपालको नाम सिफारिस गरेका हुन् । संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नेपाल न्याय परिषद् सदस्यमा नियुक्त हुनेछन् । न्याय परिषद् सदस्यको कार्यकाल ४ वर्षको हुन्छ ।
७. नयाँ शक्ति
डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले जेठ ३० गते १० औँ पार्टी दिवस मनाउने तयारी गरेको छ । राजधानीको राष्ट्रिय सभागृहमा दिउँसो १ बजे नयाँ र आफूलाई वैकल्पिक शक्ति भनिएका नेताहरूसँग अन्तरक्रियात्मक कार्यक्रम राखिएको छ ।
८. भेटवार्ता
भिजिट भिसा प्रकरणमा अवरुद्ध संसद् खुलाउने विषयमा दुई दलका शीर्ष नेताबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।
९. महानगर
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् । बुधबार काठमाडौँ प्लाजामा बालेनले उपमेयर सुनिता डङ्गोलसहित तीन जना वडाअध्यक्षहरुसँग छलफल गरेको खुलेको छ । उक्त बैठकपछि मेयर साह महानगरपालिकाको कार्यपालिका बैठक र नगर सभा बोलाउने सहमतिमा पुगेका छन् ।
१०. नेप्से
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ७.१५ अङ्कले घटेर २ हजार ६५७.३२ विन्दुमा बन्द भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाइसेन्स पासको सेटिङ - अख्तियारले समात्यो कर्मचारी र बिचौलिया
-
अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’
-
राजतन्त्र होइन उन्नत व्यवस्था खोजिरहेछन् जनता
-
भिजिट भिसामा विदेश गएकाहरूकाे विषयमा श्वेतपत्र सार्वजनिक गर्न माग
-
कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा
-
लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ