शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

शुक्रबार, ३० जेठ २०८२, ०९ : ५७
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रभावकारी बनाउन आग्रह गरेका छन्।
  • प्रधानमन्त्रीले न्याय सम्पादनका लागि अनुसन्धान र प्रमाणहरू तथ्यपूर्ण हुनुपर्ने बताए, साथै प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको जनाए।
  • सम्मेलनमा गृहमन्त्री, महान्यायाधिवक्ता लगायतको उपस्थिति रहेको थियो, जहाँ प्रधानमन्त्रीले दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आग्रह गरे।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरूपणमा सघाउन आग्रह गरेका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरूका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धान र अभियोजन गर्न आग्रह गरे । 

“समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ । ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध रहेको छ ।’’, प्रधानमन्त्री ओलीले भने, “ प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ । सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।’’ 

अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोत साधन सम्पन्न हुनुपर्ने र प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरूपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फतसमान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षहरूमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिने काममा लाग्न सबैलाई आग्रह पनि गरे । 

प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप