‘गुटभित्रकालाई पुरस्कृत गर्ने र आफ्नै परिचर्चामा रमाउने दिक्कलाग्दो प्रवृत्ति छ’

समाचार सारांश
- पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको नयाँ कथासंग्रह 'सत्यम्' बजारमा आएको छ।
- वियोगीले समसामयिक साहित्यिक अवस्था, लेखनको महत्व, र जीवनका विविध पाटाबारे आफ्नो धारणा राखेका छन्।
- उनले कथा र कविताको परिभाषा दिँदै आफूलाई झकझकाएका कृति र जीवनको अर्थबारे प्रकाश पारेका छन्।
कथाकार लक्ष्मण वियोगी मूलतः पत्रकार हुन् । अनलाइन न्युज पोर्टल ‘ऊर्जा खबर डटकम’का सम्पादक उनी बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करण (२०७६) का दोस्रो विजेता हुन् ।
उनको हालै ‘सत्यम्’ कथासंग्रह बजारमा आएको छ । उनै वियोगीलाई हामीले रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा निम्त्याएका छौँ ।
१) हिजोआज केमा व्यस्त हुनुहुन्छ ? अन्तिमपटक कुन कृति पढ्नुभयो ?
म लामो समयदेखि पत्रकारितामा आबद्ध छु । प्रायः दैनिकी त्यसैमा बितिरहेको हुन्छ । पत्रकारितामा पनि ऊर्जा अर्थात् विद्युत् मेरो विद्यागत क्षेत्र हो । समाचार लेखन तथा खोजमै दौडधुप गर्नुपर्छ । रोजीरोटी यसैबाट चलेकाले साहित्यमा उति समय दिन भ्याउँदिनँ । भ्याउँदासम्म साहित्यिक कार्यक्रममा सहभागी हुने गरेको छु ।
अन्तिमपटक उद्यमी तथा नियात्राकार जीवा लामिछानेको नियात्रा–कृति ‘अक्षत अन्टार्कटिका’ पढेँ । यो नेपाली पाठक एवं लेखकलाई अन्टार्कटिका चिनाउने कौतुकमय कृति हो । जसमा जीवन, जगत्, सिर्जना, पर्यावरण र विश्वमा भइरहेका नयाँ–नयाँ गतिविधिको अभिलेखन छ । त्यति मात्र होइन, यो नियात्रा लेखनमा एउटा विनिर्माण हो भने पनि हुन्छ । अहिले अग्रज साहित्यकार प्रा. गोविन्दराज भट्टराईको ‘नयाँ भुटानको छायाचित्र’ पढिरहेको छु । जसमा आफ्ना पुर्खाको माटोबाट उखेलिएर धपाइएको नेपाली जातिको दुर्दान्त कथा छ ।
२) पछिल्लो समयको साहित्यिक बजार र बहस कस्तो छ ? यसबारे यहाँको धारणा के छ ?
साहित्यिक समाज विस्तारित हुँदै गएको अनुभूत भएको छ । लेख्ने, चर्चा गर्ने र कृति प्रकाशनको फराकिलो परिवेश निर्मित छ । हरेक व्यक्तिमा लेखक हुने चाहना बढ्नु सुखद हो; त्यो भनेको समाज शिक्षित र चेतनशील हुँदै जानुको पर्याय पनि । म साहित्यमा चिनिएको व्यक्ति वा स्थापित लेखक होइन । यस क्षेत्रको गहिरो अध्ययन, अनुसन्धान र अभ्यास ममा छैन । अल्पविवेकले यति गहन क्षेत्रको विश्लेषण कसरी गरुँ ? तथापि मनमा बिझेका केही कुरा भने भन्न सान्दर्भिक ठान्छु ।
पत्रकारहरूले नजानेको क्षेत्र कुनै छैन । ती विश्लेषक, राजनीतिज्ञ, नेता, योजनाविद्, परराष्ट्रविद्, वैज्ञानिक, समाजशास्त्री, दार्शनिक, चिन्तक सबै हुन भ्याउँछन् । यी सबै भएर पनि समाज किन उत्थानशील हुन सकेन ? निराशा किन व्याप्त छ ? समाजका सुन्दर संरचनाहरू किन भत्किँदै छन् ? यिनको उत्तर पाइँदैन ।
देशको राजनीति यति विकृत भयो, यसप्रति हरेक नागरिकमा वितृष्णा छ । दशकौँदेखि राजनीतिक शुद्धीकरणको आन्दोलन चल्दै आयो तर त्यसले सार्थकता पाउन सकेन । एक प्रकारले समाज निराशातिर मोडिएको छ । त्यस्तै पत्रकारितामा पनि गुणवत्ताको अंश घट्दै छ । पत्रकारहरूले नजानेको क्षेत्र कुनै छैन । ती विश्लेषक, राजनीतिज्ञ, नेता, योजनाविद्, परराष्ट्रविद्, वैज्ञानिक, समाजशास्त्री, दार्शनिक, चिन्तक सबै हुन भ्याउँछन् । यी सबै भएर पनि समाज किन उत्थानशील हुन सकेन ? निराशा किन व्याप्त छ ? समाजका सुन्दर संरचनाहरू किन भत्किँदै छन् ? यिनको उत्तर पाइँदैन ।
त्यस्ता गतिविधि देख्दै आएको मैले साहित्य तथा सिर्जनाको क्षेत्र अछुतो होला ठानेको थिएँ तर उस्तै रैछ । अझ त्योभन्दा तल्लोस्तरमा साहित्यिक समाज झर्दै गएको अनुभूत भएको छ । सिर्जनाका भित्री तहसम्म राजनीतिले गाँजिसकेको रहेछ । लेखक र लेखकीय समूह राजनीतिक पार्टीका, साहित्यिक संघ संस्थाहरू अनेक दलका झन्डामुनि गोलबद्ध देखिन्छन् । हरेक चोटा–कोठामा साहित्यका गुट, उपगुट, सहगुट, मिनी वा नानो गुट फस्टाउँदै छन् । तिनले गुणस्तरीय सिर्जनाको घाँटी निमोठेको देख्दा मन धुरुक्क हुन्छ । गुमनाम व्यक्ति वा आफ्नै नाममा पुरस्कार राख्ने, घरभित्रकै सदस्य वा गुटभित्रकालाई पुरस्कृत गर्ने र आफ्नै परिचर्चामा रमाउने दिक्कलाग्दो प्रवृत्ति छ ।
लोकतात्रिक राज्य व्यवस्थामा व्यक्तिका स्वतन्त्रता असीमित छन् । त्यसको उपभोग गर्ने छुट सबैलाई छ तर कम्तीमा सिर्जनाको मर्म र गुणस्तरीय पाटोमा दलगत र गुटगत राजनीति नभइदिए हुन्थ्यो । साहित्यमा आउन खोज्ने मजस्ता नयाँ अनुहारहरू निराश भएर नफर्के हुन्थ्यो । गुणस्तरीय कृति पाठ, लेखकको अनुभूति र जीवन पढेर सिर्जनामा नयाँ क्षितिजको ढोका खुले हुन्थ्यो जस्तो लाग्छ, जसले युगौँदेखि चल्दै आएको मौलिक समाजको विरासत जोगाउन सकोस् ।
३) भर्खरै तपाईंको पहिलो कथासंग्रह बजारमा आयो । लामो समयदेखि कविता पनि लेखिरहनुभएको छ । वास्तवमा तपाईंले किन लेख्नुहुन्छ ?
मैले लामो समयदेखि लेख्दै आएका कथाहरू सङ्कलन गरेर ‘सत्यम्’ कथासङ्ग्रह तयार गरेँ र त्यो गत साता विमोचन भयो । कृति बाहिर आइसकेपछि मैले भन्नुपर्ने केही छैन । पाठकहरूले रुचाइदिनुभो भने त्यो नै मेरो उपलब्धि हुनेछ ।
मैले किन लेख्छु ? यसको जवाफ के हो ? कहिलेकाहीँ म आफैँ अलमल पर्छु । कुनै घटना विशेषले छुन्छ, मेरो हृदय हल्लाउँछ वा कुनै विषयप्रति तीव्र असन्तृष्टि हुन्छ । म त्यसलाई लेखनमा उतार्ने कोसिस गर्छु । ती कहिले निबन्ध, कथा वा कविता हुने गर्छन् । कतिपय विसङ्गति, मानवीय अत्याचार, व्यभिचार, अपराध वा यस्तै सामाजिक घटनाले मेरो मनमा राँको बाल्छन् । त्यो राँको निभाउने पानी मेरा लागि सिर्जना हो । आफू शान्त भएपछि अर्को घटनाले नपोल्दासम्म लामो समयसम्म म नलेखी पनि बस्छु ।
४) यहाँको बुझाइमा कथा र कविता के हो ? कविताप्रति यहाँ किन र कसरी आकर्षित हुनुभयो ? अनि, कथाप्रतिको आकर्षणबारे पनि केही बताइदिनु न ?
यहाँले समालोचक वा खारिएको लेखकलाई सोध्नुपर्ने प्रश्न मलाई सोध्नुभयो । म साहित्यिक फूलबारीको सौन्दर्य देखेर नाच्न खोज्ने भमरो त्यसको विश्लेषण र गहनताबारे के भन्न सक्छु र !
तैपनि, केही भनुँ— कविता बढी भावप्रधान हुन्छ । जसले सूक्ष्म विश्लेषणमार्फत घटना र परिवेशलाई उतारेको हुन्छ । मेरो बुझाइमा कविता दही मथेपछि निस्केको नौनी हो । कविताको सिर्जनशीलता वा मर्म बुझ्न ठुलो साधना, अभ्यास र कला हुनुपर्छ जस्तो लाग्छ । भावना खन्याएर मात्र कविता हुन्छ जस्तो लाग्दैन । ममा त्यस्तो कला छैन ।
कथाको पक्ष अलि भिन्न होला । समाज वा घटनाभित्रको एउटा अंशलाई समातेर सिंगो परिवेशको चरित्र वा प्रवृत्ति उतार्नु कथा होला । कथा मान्छेले बाँचेको समय, जीवनदृष्टि, परिवेश र इतिहासको सानो अंश पनि हो जस्तो लाग्छ ।
लेखक र लेखकीय समूह राजनीतिक पार्टीका, साहित्यिक संघ संस्थाहरू अनेक दलका झन्डामुनि गोलबद्ध देखिन्छन् ।
५) समकालीन नेपाली कथा र कविताको अवस्था कस्तो देख्नुभएको छ ?
सङ्ख्यात्मक कृति बढेका छन् तर गुणवत्तामा ध्यान नपुगेको हो कि ! साहित्यिक बजार हतारमा कुदिरहेको जस्तो देखिन्छ । दुनियाँ एआईको छ । मान्छेमा धैर्य कमजोर हुँदै गएको छ । तथापि राम्रा कथा, कविता र आख्यानका कृतिहरू पनि आइरहेका छन् । मुख्यतः एआईको दुनियाँमा उडिरहेको पुस्तालाई रोकेर राख्न सक्ने कृति आए हुन्थ्यो । साहित्यको दायरा फराकिलो हुँदै गएकाले त्यो दिन आउला भन्ने विश्वास गरौँ ।
६) लेखेर कति कमाउनुभयो वा गुमाउनुभयो ?
नेपाली साहित्यमा लेखेर बाँच्ने समय आएको छ जस्तो लाग्दैन । यो नेपाली साहित्यको वास्तविकता हो । मेरो हकमा, कमाउनका लागि लेख्ने गरेको भए पो गुमाउने चिन्ता हुन्छ । गुमाउनैपर्ने गरी केही लेखेकै छैन । अतः मैले साहित्यमा कमाएको केही छैन र गुमाउनुपरेको पनि छैन । बरु लेख्न सकिनँ भन्ने चिन्ता लागिरहन्छ ।
७) फेरि यहाँको पछिल्लो कृतिको कुरा गरौँ, पाठकलाई पढ्न सिफारिस गर्नका लागि यहाँको पछिल्लो कृतिमा के छ त्यस्तो ?
‘सत्यम्’ मेरो पहिलो कृति हो । मैले आफ्नो जीवनदृष्टिको टाकुरामा टेकेर लेखेको छु । मेरो लेखनशैली सबै पाठकलाई मन पर्छ भन्ने छैन । यद्यपि मैले रैथाने शैली, लोकजीवन र यससँग जोडिएका मानवीय संघर्षका उतारचढावलाई उतार्ने जमर्को गरेको छु । त्यस्तो शैली मन पर्ने पाठकका लागि कृति पठनयोग्य हुन सक्ला । यो मेरो पहिलो प्रयास भएको हुँदा पढेर मेरा कमी कमजोरी औँल्याइदिनु हुन म विशेष अनुरोध गर्दछु ।
८) पछिल्लोपटक तपाईंलाई झकझकाएको कुनै एउटा कथा वा कविता सम्झिनुपर्यो भने कसलाई सम्झिनुहुन्छ ? सम्झनुको कारण पनि भनिदिनु ।
त्यस्ता धेरै कृति वा कथा छन्, जसले मलाई तरङ्गित बनाए । पछिल्लो समय १६ कथाहरूको सङ्ग्रह ‘रमेश विकलका कथा’ पढिसिध्याएँ । त्यसभित्रको ‘एउटा मधुरातको दारुण अन्त्य’ले मलाई भावविह्वल बनायो । त्यसमा भर्खरै विवाहित जोडी घुम्न पोखरा जान्छ । साँझको समय घुम्दै जाने क्रममा लुटेरा वा डाँकाहरूले श्रीमतीको बलात्कारपछि हत्या गरिदिन्छन् । अन्ततः श्रीमान्ले आफू र श्रीमतीको लासलाई एउटा डोरीले बाँधेर फेवातालमा हामफाल्छन् । अहिले सोच्दा लाग्छ, यो घटना २०३८ सालतिर पोखरामा घटेको चर्चित ‘नमिता–सुनिता हत्याकाण्ड’को अभिघात कथा हो कि !
अरू धेरै कथा वा उपन्यास पढेर म द्रविभूत भएको छु । डा. अशोक थापाकृत सन्तापको धूनभित्रको ‘नरकङ्कालको गीत’ पनि मार्मिक छ । पछिल्लो समय मैले अलि बढी उपन्यास पढेँछु । तीमध्ये सरुभक्तको ‘समय त्रासदी’ हृदयविदारक कृति हो । यस कृतिमा मान्छेले मान्छेकै मासु खान्छन्, जुन वर्तमान समाजमा भइरहेको अन्याय, अत्याचार, व्यभिचार, पाखण्ड र मानव बेचबिखनको पर्याय हो भन्न सकिन्छ ।
९) अब अन्तिम प्रश्न, आखिर जिन्दगी के रहेछ ?
जिन्दगीको परिभाषा र बुझाइ हरेकका आ–आफ्नै हुन्छन् । मेरा लागि आफूले बाँचेर आएको समयको देउरालीमा टेकेर आफैँलाई चियाउने र भविष्योन्मुख हुने दृष्टि हो ।