मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

राना थारू समुदायबाट पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल कोर्ट पुगेका अशोक

सोमबार, ०२ असार २०८२, १३ : ००
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • कैलालीका अशोक राना रानाथारू समुदायबाट अन्तर्राष्ट्रिय भलिबल खेल्ने पहिलो खेलाडी बनेका छन्।
  • रानाको भलिबल यात्रा गाउँबाट सुरु भई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ, उनले विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन्।
  • अशोक रानाले खेल र शिक्षालाई सँगै लैजान नसके पनि, आफ्नो समुदाय र देशको नाम उच्च राख्न निरन्तर मेहनत गरिरहेका छन्।

धनगढी  । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको माटोमा एउटा छुट्टै पहिचान बोकेको राना थारू समुदायको बसोबास छ । यो समुदायको यहाँ मात्रै बसोबास छ । सरकारले रानाथारू समुदायलाई छुट्टै सूचीकृत गरेको करिब ७ वर्ष पुगेको छ। अहिले हरेक ठाउँमा यो समुदायको प्रतिनिधित्व बढ्न थालेको छ । 

धनगढी उपमहानगरपालिका–७ को एक सामान्य किसान परिवारका एक युवकले आज भलिबलको उचाइमा आफ्नो समुदाय र देशको नाम चम्काउने सपना देखेका छन् । उनी हुन्, अशोक राना । जो आफ्नो समुदायबाट अन्तर्राष्ट्रिय भलिबल कोर्टमा नेपालको जर्सी लगाउने पहिलो र एक मात्र खेलाडी हुन् । उनको  भलिबल यात्रा एउटा सीमान्तकृत समुदायका लागि शिर ठाडो पार्ने एक आधार बनेको छ । 

अशोकको भलिबल यात्रा पनि गाउँकै धुलो उड्ने मैदानमा साथीभाइसँगको रमाइलोबाट सुरु भएको थियो । उनले आफ्नो यात्रा सम्झिँदै भने, ‘सुरुमा त गाउँमै खेल्थेँ । पछि स्कुलमा आयोजना भएको ‘रनिङ शिल्ड’ प्रतियोगितामा भाग लिने मौका मिल्यो ।’ त्यही प्रतियोगिता उनको जीवनको एउटा महत्त्वपूर्ण मोड बन्यो, जहाँ उनको प्रतिभाले पहिलो पटक औपचारिक मञ्च पायो । विद्यालयको टिमबाट खेल्दै गर्दा उनको क्षमता देखेर उनलाई कैलाली जिल्लाको टिमबाट खेल्नका लागि छनोट गरियो ।

1000017880

त्यसपछि उनको चाहानालाई थप मलजल पुग्यो । उनी धनगढीस्थित रंगशालामा रहेको भलिबल प्रशिक्षण कोर्टमा नियमित अभ्यासका लागि पुगे । त्यहाँको सिकाइको वातावरण र प्रशिक्षणले उनको खेललाई निखार्दै लग्यो । लगातार अभ्यास र प्रशिक्षकले उनीमाथि केही आशा राखेपछि उनले ८ महिनाअघि २०८१ कात्तिकमा श्रीलंकाको कोलोम्बोमा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालका लागि खेल्ने अवसर प्राप्त गरे ।

‘उमेर समूहको राष्ट्रिय टिम खेल खेल्ने अवसरका रूपमा पाएँ, जसले मलाई राष्ट्रियस्तरमा चिनाउन मद्दत ग¥यो,’ उनले भने ।

परिवारको साथबिना आफू अधुरो रहेको उनको भनाइ छ ।

‘म किसानको छोरो हुँ । घरमा धान खेती गरेरै गुजारा चल्छ,’ उनले भने । उनको परिवारलाई खेलकुदको व्यावसायिक भविष्यबारे धेरै ज्ञान नभए पनि छोराको सपना पूरा गर्न कहिल्यै पछि हटेनन् । ‘घरपरिवारबाट पूर्ण समर्थन छ,’ उनले भने । 

उनी खेलको अभ्यासबाट बचेको समयमा घरको खेतीपातीमा सघाउन पुग्छन् । ‘अहिले असार नजिकिँदै छ, घरमा बिउ राख्ने काम हुन्छ । म खेल पनि खेल्छु र घरको काम पनि गर्छु,’ उनले आफ्नो जरासँगको सम्बन्धलाई जीवन्त राखेका छन् ।

1000017881

केही पाउन केही गुमाउनुपर्छ भन्ने भनाइमा उनी सहमत छन् । खेल र शिक्षाबिच एकलाई रोज्नु थियो । भलिबलमा व्यावसायिक खेलाडी बन्ने दृढ सङ्कल्पका साथ उनले कक्षा १० को नियमित पढाइलाई एक वर्षअघि बिदा दिए । 

‘अब मेरो लागि खेल नै सबैथोक हो,’ उनको यो भनाइले खेलप्रतिको उनको गहिरो समर्पणलाई देखाएको छ । यद्यपि, उनले शिक्षाको महत्त्वलाई बुझेका छन् र परीक्षा भने दिने योजना बनाएका छन् ।

तीन वर्षको छोटो तर अर्थपूर्ण व्यावसायिक खेल जीवनमा अशोकले २० वर्षमुनिको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाए । यो उनको र उनको समुदायका लागि ऐतिहासिक क्षण थियो ।

अन्तर्राष्ट्रिय कोर्टमा खेल्दाको अनुभवबारे उनी भन्छन्, ‘विदेशमा खेल्न पाउँदा धेरै कुरा सिक्न पाएँ, अनुभव बटुल्ने ठुलो मौका मिल्यो ।’ उनले बुझेका छन् कि देशका लागि स्वर्ण मेडल जित्न घरेलुस्तरको मिहिनेतले मात्र पुग्दैन, त्यसका लागि अन्तर्राष्ट्रियस्तरको तालिम, अनुशासन र कडा परिश्रम चाहिन्छ ।

खेल यात्रा सधैँ सहज हुँदैन । जित भए खेलाडीको तारिफ हुन्छ । हार भए गाली । हालै सम्पन्न एनभीए कपमा सुदूरपश्चिम टिमको प्रदर्शन निराशाजनक रह्यो । 

अशोकले टिमको हारको मुख्य कारण खेलाडीबिच समन्वयको अभाव रहेको बताए । ‘हामीले एक दिन पनि सँगै अभ्यास गर्न पाएनौँ । खेलाडीहरू फरक–फरक ठाउँबाट आएर सीधै कोर्टमा उत्रियौँ, जसले गर्दा टिममा तालमेल मिल्न सकेन,’ उनले भने । यो अनुभवले उनलाई व्यावसायिक खेलमा टिम वर्क र पर्याप्त अभ्यासको महत्त्व सिकाएको छ ।

1000017883

हरेक सफल खेलाडीको पछाडि एक कुशल गुरुको हात हुने गरेको उनले बताए । अशोकका लागि त्यो हात सुदूरपश्चिम भलिबल टिमका मुख्य प्रशिक्षक लालबहादुर बटालाको हो । ‘मलाई यहाँसम्म पुग्न गुरुले धेरै सहयोग र उत्प्रेरणा दिनुभएको छ । उहाँ नै मेरो सबैभन्दा ठुलो प्रेरणाको स्रोत हो ।’

अशोकले अहिलेसम्म खेलबाट ठुलो आम्दानी भने गर्न सकेका छैनन् । व्यक्तिगत खर्चका लागि चाहिने खेल सामग्री आफैँले जुटाउनुपर्छ । तर, समुदायले उनलाई ठुलो सम्मान र हौसला दिएको छ । 

‘समुदायका दाइभाइले राम्रो गरिरहेको छस्, तेरो हाइट पनि छ, खेल्दै गर भन्नुहुन्छ, यसले मलाई थप ऊर्जा दिन्छ,’ उनी भन्छन् ।

अशोकको अबको एक मात्र लक्ष्य सिनियर राष्ट्रिय टिममा परेर देशका लागि खेल्नु हो । त्यसका लागि उनी आफ्नो ब्लकिङ, रिसिभ, सर्भिस र स्पाइकजस्ता हरेक पक्षलाई सुधार्न दिनरात मिहिनेत गरिरहेका छन् ।

उनी आफ्ना समर्थक र शुभचिन्तकलाई भन्छन्, ‘सबैले सपोर्ट गर्दै जानुहोला, म पनि मिहिनेत गर्नेछु । सबैजनाले माया गरिदिनुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप