प्रदर्शनकारीलाई एकीकृत हुन आह्वान गरी आफू रेष्टुरेन्टको सटर लगाएर लुकेका थिए धवल शमशेर

समाचार सारांश
- राप्रपा महामन्त्री धवल शमशेर राणाले तीनकुनेमा भएको राजावादी आन्दोलनमा आफ्नो कुनै भूमिका नभएको बताएका छन्।
- राणाले उक्त आन्दोलन दुर्गा प्रसाईंले आयोजना गरेको र आफू अतिथि मात्रै भएको दाबी गर्दै ३ लाख धरौटीमा रिहा भएका छन्।
- राणाले आफूले भ्रष्टाचारीलाई किरा परोस् भन्ने लेखिएको टिसर्ट लगाएको र उत्तेजक भाषण दिएको स्वीकारेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाले चैत १५ गते तीनकुनेमा आयोजना भएको राजावादी आन्दोलनमा आफ्नो कुनै भूमिका नभएको बयान दिएका छन् ।
काठमाडौँ जिल्ला अदालतले राणालाई सोमबार ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । आदेशको पूर्ण पाठमा राणाले अनुसन्धान अधिकृतसामु गरेको बयान पनि समावेश छ ।
बयानका क्रममा उनले संयुक्त जनआन्दोलन कार्यक्रम दुर्गा प्रसाईँले आयोजना गरेको बताएका छन् । कार्यक्रमको आयोजना, व्यवस्थापन, सञ्चालन र खर्च सबै प्रसाईँले गरेको उनको भनाइ छ । त्यसमा आफ्नो कुनै भूमिका नरहेको दाबी उनको छ । कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित भएकाले मौका मिले सम्बोधन गर्छु भनेर मात्रै आफू सहभागी भएको उनको दाबी छ ।
उनले आफूसहित नवराज सुवेदी, हरिबहादुर बस्नेत, प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्रलगायत मोटरसाइकल र्याली भन्दा अगाडिको गाडीमा बसेर प्रदर्शनस्थलमा गएको बताएका छन् ।
आफू उक्त सभामा अतिथिका रुपमा मौका पाएमा सभालाई सम्बोधन गर्नका लागि सहभागी भएकोमा मञ्चमा बस्न लाग्दा एक्कासि धुवाँ आएको बताएका छन् । त्यसपछि आफूसहित सबै मञ्चबाट ओर्ली पछाडि राखिएको नवराज सुवेदीको गाडीमा बसेको उनको भनाइ छ ।
स्थिति सामान्य भएपछि सहभगीलाई एकीकृत हुन आह्वान गरी आफू उत्तरतर्फ रहेको गल्लीभित्र छिरी रेस्टुरेन्टको सटर लगाएर २ घण्टा बसेको उनले बताएका छन् ।
‘कार्यक्रमको मञ्चमा बस्न लाग्दा एक्कासी ग्याँसको धुवाँ आएपछि मलगायत सबै जना मञ्चबाट ओर्लिई मञ्चको पछाडि राखिएको नवराज सुवेदीको गाडीभित्र करिव आधा घण्टा बस्याैँ,‘ उनले भनेका छन्, ‘स्थिति अलि साम्य भएपछि सहभागीलाई एकीकृत हुनको लागि आह्वान गरेर प्रहरीले फायर गरेको अश्रु ग्याँसकाे कारणले कतै जान असहज अवस्था भएकोले म पछाडि मुल सडकको उत्तरतर्फ रहेको गल्ली भित्र छिरी सोही स्थानमा रहेको रेष्टुरेण्टमा सटर लगाएर करिब २ घण्टा बसेको हो।’
उनले कार्यक्रमको आयोजना राप्रपाले नगरेको पनि दाबी गरेका छन् । राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी रहेकोमा उक्त समितिमा सदस्य सचिवमा रविन्द्र मिश्र, हरिबहादुर बस्नेत, डा. प्रकाशचन्द्र लोहनी, अस्मिता भण्डारी, दुर्गा प्रसाई, रमा सिंह र आफू पनि रहेको स्वीकार उनले गरेका छन् ।
उक्त समितिले आफूलाई आन्दोलन परिचालन समितिको संयोजक तोके पनि समितिको कार्य शान्तिपूर्ण आन्दोलनको संयोजन र परिचालन गर्नु रहेकोमा समिति उक्त प्रदर्शनमा सक्रिय नभएको दाबी उनको छ ।
आफू र राप्रपा हिंसात्मक प्रदर्शनको पक्षमा नरहेको दाबी गर्दै उनले भनेका छन्, ‘मेरो नेतृत्वमा हिंसात्मक गतिविधि भएको भन्ने कुरा सरासर गलत हो । मिसिल संलग्न रहेको प्रहरी प्रतिवेदन साथ पेस भएका भिडियोहरु मलाई देखाउँदा देखिपाएँ।’
उनले उक्त कार्यक्रममा आफूले भ्रष्टाचारीलाई किरा परोस् भन्ने लेखिएको निलो टिसर्ट र निलो टोपी लगाइ भाषण गरेको स्वीकारेका छन् ।
‘अगाडि बढ्ने हो, प्रहरीसित डराउने हैन, यो संघीयता र गणतन्त्र समाप्तको अन्तिम दिन हो’ भनेर आफूले बताएको स्वीकार्दै उनले उक्त कुरा मञ्चमै प्रहरीबाट अश्रुग्यास प्रहार भएपछि असहज अवस्थामा आवेशमा बोलेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?