१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो

आज २०८२ असार ४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- बोर्ड तथा परिषद हटाउने प्रयास
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) को बजेटबाट अनावश्यक संरचना खारेज तथा मर्जर गर्ने घोषणा गरेको छ । बजेट वक्तव्यको ११९ नम्बर बुँदामा प्रदेश सरकार अन्तर्गतको अनावश्यक बोर्ड तथा परिषदलाई गाभ्ने र खारेज गर्ने घोषणा गरेको हो ।
- बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
बजेट विनियोजनमा भने जेनजी पुस्तालाई बेवास्ता गर्दै उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले मन्त्रीमुखी ल्याएको छ । युवा उद्यमशील कार्यक्रममा न्यून बजेट विनियोजन गरेर प्रधान मन्त्री र उद्योग मन्त्रीका क्षेत्रका कार्यक्रमलाई ठुलो आकारमा बजेट छुट्याइएको छ ।
- कोशीको बजेट
कोशी प्रदेश सरकारकातर्फबाट आगामी आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट गत आइतबार प्रदेश सभामा पेस गरे । उक्त बजेट पेस गर्न प्रदेश सभामा पुग्दा मन्त्री मगरसँग उनका सहयोगी सञ्जयकुमार राईमात्रै थिए । मन्त्रालयका सचिव शङ्कर नेपाल मन्त्रीको साथमा थिएनन् ।
- कुलिङ पिरियड
संघीय निजामती विधेयकमा २ वर्ष ‘कुलिङ पिरियड’ राख्ने कि नराख्ने भन्नेमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अन्तिम समयमा आएर विभाजित देखिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विधेयकमा रहेको कुलिङ पिरियड हटाएर मात्र पास गर्नुपर्ने पक्षमा उभिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबिच बालुवाटारमा झन्डै चार घण्टा छलफल भएको छ । बुधबार अपराह्न चार बजेदेखि झन्डै ८ बजेसम्म शीर्ष नेताहरूबिच मुलत: सरकार सञ्चालन, संसद्को अवरोध र विधेयकहरूका बारेमा छलफल भएको हो ।
- दुई बुँदे सहमति
भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्ष र सत्तापक्षबिच भएको दुई बुँदे सहमतिलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरूले फरक फरक धारणा व्यक्त गरेका छन् । उक्त सहमतिलाई लिएर माओवादीले कच्चापन देखाएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको बचाउ गरेका छन् ।
- डेडिकेटेड र ट्रंकलाइन बक्यौता
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता पुनरवलोकन प्रक्रियामा आउन गरेको आग्रह अनुरूप ४६ उद्योगले निवेदन दिएका छन् । प्राधिकरणका अनुसार लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता पुनरवलोकन गर्न ४६ उद्योग तथा कम्पनीले निवेदन दिएका छन् ।
- कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा र सरुवा भएर पनि रमाना नलिई बसेका कर्मचारीलाई तीन दिनभित्र तोकिएको दरबन्दीमा हाजिर हुन दिएको निर्देशन कार्यान्वयनमा असफल देखिएको छ ।
- अदालत
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
जिल्ला अदालत काठमाडौँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
विद्युतीय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
- इरान इजरायल तनाव
मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडी प्रदर्शन गरेको छ । इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै बुधबार समाजले विरोध प्रदर्शन गरेको हो ।
- समाजवादी मोर्चा
समाजवादी मोर्चा गठन भएको बुधबार दुई वर्ष पुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको आधार तय गर्ने उद्देश्यका साथ २०८० साल असार ४ गते राजधानीको राष्ट्रियसभा गृहबाट मोर्चा घोषणा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
-
सार्वजनिक ऋणको हिस्सा जीडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान