मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश समाचार

उद्योगमन्त्री चौधरीको राजीनामाबारे मुख्यमन्त्री शाह भन्छन् – हामी छलफलमै छौँ

बिहीबार, ०५ असार २०८२, १९ : २२
बिहीबार, ०५ असार २०८२

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन निर्देशन गरेको कुरा अहिले प्रदेशमा चर्चाको विषय बनेको छ । 

मन्त्री चौधरीले खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेपछि ‘किन मलाई नसोधी गरेको’ भन्दै मुख्यमन्त्री शाहले राजीनामा टेलिफोनमार्फत राजीनामा मागेका थिए । 

मन्त्रीको राजीनामाबारे रातोपाटीले सुदूरपश्चिमका मुख्यमन्त्री शाहसँग सोधेको छ ।

कुनै वेला तपाईंलाई मुख्यमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टीले दिल खोलेर सहयोग गर्‍यो ? त्यतिवेलाका संसदीय दलका नेता रामेश्वर चौधरीसँग तपाई राजीनामा माग्दै हुनुहुन्छ । दबाब छ कि एकलौटीको निर्णय हो यो ? 

मलाई अहिले पनि नागरिक उन्मुक्ति र चौधरीले दिल खोलेरै सहयोग गर्नुभएको छ । 

खप्तड कोषको विषयमा मलाई नसोधी किन नियुक्त गरेको भनेर मुख्यमन्त्रीले राजीनामा दिनुहोस् भनी फोन गर्नुभयो भन्नुभयो नि उहाँले ? 

मैले त भनेको छैन । तपाईंलाई भनेँ ? भनिनँ नि । 

खासमा के हो ? यथार्थ कुरा भन्दिनुहोस् । बाहिर एक दुई दिन यता अलि चर्चा पनि भइरहेको छ नि त यो विषयमा ? 

हाम्रो अत्यन्त राम्रो सम्बन्ध छ । दाइ–भाइको सम्बन्ध छ । र नागरिक उन्मुक्तिले मलाई निरन्तर सहयोग गर्दै आएको छ । अहिले पनि सहयोग गरेको छ । अहिले पनि सरकारको गठबन्धनमै छ । 

बाहिर आएको हल्लाचाहिँ के हो त ? राजीनामा दिनुहोस् भनिसक्नुभएको छ ? 

बाहिर आएको हल्ला तपाईंहरूको बुझ्ने कुरा हो । हैन, बाहिर त कतिपय के हल्ला आउँछ, कस्तो आउँछ । त्यतापट्टि म गइनँ । हल्लाको पछाडि म दौडिन्नँ । र मैले जे कुरा तपाईंहरूको बिचमा राखें, हाम्रो राम्रो सम्बन्ध छ, सहयोग छ, गठबन्धन छ, उहाँहरू गठबन्धनमा हुनुहुन्छ । सरकारभन्दा बाहिर हुनुहुन्न । त्यसकारण यी सबै कुरा राम्रोसँग अगाडि बढेको छ । 

उहाँले त अब मुख्यमन्त्रीलाई बर्खास्त गर्ने अधिकार छ भन्नुभयो, म त जे भन्यो त्यही गर्न तयार छु भन्दै हुनुहुन्छ नि ? 

उहाँले के भन्नुभएको छ/छैन, त्यो कुरा मलाई थाहा भएन । मन्त्रिपरिषद्का कुनै पनि सदस्यलाई मुख्यमन्त्रीसँग काम गर्न कम्फर्टेबल भएन भने उहाँहरूले छोड्न सक्नुहुन्छ । मन्त्रीसँग काम गर्न मुख्यमन्त्रीलाई कम्फर्टेबल भएन भन्ने लाग्यो भने, मुख्यमन्त्रीसँग राइट छ ।

त्यसकारण कहिलेकाहीँ केही कुराहरू बहसका विषयहरू बन्छन्, छलफलका विषयहरू बन्छन् । र त्यो छलफलको विषयका सन्दर्भमा मैले उहाँको पार्टीसँग पनि कुरा गरेको छु । उहाँसँग पनि कुरा गरेको छु । र त्यसको अर्थ यो होइन कि, नागरिक उन्मुक्ति पार्टी अथवा अहिलेको गठबन्धबिच धेरै ठुलो अविश्वास बढ्यो अथवा रामेश्वरजी र मेरो बिचको सम्बन्ध बिग्रियो भन्ने होइन । एकदमै सौहार्दपूर्ण वातावरणमा आपसी विश्वासमा सबै कुराहरू अगाडि बढ्छ । 

अझै प्रस्ट जवाफ दिनुभएन । चौधरीलाई मन्त्रीबाट हटाउनुहुन्छ वा हुँदैन ? 

हामी संवाद, छलफलमै छौँ । त्यसैकै पेरिफेरिमा हामी कसरी अगाडि बढ्ने भन्नेमा छलफल चलिराखेको छ । 

यसअघि लक्ष्मणकिशोर चौधरीको अडियो बाहिर आयो, उहाँले राजीनामा दिनुभयो ? त्यसमा त तपाईंको नाम पनि मुछियो । तपाईंकै सत्ता पक्षका सांसदले मुख्यमन्त्रीमाथि पनि छानबिन गर्नुपर्छ भने नि ? 

छानबिनको प्रक्रिया अगाडि बढेको छ । त्यो प्रक्रियामा छ । त्यो अडियो सार्वजनिक भइसकेपछि तत्तत् निकायहरूले छानबिन गर्छन् । उहाँहरूले आफ्नो प्रक्रिया अगाडि बढाउनुभएको छ । त्यो प्रक्रियाबारे सहयोग गर्ने सन्दर्भमा सिंगो हाउस पनि बोलिसकेको छ । सदनमा हामीले त्यो कुराहरू राखिसकेका छौँ । त्यसकारण मैले धेरै टीकाटिप्पणी गर्न पनि राम्रो हुँदैन । एउटा समझदारी र सहमतिमा सदन अगाडि बढेको छ । बजेट पनि प्रस्तुत भएको छ । त्यसैले त्यो कुरालाई त्यही रूपमा तपाईंहरूले बुझिदिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप