इरान–इजरायल युद्धमा रुस किन मूकदर्शक ?
सारांश
- इजरायल र इरानबीचको द्वन्द्व बढ्दै गएको छ, इजरायलले इरानमाथि हमला गरेपछि युद्धको स्थिति सिर्जना भएको छ।
- इजरायल र इरान सिधा लडाइँमा उत्रिएका छन्, तर यसले युक्रेन द्वन्द्वको हदसम्मको अवस्था सिर्जना नगरेको बताइएको छ।
- यस द्वन्द्वले इजरायलका प्रधानमन्त्री नेतान्याहुको राजनीतिक भविष्य र अमेरिकी राष्ट्रपति ट्रम्पको सम्भावित नीतिका साथै रुसको भू-राजनीतिक स्वार्थलाई पनि प्रभावित गर्ने देखिन्छ।
मध्यपूर्व धेरै समयदेखि अशान्त छ । सशस्त्र सङ्घर्षहरू अनवरत चलिरहेका छन्, तर पछिल्लो परिस्थिति भने अलिक गम्भीर र भिन्न छ । हिजोसम्म ‘प्रोक्सी’हरू वा आन्दोलनकारीहरूसँग जुधिरहेको इजरायल अहिले सिधा लडाइँमा आइपुगेको छ । अहिले इजरायल र इरान सिधा लड्न थालेका छन् ।
इरान–इजरायलको भूराजनीतिक प्रतिद्वन्द्वीमात्रै नभएर भविष्यको सम्भावित आणविक शक्ति राष्ट्र पनि भएको सन्दर्भमा पक्कै पनि यो सामान्य लडाइँ होइन ।
साँच्चै भन्ने हो भने इजरायल र इरानको लडाइँ गत जुन १३ बाट सुरु भएको होइन । गत सालको अप्रिलमा पनि उनीहरूले एक–अर्कोलाई लक्षित गरेर आक्रमण गरेका थिए । त्योभन्दा दशकौँ पहिलेदेखि नै उनीहरू ‘छद्म युद्ध’ लडिरहेका थिए । यस्ता युद्ध खुफिया गतिविधिहरूमा, साइबर आक्रमणमा वा आफ्ना क्षेत्रीय सहयोगीमार्फत लडिरहेका थिए । अहिले इजरायलले सुरु गरेको हमलासँगै द्वन्द्व खुला युद्धमा परिणत भएको छ ।
यस अघिका आपसी आक्रमण प्रायः साङ्केतिक हुने गर्थे, तर यस पटक भने रणनैतिक पूर्वाधार, महत्त्वपूर्ण निर्णय हुने केन्द्रहरू तथा सहर नै निसानामा पारिएका छन् । हानाहानको स्वरूप एकदमै भडकाउ देखिन्छ । प्रत्येक प्रहारमा युद्धको पारो अझै तात्दै गएको देखिन्छ ।
यो युद्ध अझै युक्रेन द्वन्द्वको हदसम्म भने पुगेको छैन । इरान र इजरायल सीमा जोडिएका देश होइनन् । त्यसैले स्थल आक्रमणको सम्भावना तत्काल देखिँदैन । हवाई युद्ध तथा टाढैबाट लामो दुरीका क्षेप्यास्त्र हानाहान देखिएको छ । जसले पहिले आफ्नो सैन्य तथा राजनीतिक क्षमता गुमाउँछ, उसैले हार्ने देखिन्छ । यहाँ हारजितको विषय सिमानासँग भन्दा पनि सहनशक्ति तथा रणनैतिक धैर्यतामा निर्भर हुने देखिन्छ ।
अहिले युद्ध अलिक फरक छ । इरान हिज्बुल्लाह होइन । पहिलो दिन अर्थात् जुन १३ मा गरिएको हमलाले तेहरान हल्लिएको हुन सक्छ तर ढलेको छैन ।
जो पहिले टुट्छ, उसैको भविष्य अन्योलमा पर्ने देखिन्छ । इरान मध्यपूर्वको सबैभन्दा धेरै क्षेप्यास्त्र भएको मुलुक हो भने इजरायलसँग पश्चिमको अटुट सहयोग छ । बेन्जामिन नेतान्याहुलाई निरन्तर इरानमाथि दबाब सिर्जना गर्न सकेको अवस्थामा भित्री र बाहिरी तनाव खेप्न नसकेर उनले भन्ने गरेको ‘आयातुल्लाह शासन’ ढल्छ भन्ने लागेको छ ।
तर, नेतान्याहुको आफ्नै राजनीतिको जमिन धेरै कमजोर छ । उनको सरकार विभिन्न काण्ड तथा आन्तरिक असन्तुष्टिबाट गुज्रिरहेको छ । अहिलेको लडाइँ लामो समयसम्म अनिर्णीत रूपमा जान थाल्यो भने त्यसले नेतान्याहुकै सरकारको अस्तित्व खतरामा पारिदिन्छ ।
इजरायलले हिज्बुल्लाह विरुद्धको आक्रमणजस्तै छोटो समयको चुस्त र निर्णायक अभियान खोजेको हो । हिज्बुल्लाह विरुद्ध इजरायलले हवाई दबदबा तथा चुस्त आक्रमणले उक्त समूहलाई घुँडा टेकाउन सफल भएको थियो । इजरायली अधिकारीहरूको वक्तव्य हेर्ने हो भने उनीहरू दुई हप्ताभित्र इरानको आक्रामक क्षमता समाप्त पार्न चाहन्छन् भन्ने देखिन्छ ।
तर, अहिले युद्ध अलिक फरक छ । इरान हिज्बुल्लाह होइन । पहिलो दिन अर्थात् जुन १३ मा गरिएको हमलाले तेहरान हल्लिएको हुन सक्छ तर ढलेको छैन । इरानसँग बलियो सैन्य संगठन तथा सैन्य हातहतियार छ । इजरायलको तुलनामा भूगोल तथा जनसंख्या दुवैमा इरान धेरै गुणा ठुलो छ । अर्थात् इरानले धेरै आक्रमण थेग्न सक्छ । इजरायलले आफैँ युद्धको सुरुवात गरेर इरानलाई युद्धको विकल्प नभएको अवस्थामा पुर्याएको छ ।
इजरायलले सोचेजस्तो तत्काल विजयको सम्भावना छैन भन्ने त अहिलेसम्म प्रस्ट भइसकेको छ । युद्ध लम्बिँदै गयो भने उल्टै नेतान्याहुले घरेलु तथा बाह्य राजनीति दुवैतिर धक्का बेहोर्ने सम्भावना बढ्दै जान्छ । मेरो विचारमा अब त्यसको सम्भावना बढ्दै छ ।
त्यसो हुँदा नेतान्याहुले मात्रै गुमाउने छैनन् । आफ्नो निर्वाचन अभियानताका अन्तहीन युद्धहरू रोक्ने तथा ग्याँसको मूल्य घटाउँछु भनेर बाचा गरेका डोनाल्ड ट्रम्प पनि अप्ठ्यारोमा पर्न सक्छन् । यसै पनि उनले आफ्नो ‘अमेरिका महान्’ अर्थात् ‘मागा’ भनिने आन्दोलनमा धक्का बेहोर्न थालेका छन् ।
यसैबिच मस्कोले घटनाक्रमहरू चनाखो भएर नियालिरहेको छ । तेलमा हुने मूल्य वृद्धिले रुसलाई आर्थिक रूपमा फाइदा गराउँछ ।
उनले एकतर्फी इजरायललाई गर्ने गरेको खुला समर्थनले उनको आधारमा नकारात्मक प्रभाव पार्न थालिसकेको छ । उनका समर्थकहरू अमेरिकालाई फेरि अर्को वैदेशिक द्वन्द्वमा धकेलेकोमा असन्तुष्टि जनाउन थालेका छन् । ट्रम्पले पनि पूर्वराष्ट्रपति जो बाइडेन जस्तै द्विविधा सामना गर्दैछन् ।
रिपब्लिकन पार्टीमा गहिरो जरा गाडेको तथा उनको भित्री घेरामा पहुँच राख्ने इजरायल–लबीको स्वार्थको समर्थन गर्ने कि सन् २०२६ को निर्वाचन परिणाम उल्ट्याउन सक्ने उनका मतदाताको कुरा सुन्ने ? यदि यो प्रश्नमा उनले इजरायल छान्ने हो भने परिणाम भोग्न पनि तयार हुनुपर्ने हुन्छ ।
ट्रम्पले अमेरिकीहरूलाई सस्तो मूल्यमा ग्याँस उपलब्ध गराउने बाचा गरेका छन् । उनले मध्यपूर्वको सङ्कट हल गर्ने प्रतिबद्धता पनि गरेका छन् । यदि इजरायलको आक्रमणको बदलामा इरानले आफ्नो आणविक कार्यक्रम अघि बढायो भने ट्रम्पको इरान नीतिको अन्त्येष्टि हुन पुग्छ । सन् २०१८ बाट सुरु भएको आणविक सम्झौता पनि सकिन्छ ।
यसैबिच मस्कोले घटनाक्रमहरू चनाखो भएर नियालिरहेको छ । तेलमा हुने मूल्य वृद्धिले रुसलाई आर्थिक रूपमा फाइदा गराउँछ । योभन्दा पनि महत्त्वपूर्ण कुरा त इरान र इजरायलबिच ठुलो लडाइँ हुन थाल्यो भने अमेरिकाले युक्रेनबाट आफ्नो ध्यान र प्राथमिकता अन्यत्र मोड्नुपर्ने हुन्छ । इरान रुसको रणनैतिक साझेदार पनि हो । अहिलेका लागि इरान युद्धमा रहनु रुसको हितमा हुन पनि सक्छ ।
रुसले के–कति गर्न सक्छ वा गर्छ भन्ने प्रश्न भने बाँकी नै रहन्छ । युक्रेन युद्धले रुसको धेरैजसो सैन्य तथा औद्योगिक क्षमता खपत गरिरहेको छ । रुस युक्रेनसँगको युद्धमा अल्झिएको छ । साथै इरान र रुसबिच भर्खरै हस्ताक्षर भएको रणनैतिक साझेदारी सम्झौता अनुसार पनि रुसले इरानलाई सैन्य सहयोग अनिवार्य दिलाउनु पर्छ भन्ने छैन ।
त्यसको अर्थ उनीहरूले आक्रमणकारी शक्तिलाई भने सघाउने छैनन् भन्नेचाहिँ पक्कै हुन्छ । त्यसैले अहिले रुसका लागि उत्तम विकल्प भनेको किनारामा रहने नै हो । रुसले कूटनीतिक सहायता गर्न सक्छ । बयानबाजीहरूमा इरानको पक्ष लिन सक्छ । साथै इरानले रुसको समर्थनलाई अतिरञ्जित नगरोस् भन्ने ख्याल गरेर गतिविधि गर्न सक्छ ।
अहिले उल्लेखनीय कुरा के छ भने इजरायलको सुरुवाती हमलाबाट इरान छिट्टै ब्युँतिएर उठिसकेको छ । अब इजरायलको हवाई हमलाको रणनीतिसँग जुध्ने, सूचना संयन्त्रमा सक्रिय गतिविधि चलाउने तथा प्रभावकारी रूपमा फौजी जबाफ फर्काउने गर्न सक्छ कि सक्दैन भन्ने कुराले युद्धको अर्को चरण कस्तो हुन्छ भन्ने तय गर्नेछ ।
हामी इजरायलले राखेको दुई हप्ताको अवधिभित्रै युद्धको मोड के हुन्छ भन्ने प्रस्ट थाहा पाउँछौँ । यदि त्यो समय सीमामा निर्णायक नतिजा आएन भने इरान होइन, नेतान्याहु विकल्पहीन भएर बाहिरिन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण