राँकेभूतको लीला
सारांश
- गाउँमा बन्दुकको आवाजसँगै लेखकलाई अपहरण गरिन्छ र अज्ञात स्थानमा लगिन्छ।
- लेखकलाई अज्ञात व्यक्तिहरूले जनअदालतमा उभ्याउने धम्की दिन्छन्, तर पछि छाडेर भाग्छन्।
- पछि, प्रहरीले बेपत्ता पारिएका व्यक्तिको खोजी गर्दा एक जनाको शव फेला पार्छ।
- लेखकको जीवन र गाउँको परिवर्तनको कथा प्रस्तुत गरिएको छ।
गाउँमा बन्दुकको साइरन बज्यो— ड्याङ, ड्याङ, ड्याङ... ।
आवाज साम्य नहुँदै दुई जनाले मलाई चर्यापचुरुप समातेर ओरालो झारे । दिनभरिको थकाइले खोजिरहेको ओछ्यान छुट्यो । मनमा विरह भरियो । निस्पट्ट औँसीको रातमा यसरी घिच्याएर कहाँ पुर्याउने हुन् ? न केही भन्न पाएँ, न बोल्ने छुट नै भयो । अलि तल पुगेर आँखा च्यातेर नियालेँ, सात–आठ जनाको डफ्फा रै’छ । म एकसरो लुगा र चप्पलमै घिसारिइरहेँ । ठूलो चिन्नेको रुखनिर पुग्दा मलाई पच्छ्याउँदै भोटे आइरहेको देखेँ ।
एउटाले भोटेतिर बन्दुक ताक्यो । ऊ बन्दुकै निलुँलाझैँ गरी चिच्यायो । तुरुन्तै बन्दुक भुइँतिर घोप्टियो । म भयभीत र अवाक् थिएँ । उनीहरूले बिनाकारण यसरी किन घिसारे ? हुन त यो प्रश्न र कारणहरूको लाशमाथि टेकेर खुट्किलो उक्लिएको समय थियो । अचेल गाउँभरि परिवर्तनले छप्काएका मुर्कट्टा प्रश्नहरू मात्र भेटिन्थे । जताततै मौनता र सन्नाटा मात्र थियो ।
अघि गोधूलि ओढेर उकालिएकी सुनमायाले धन्न, ‘यादो ओ पातेँ’ ( जाऊ है माइला) कसरी भन्न सकी ? ऊ पातको धुनमा ‘सालैजो’ गाउँदै लेकतिर उकालिएकी थिई । डाँडाको टुप्पामा पुगेर सुइँय्य सिठी फुकी र रोदी आउन निम्तो दिएसरि पातलो पछ्यौरी हल्लाएकी थिई । हुन सक्छ, भोलिदेखि उसले मलाई कहिल्यै भेट्ने छैन ।
कुलो पानी लाग्ने यो भेगका अधिकांश खोला–खेत र टारहरूमा पन्ध्र असारसम्म रोपाइँ सकिइसकेको हुन्छ । बेँसीका केही फाँटमा असारको पुछार र साउनसम्मै हलगोरु नारिन्थे । दिउँसो हुँदो त्यतातिर हली–बाउसे र रोपारका गलामा असारे भाका बजिरहन्थ्यो :
असारमा खानी दुधिला मकै, साउनमा खानी खिर
दुई दिने चोला, माटोमै होला के लाई पो लिनु पीर ...
बर्खेझरी र रोपाइँसँगै गाउँमा भित्रभित्रै अरू धेरै कुरा रोपिँदै थिए । समयको लहरामा बम, गोली र बारुदका चिचिला छिप्पिँदै थिए । खुकुरीका धार चम्किँदै थिए ।
उनीहरू ठूलो चिन्नेको रुखनिर पुगेर सतर्क भए ।
मैले हिजोका सुदिन सम्झेँ— अन्तरस्वाँरा, बाङ्खे, राम्चे होस् वा सपाउँदे गाउँको रमझम । उहिल्यैदेखि यहाँको रोदीघरले मौलिक जीवनको मर्म बोकेर पर्म लाएको छ । गुरुङ गाउँ, रोदीमा बज्ने मादल, मुर्चुङा र चाँपमा रयाले, रानीस्वाँरा र माझकोटको गरिमा थियो; सप्तरङी फूलको सग्लो मालाझैँ । गुरुङहरूको बाहुल्य रहेको यो भेगमा सह–अस्तित्व थियो । हिउँद होस् वा बर्खा किराले आरती नगाउँदै मादलको पाक्कुम गुमऽ गुम पाक्कुम गुमऽ सुरु हुन्थ्यो । जुठे भोर्लेबाट पोखरी डाँडा झथ्र्यो । अनि ऊ पाक्कुम गुमको सङ्केत दिन्थ्यो—
‘ओ ङोल्स्यो मै छिट्टो खो । कोम ङेसरी रोधी टिउरी बेल्ले रमाइलो लपृम जम्मै ङोलो–ङोल्स्यो प्रे ताई मारि !’
(ए सोल्टिनीहरू छिटो आऊ । रोदी बसेर बेस्सरी रमाइलो गरम । सप्पैलाई निम्तो छ है ।)
चौढुङ्को पाखोमा निस्केर पुन्टे मुरली फुक्थ्यो, तिरिरीरिरीऽऽऽ ।
पल्लो डाँडाबाट सुनमयाहरू गला माज्दै तेर्सिन्थे—
पिपलुको बरै छेवैमा बसेर,
नाच दाजी बरै कम्मरै कसेर !
अघि गोधूलि ओढेर उकालिएकी सुनमायाले धन्न, ‘यादो ओ पातेँ’ ( जाऊ है माइला) कसरी भन्न सकी ? ऊ पातको धुनमा ‘सालैजो’ गाउँदै लेकतिर उकालिएकी थिई । डाँडाको टुप्पामा पुगेर सुइँय्य सिठी फुकी र रोदी आउन निम्तो दिएसरि पातलो पछ्यौरी हल्लाएकी थिई ।
तिन्टा खोल्साबाट हुर्रिएर बेँसीमा मिसिएका खहरेझैँ हामी एकै ठाउँमा मिसिन्थ्यौँ, चौढुङ्को पाखोमा । त्यो हामी भेटिने सङ्गम थियो, फर्केर छुट्टिने ठाउँ पनि । लाग्थ्यो, स्वर्ग कहीँ छ भने त्यो यहीँ छ । यसरी नै रोदीमा आउँदा–जाँदा सुनमयासँग मेरो दिल बसेको थियो । ऊ मलाई कोर्के आँखा लाउँदै गाउँथी— लेकालीले बुनेको डोको, एउटा मया लाउनलाई छ धोको... ।
रात रातभर प्रेम र विरहका गीतमा डुबिन्थ्यो । बिहान हातैले छुँलाजस्तै गरी माछापुच्छ«े गाला जोड्न आउँथ्यो । माछापुच्छ«ेमा घाम नखस्दै हामी आ–आफ्ना काममा जुट्थ्यौँ । ती दिन डुब्दो घामसँगै डुबे । प्रलयको असिना–पानीले गाउँको गरिमा र भावना भत्किँदै गयो । रोदीघर पुरानो भयो । चाँपको छमछम र झ्याउरेमा कम्मर भाँचेका दिन करिब–करिब सक्किए । पल्टन हिँडेको लाहुरे भञ्ज्याङबाट सधैँका लागि ओझेल परेझैँ ती क्षण फेरि फर्केनन् । कति कुरा त स्मृतिमा रिमरिम मात्र बसेका छन् ।
सुनमया दिनहुँजसो मसँग गुनासिन्छे, पातेँ, चुरी नासर बे सुख शान्ति खनी यायी ... ।
(माइला यो गाउ“को सुख शान्ति कता हरायो ।)
कहिले त ऊ एक्लै बात मार्छे— यो गामको सुख र मिल्ती कोलाई आँखी भको हो कुन्नि ? मिलेर सुख–दुःख साट्न पनि अरूले अराउन पर्नी ! वडाध्यक्षले ठिक पार्छ अरे । अझै हामीलाई क्रान्तिको गीत गाऊ भन्छ, मुर्दारहारू !
मिर्दीखोलो बगिरहेछ । त्यो तल तल हुँदै मसिनो धर्को भएर सामदीमा मिसिन्छ । सामदी बिरुवा खोलामा मिसिएर ज्याग्दीतिर ओरालिन्छ । गाउँको विगत र यहाँको रौनक त्यसरी नै नफर्किने गरी ठेगान लाइसक्यो । कति सम्झिनु ? जति सम्झ्यो, उति हृदयमा पहिरो जान्छ ।
अँध्यारोमा आँखा पारितिर सोझिन्छन् । उता च्यान (चिहान) डाँडो कुहिरोको टोपी र पातलो हुस्सुको दौरामा चट्ट ठाँटिएजस्तो देखिन्थ्यो । रात चुकझैँ घोप्टिएको थियो । तल मिर्दीखोलो उर्लिरहेको थियो । यो खोलो र वन–जङलमा पनि कहिले हुर्हुरी आगो बल्ने हो, के थाहा ?
...
सिमसिम पानी पर्न थाल्यो । झ्याउँकिरीले सुर मिलाइमिलाई किरिरीऽऽ गाइरहेका थिए । मेरा आँखाका कोसमा भने आँसु भरिएको थियो । उनीहरूले अहिलेसम्म केही बोलेकै थिएनन् तर मेरा कानमा एकोहोरो शङ्ख बजिरहेको थियो । लाग्यो, मभित्रको भयको ढिस्को भत्किएर झरीसँगै मिर्दी खोलामा मिसिए हुनी ।
दिउँसो हली–बाउसे र रोपारसँग ठट्टा गर्दैमा समय घर्केको पत्तो हुन्थेन । जुवामा नारिएका माले–चम्रे गोरुको पुछर निमोटेर खोप मच्चाउँदा सबै दुःख बिर्सिइन्थ्यो । आज दिउसोको हाँसो–ठट्टा ओछ्यानसम्म पुग्नै पाएन । थकाइले ओछ्यान च्याउनै पाएन ।
मनमा हुटहुटी मच्चियो— चरोझैँ भुरुरु उडेर च्यानडाँडा पुगुँ । जुनकिरीको उज्यालोमा हावाले बजाएको मादलको तालमा काला बादलसँगै झ्याउरे नाचुँ । पुरिँदै गएका जोर मादल र बाँसुरीका धुनहरू उधिनेर निकालुँ । मलाई अग्घोरै मनपर्नी सुनमयाका खुट्टामा बज्ने चाँपको छमछमको रन्को कल्पेर विरक्त लाग्यो । तत्कालै म थर्थरी कामेँ— भीरबाट गुल्टिँदा रुखको कापमा अड्किएर सास फेरिरहेछुजस्तै भयो ।
छेवैमा टुसुक्क बसेर भोटे भ्वाङ–भ्वाङ भुक्न थाल्यो । एउटाले फेरि उसलाई बन्दुक ताक्यो । अहिले भने ऊ मेरो खुट्टातिर लुटपुटिन आयो । कति वर्षदेखि यही विचरो त छ; हाम्रो घरको पहरेदार । ऊ कहिल्यै निमेक माग्दैन । उसलाई खुसीमा पुच्छर हल्लाउन पाए पुग्यो । ऊ कुइँकुइँ गर्दै मसँगै टाँसिइरह्यो । मेरो रक्षा गर्न आएको ऊ । उसको रक्षा कसले गर्ने ? म नर, ऊ पुच्छरधारी ! विपत्तिमा ऊ मेरो सिपाही ! मैले भोटेलाई दुई हातले च्याप्प समातेँ । यसले मेरा दुवै खुट्टामा एक–एकपटक चाट्यो । अब त यो पनि मसँगै खरानी हुने होला ! मेरो मलामी ऊ, उसको मलामी म । यस्तो पनि दिन आउने रै’छ !
मेरो मनमा फेरि सुनमयासँग हाँसे खेलेका क्षण र गीतका फाँकीमा मन साटेका झिल्का बले– आज रोदी, विरो‘धी’ भयो । मादल बजाउने औदेँ र आँच्योँ खुकुरी उध्याउन हिँडे ।
चकमन्न रातमा अँधेरोको साम्राज्य थियो, दुई डाँडाबाट सोहोरिएको अँधेरो नजिकै घोप्टिएझैँ । खुर्सुन्डाँडातिर भुकेका कुकुरका भ्वाङ–भ्याङ प्रस्ट सुनिन्थे । मिर्दीखोलाको स्वाऽऽऽ भ्यागुताको ट्वार–ट्वार किराको एकोहोरो किरिरीऽऽ र पारिवनबाट घरीघरी सुनिने बाघको घ्वारघ्वारमा रात घोलिएको थियो ।
हातको लाइट बाल्दै र निभाउँदै उनीहरू खल्गरातिर झरे । एउटाले भैँसी डोर्याएझैँ मलाई डोर्याएकै थियो । दिउँसो मात्र रोपिएका धानका गाबा आलै थिए । खल्गराको आलो आली टेक्दै डफ्फा चेउटेढुङामा पुग्यो । चेउटेढुङो तल्तिर झाँक्रीथान छ । झाँक्रीथानतिर थुतुनो फर्काएर भोटेले भ्वाङ गर्यो । मैले सुस्तरी टाउकामा प्याट्ट हिर्काएँ । सायद उसले भन्दै थियो, ‘यहाँभन्दा तल नजाम ।’ त्यो ढुङो यमानको छ, आकाश जत्रै । त्यै भएर लेकाली गुरुङहरू यसलाई आकाशे ढुङो भन्छन् ।
ढुङो छेवैमा घामपानी ओतिने स्यानो छाप्रो थियो— खेतीपाती लाउन र स्याहार्न झर्ने लेकालीको ओत । दिउँसो हुँदो केरमन र टेउवीर छाप्रोमा पस्थे । अनि, थकाइ पट्याएर सिरानी हाल्थे । दिनको तेस्रो प्रहरतिर ज्ञाना ठूल्बा अक्सर छाप्रोमै उङिरन्थे । उनी पेन्सनर लाहुरे; रोपाइँका दिन एक जुवा घाम छँदै पल्टने शैलीमा उर्दी गर्थे, ‘लो केटा हो तिमारू हल फुकाऊ । रोपारहरू मेलो छोट्याऊ । मो ता आजोलाई काम सक्यो ।’
मलाई घिसार्दै उनीहरू यही छाप्रोभित्र छिरे । त्यहाँ हली–बाउसे र रोपारलाई उर्दी गर्ने ज्ञाना ठूल्बा थिएनन्; न कोही उङ्दै थियो । अहिले, मेरो भोटे कान्छो र केही सोधपुछै नगरी मलाई घिसार्नेहरू थिए । छेवैको धुर्सेलीका पातमा सिमसिम पानीको स्यारयार सुनिन्थ्यो । पातमा भरिएको पानी भुइँमा झर्दा आउने तप्प–तप्पको आवाजले जिरिङ¬–जिरिङ हुन्थ्यो । च्यानडाँडो अँधेरो ओढेर सुतेको थियो । डाँडाबाट त...ल झरेर सेतो कुहिरो मिर्दीखोलामा पुल बनेको थियो । जुनकिरीका बत्ती ‘तँ भन्दा म के कम’ भन्दै रातलाई हाँक दिँदै थिए, रात लसक¬–लसक लस्किरहेको भान हुन्थ्यो ।
मेरो मनमा फेरि सुनमयासँग हाँसे खेलेका क्षण र गीतका फाँकीमा मन साटेका झिल्का बले– आज रोदी, विरो‘धी’ भयो । मादल बजाउने औदेँ र आँच्योँ खुकुरी उध्याउन हिँडे । शिरफूल लाएर घाँटु नाँच्ने पेमा, निच्यो र मनमया बन्दुकको सङ्गीतमा नाच्न पुगे । उनीहरू उर्दी गर्दै हिँड्छन् अरे, ‘वडाध्यक्षलाई ठिक पार्नुपर्छ ।’
मलाई घिसार्नेहरू पनि ठीक पार्नेमध्येकै होलान् । यतिञ्जेल मुखमा बिर्को लाएकाहरूले बिर्को खोल्न थाले ।
एउटाले हुकार्यो, ‘यो गाउँका चार–पाँच जनालाई जनअदालतमा उभ्याउनु छ । पुरानो सत्ताको तर चाट्ने शोषकहरूको हिसाबकिताब गर्नु छ ।’
सुनेर टाउको भननन रिँगायो; मलाई यो आवाज यतातिरका मान्छेको लागेन । यी कतै दूर दिशाबाट यता ल्याएर घस्याइएका लाग्थे । यी पारिका हुन् कि घारीका ! यिनले मेरो भोलिको बिहान उदाउन दिन्छन्, दिन्नन् के थाहा ? यसरी मैले मनको हाँगामा चमेरोझैँ झुन्डिएर सास फेरिरहेँ ।
उनीहरूले अझै मलाई केही सोधेका थिएनन् । बन्दुकहरू उधोमुन्टो सुतेका थिए । बन्दुकधारीले कोडभाषामा योजना बुनेको लख काट्न सकिन्थ्यो । यत्तिकैमा मेरा आँखा मिर्दी खोलाको किनारतिर ओर्लिए । त्यहाँ एउटा अमुक छाया सलबलाएको देखियो । कालो रातमा त्यो ‘लाइट’ बालेर खोलातिर बढ्दै थियो । उसको शरीरको रूपरङ नदेखिए पनि त्यो मानवछाया भन्नेमा ठोकुवा गर्न सकिन्थ्यो । छायाको क्रिया चटकेको चटकजस्तो लाग्थ्यो । लाइट बालेर माथि र तल गथ्र्यो । घरी उत्तेजित हुँदै उफ्रिन्थ्यो । अनुमान गर्न सकिन्थ्यो, ऊ ठेटरको जोकर हो । त्यो छाया कुर्कुच्चासम्मको पतलुङ सरक्कमाथि सारेर खोलो तर्न रौसिएजस्तो लाग्यो ।
मसँगै टाँसिएर भोटे कुइँकुइँ गर्दै थियो ।
अकाशमा काला, खैरा र छिटपुट सेता बादल देखिन्थे । तिनले छिनछिनमा ह्वार्रह्वार्र पानी झारिरन्थे । लाइटले चटक देखाउन थालेपछि छायाले खोलो तरिसकेको भेउ पाउन सकिन्थ्यो । पारिपट्टि ‘लाइट’ अझ छिटोछिटो झिलिकमिलिक–झिलिकमिलिक गर्न थाल्यो । अरू पनि छाया थपिँदै थिए; त्यहाँ बल्दै गरेका किस्ताकिस्ता लाइटका झिल्काले यसको आभास दिन्थ्यो । लाइटको एकमुठी उज्यालो ठेटरमा जस्तै झललल बल्थ्यो त घरी झ्याप्प निभ्थ्यो । बिस्तारै आगोको मुश्लो जस्तो उज्यालो खुर्सुन्डाँडातिर तेर्सियो ।
खेतै–खेतको बीच हुँदै खुर्सुन्डाँडातिर तेर्सिएको गोरेटो कडुसघारी छेउको बरबोटे चौपारीमा जोडिन्छ । त्यहाँबाट कडुसघारीको वन छिचोलेर खुर्सुन्डाँडा पुगिन्छ । त्यो लाइटको उज्यालो घरी निभ्दै त घरी बल्दै चौपारीनिर पुगेको मैले अनुमान लाएँ । चौपारीमा के हुँदैछ– त्यो थाहा पाउन मेरा आँखा दूरवीनझैँ चनाखा थिए तर त्यहाँको इन्द्रजाल के बुझ्नु !
यता कोडभाषीहरू सुतेका बन्दुक उठाएर समातिरहेका थिए । मेरो मनले लख काट्यो; खोलाको किनारमा जम्मा भएर त्यता हिँडेका ती व्यवस्था साटफेर गर्ने राँकेभूत हुन् । तिनैमध्येको एउटा हुलले यता मेरो आयुमा कैँची चलाइरहेको छ ।
...
सिमसिमे पानीले चिसो बढाउँदै थियो । यसबाट अनुमान लाउन सकिन्थ्यो – रात दोस्रो प्रहरतिर ढल्किँदै छ । एक्कासि बरबोटे चौपारीमा आगोको राँको जस्तो उज्यालो बल्यो । त्यो यता र उता गर्न थाल्यो । खेतका गरा–गरा हुँदै केही थान उज्यालो तल खोलासम्म ओर्लेको सङ्केत पनि देखियो । यी चर्तिकलाहरू हेरिरहँदा मलाई पक्का भयो– त्यो राँकेभूतको पल्टनले आज कुनै जिउँदो मान्छेलाई कर्याप्पै पार्यो ।
चौपारीमा बलिरहने आगोको मुश्लो देखेरै होला, मेरो भोटे पनि छिनछिनमा भ्वाङ–भ्वाङ गरिरहन्थ्यो । उसको भ्वाङ सुन्ने बित्तिकै बन्दुकेहरूले कोडभाषा फट्कार्दै उतिर बन्दुक ताक्थे । मैले उसलाई टाउकोमा प्याट्ट हिर्काएर चुप बस्न अह्राउँथेँ । ऊ लाडिँदै मेरो काखीमुनि घुर्सिन्थ्यो । उसले सङ्केत गरिरहेको थियो– अब घर जाम । यो सङ्केतले मलाई रोदीघरमा च्यानबहादुर र यामबहादुरले बजाएको जोर मादलको धुन सम्झायो ।
त्यो धुनले भन्थ्यो –
अब त जाम कान्छी घर
भाले बास्यो, डाँडैमा घाम लायो ।
रात च्यानडाँडाको टुप्पातिर पुग्दै थिए कि ! शायद, मेरो पनि आयु छोटिँदै थियो ।
वरिपरि जुनकिरीले आफ्ना पुच्छरका बत्ती पिलपिल बालिरहेकै थिए । किराहरूको किरीरी, बर्खेभेलको स्वाँ... र भ्यागुताको एकोहोरो ट्वारट्वार बजिरहेको थियो । माथि बाङ्खे र खुर्सुन्डाँडातिर एकोहोरो कुकुरहरू भुकिरहेका थिए । भोटेले पनि तिनै रातिका सङ्गीतमा बेलाबेला आफ्नो राग मिसाइरहेको थियो । म भने प्यादाहरूको घेराभित्र अरिमुठेझैँ गुजुल्टिएको थिएँ ।
बरबोटे चौपारीमा बलेको आगोको राँको एकाएक झ्याप्प निभ्यो । मैले लख काटेँ; त्यो शून्यतामा भूतहरू नाचिरहेका छन् वा कोही जिउँदो मान्छेलाई पातालतिर घिसारिँदैछ । कि, तिनीहरू आजको खेतीपाती सिध्याएर सुत्ने तरखरमा छन् ! ठेटरको चम्किलो लाइटजस्तै अचानक चौपारीमा उज्यालो बल्यो । मैले त्यहाँ थुप्रै आकृति मिसिएर चर्को स्वरमा कल्याङ्मल्याङ् गरेको अनुमान गरेँ । त्यो कल्याङमल्याङ खोलामा मिसिएर माथिसम्म आउँदा निःशब्द भइसक्थ्यो ।
खोलाको सुसाइमा मौनता थपिएजस्तो भयो । खोलामा उर्लिएको सेतो तरङ र पानीमा लडिबुडी खेल्दै माजिँदै आएका ढुङाको चमक कताकति देखिन्थ्यो । अपसोच ! त्यहाँ एक्कासि कर्णकटु आवाजमा ड्याङ–ड्याङऽऽ बन्दुक पड्केको सुनियो । सुनेर भोटे पनि दुई–तीनपटक भ्वाङ–भ्याङ गर्यो । कोडभाषीहरूले मुठी आकाशतिर उचाले । मेरो शरीर थरर्र काम्यो । अनुहारभरि पसिनाको जरुवा पलायो ।
बा–आमा, भाइ–बैनी सम्झेँ । आमाले झैँ स्नेहको रापमा सेकाउने दिदीहरूको ममता कल्पिएँ । मनकामना माईलाई भाकेँ । भयाँर, देवी, देउराली जति सबैलाई मनैले फूलपाती चढाएँ । अबको बन्दुक मेरै कन्चटमा पड्किँदै थियो । ‘लौ मेरा दिन आजैसम्म रै’छन्’ भन्दै लामो सास फेरेँ । मैले आँखा चिम्म गरिरहेँ । उनीहरूले कोडभाषामा इसारा दिँदै बन्दुक उठाउँदै थिए । बन्दुकमा ताँदो चढाउँदै थिए तर अझैसम्म पड्किसकेको थिएन ।
...
च्यानडाँडो बिहान कोरल्न ओथारो बसेको आभास भयो । म अझैसम्म त जिउँदै थिएँ । हातखुट्टा, टाउको जस्ताको तस्तै थिए । अब भने मनमा सुस्तरी आशाको कुखुरो बास्न थाल्यो– मार्दैनन् कि ! मैले झुल्किँदो बिहान कुर्दै कुक्रुकिइरहेँ । झरी रोकिएको थियो । बिस्तारै च्यानडाँडाबाट उज्यालोका किरण फैलिन थाले । ती किरण बाक्लिँदै गए । मेरा आँखा बरबोटे चौपारीबाट हटेकै थिएनन् ।
उनीहरू छाप्रोबाट बाहिर निस्केर ओरालो झरे । मनकामना माईलाई भोग दिन मन्साएको बोकोजस्तै म पनि घिसारिएँ । भोटेले पच्छ्याउन छोडेन । उनीहरूले जति पटक बन्दुक ताके पनि भोटेले मलाई छोड्दै छोडेन । झाँक्रीथान पुग्दा मन ढुक्क भयो– यही बेला वनझाँक्रीले तिनलाई ओढारतिर मुन्ट्याए हुने तर त्यसो किन हुन्थ्यो र !
बन्दुकेहरू खेतका आली टेक्दै छिटछिटो ओरालो झरे । हामफाल्दै वीरमन्टारी पुगे । भर्खरै रोपेको रोपो कुच्दै बेँसीतिर ओरालिए । खेतको हिलोमा गाडिएर भक्कु–चप्पलको तनो चुँड्यो । त्यो दाहिने हातले समातेर म ओरालिइरहेँ । बेँसी पुग्दा छ्याङ उजेलो भयो । स्याँस्याँ गरिरहेको भोटे मेरो छेउमै थियो ।
पानीले घोटेर चम्काएका ढुङामा टेक्दै मिर्दी खोलो तरियो । उनीहरूले मलाई बरबोटे चौपारीतिर डोर्याएपछि बल्ल मनमा रहस्यको चिसो पस्यो । यहीबीचमा कोडभाषीहरूले के–के बोले बुझिएन । तिनका अनुहारमा भयको कालो बादल मडारिएको प्रस्ट देखिन्थ्यो । तब मलाई घेरा हाल्न चट्टै छोडेर उनीहरू ठूलो वनतिर सोझिए । आखिर जीवनको जय र मृत्युको भय जल्लादलाई पनि हुँदो हो !
जीवन र मृत्युको जुधाइमा म बाँचेँ । शायद मनकामना माईले रक्षा गरिन् । कि वनझाक्रीले तिनलाई धपाए । मलाई छोडेर भागेकाहरू क्षणभरमै अदृश्य भए । मलाई भने अब बारबोटे चौपारीतिरै तेर्सिन मन लायो, राँकेभूतका चर्तिकलाको रहस्य जान्न । मेरा पाइला सुङ्दै भोटेले पनि पच्छ्याउँदै थियो । टाढैबाट देखियो– त्यहाँ मान्छेको भीड रै’छ, थुप्रै सशस्त्र पुलिस र केही सर्वसाधारण ।
एक जना पुलिस वाकीटकीमा बोल्दै थिए । उनको बोली चौपारीको माथिसम्मै सुनियो, ‘हो साप ! आतङ्ककारीले बिहान तीन बजेतिर गोली हानेछन् ।’ मेरो मनमा भररर काँडा उम्रे, कसलाई कसले गोली हानेछ ?
केही दिनअघि पण्डितनी बजै ‘सातादिनदेखि पण्डित बेपत्ता छन्’ भन्दै धरधरी रुँदै आएकी थिइन् । पूजापाठमै लीन भइरहने, कसैलाई नमीठो नबोल्ने बेदनिधी पण्डित बा एक्कासि हराउनु रहस्य भयो । एक साताभित्र भेउबहादुर, मनवीर, मायादत्तसहित अरू चार–पाँच जना पनि बेपत्ता थिए ।
मलाई खसखसले उखुम पार्यो । नजिक जाने कुरै भएन । माथिदेखि नै पुलिसले घेरा हालेका थिए । चामलका बियाँजस्तै खुर्सुन्डाँडाका दुई–चार थान भलादमीहरू पुलिससँगै उभिएका थिए । मेरो अनुहार हेरेर भोटेले डरलाग्दो गरी ङ्वार्र गर्यो । म लुकेर चौपारीभन्दा अलि माथि चिलाउनेको रुखनिर पुगेर चोरले झैँ च्याएँ– अचम्म ! त्यहाँ एउटा मान्छे जमिनमा आधा गाडिएको देखियो । उसको देब्रे हात भुइँतिर तुर्लुङिएको । टाउकाको टोपीले अनुहार ढाकिएको, घाँटीमा मसिनो डोरी बेरिएको । त्यो दृश्य च्यानडाँडामा उभ्याइएको चिहानको मूर्तिजस्तै देखिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण