शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थकित मनलाई शक्तिदायक दही–चिउरा

आइतबार, १५ असार २०८२, ०८ : २३
आइतबार, १५ असार २०८२

असार महिना अर्थात मानो खाएर मुरी उब्जाउने महिना  मानिने असारको मध्य दिनका रूपमा हरेक वर्षको असार १५ गते धान दिवसका रूपमा मनाइने गरेको छ। 

यो दिन खेतमा असारे रोपाई गरी दही चिउरा खाएर मनाउने परम्परागत परम्परा रहेको छ। असार १५ को रोपाइँको चटारोले थकित हुने गर्दछ। त्यो थकानमा शक्ति प्राप्तिका लागि दही चिउरा खाने नेपालीहरूको परम्परागत परम्परा नै हो। असारे रोपाइँको बेला दही चिउराले शरीरमा शीतलता प्रदान गरेर शक्ति सञ्चय गर्न र गराउने गरिन्छ भन्ने सामाजिक विश्वास रहेको छ। जुन स्वास्थ्यको दृष्टिकोणले पनि अति उपयुक्त मानिन्छ।

असार १५ गतेलाई धान दिवसको अलावा नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेकाहरूले पनि असार १५ गते दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो नेपाली हिन्दु संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यबर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको हो। जसको कारण असार १५ गते दही चिउरा खाने नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।

यसै दिन धान दिवसको रूपमा विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनताको पेसा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपुछुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । जुन परम्परा र संस्कृत रूपमा विकास भैसकेको छ। 

असार १५ मनाइरहँदा हामीले गम्भीर भएर  किसान अधिकार सुनिश्चित गर्ने तथा रासायनिक मल, बिउ,किटनाशक औषधी तथा कृषि प्रविधि लगायतका  किसानका तात्कालिक समस्या समाधानका साथै अनुदानको राम्रो व्यवस्था होस् ।

संस्कृतिको संरक्षण गर्दै सिर्जनाको महिना असारमा सृजनशील बन्न दही–चिउराले सबैमा शक्ति प्रदान गरोस् । असार पन्ध्र एवं धान दिवस सृजनशील बनोस्, सम्पूर्णमा  हार्दिक  शुभकामना । जय किसान ! जय  असार  पन्ध्र !

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तिवारी खुसी डेरी उद्योगका सञ्चालक समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव तिवारी
ध्रुव तिवारी
लेखकबाट थप