बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सांसद घर्तीको चुनौती– ईसीडीमा पुरुषलाई राखौँ, कति दिन टिक्छन् ?

आइतबार, १५ असार २०८२, १४ : ५७
आइतबार, १५ असार २०८२

सारांश

  • एमाले सांसद ईश्वरी घर्तीले बाल विकास शिक्षकमा पुरुषलाई मात्रै नियुक्त गरेर पढाउन चुनौती दिइन्।
  • उनले बाल विकास शिक्षकलाई सहजकर्ताको रूपमा परिभाषित गर्दा विभेद भएको बताइन् र सेवा सुविधामा कन्जुस्याइँ नगर्न आग्रह गरिन्।
  • घर्तीले बाल विकास केन्द्रलाई शिशु स्याहार केन्द्रको रूपमा मात्र बुझ्ने गरिएकोमा आपत्ति जनाइन् र शैक्षिक जग बसाल्ने कामको महत्त्वबारे प्रकाश पारिन्।

काठमाडौँ । नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीले प्रारम्भिक बाल विकास (ईसीडी) पुरुषलाई मात्रै भर्ना गरेर पढाउन चुनौती दिएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले बाल विकास शिक्षकको रूपमा पुरुषलाई मात्रै नियुक्त गरेर पढाउन चुनौती दिएकी हुन् । विद्यालय शिक्षा विधेयकमा बाल विकास शिक्षकलाई बाल विकास सहजकर्ताको रूपमा परिभाषित गरेको छ । 

विधेयकले ईसीडीदेखि कक्षा ८ सम्म आधारभूत तहसम्मको शिक्षा मानेको छ । तर, त्यहाँ कार्यरत बाल विकास शिक्षकहरूलाई शिक्षकको मान्यता नदिई बाल विकास सहजकर्ताको रूपमा परिभाषित गरेको छ । उक्त विषयमा आपत्ति जनाउँदै घर्तीले बाल विकास शिक्षकहरूलाई सहजकर्ताको रूपमा मात्रै परिभाषित गर्नु विभेदपूर्ण भएको बताइन् ।

बाल विकासमा कार्यरत ९० प्रतिशतभन्दा बढी महिला भएको उल्लेख गर्दै पुरुषलाई त्यो जिम्मेवारी दिएर हेर्न चुनौती दिइन ।  ‘त्यहाँ पुरुषहरूलाई मात्रै भर्ना गरेर हेरौँ त एकचोटि, ती कतिसम्म टिक्छन् ? त्यहाँ टिक्नै सक्दैनन्,’ घर्तीले भनिन्, ‘काम लगाउँदा सबै जिम्मेवारी दिने, तर सेवा–सुविधा र परिभाषा दिने बेलामा सरकारले कन्जुस्याइँ गर्नुभएन ।’ 

बाल विकास केन्द्रलाई शिक्षाको पहिलो खुड्किलोको रूपमा नभई ‘शिशु स्याहार केन्द्र’ को रूपमा मात्र बुझिएको भन्दै आपत्ति जनाइन् ।  ‘अहिलेसम्मको छलफल सुन्दा हामीले प्रारम्भिक बाल विकास केन्द्रलाई शिशु स्याहार केन्द्रको रूपमा बुझेको जस्तो लाग्यो,’ उनले भनिन्, ‘उनीहरूलाई सहयोगी कार्यकर्ता वा सहजकर्ता भन्ने हो भने उनीहरूले गरिरहेको कामको अवमूल्यन हुन्छ ।’

बाल विकास सहजकर्ताले बालबालिकाको दिसापिसाब सोहोर्नेदेखि उनीहरूलाई फकाएर सुताउने सम्मका काम गर्ने तर त्यसभन्दा महत्त्वपूर्ण उनीहरूलाई अक्षर चिनाउने र लेख्न सिकाउने जस्तो शैक्षिक जग बसाल्ने काम गरेको उनले स्मरण गरिन् । 

‘कम्तीमा उनीहरूले ईसीडी पार गरेर कक्षा १ मा जाँदा क, ख र अङ्कहरू लेख्न सिकेरै गएका छन् नि । त्यो पढाउने, लेखाउने र पढ्न सक्ने बनाउने काम कसले गर्‍यो ?’ उनले प्रश्न गरिन् । 

प्रारम्भिक बाल विकासलाई अस्थायी ‘कार्यक्रम’ को रूपमा नभई आधारभूत र माध्यमिक तहजस्तै शिक्षाको स्थायी ‘तह’ को रूपमा परिभाषित गर्नुपर्ने बताइन् । एउटा बाल विकास सहजकर्ताले कति बालबालिका हेर्ने भन्ने कुनै मापदण्ड नभएको भन्दै हजारौँ विद्यार्थी भएको विद्यालयमा एकै जनाले २००–३०० बालबालिका हेर्नुपर्ने अव्यवहारिक अवस्था रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप