असार १५ : धान दिवस कि स्वाङ दिवस ?
नेपालको कृषि परम्परामा असार १५ लाई राष्ट्रिय धान दिवस भनेर चिनिन्छ । यो दिन नेपालको कृषि संस्कृति र धानसँग गाँसिएको जीवनशैलीलाई सम्झिने र सम्मान गर्ने अवसर हो भन्ने भनाइ पाइन्छ तर हरेक वर्ष असार १५ गतेका दिन राजनीतिक दलका नेता, फिल्मका अभिनेता, कलाकार, सञ्चारकर्मी तथा सरकारी अधिकारी क्यामेराका अगाडि हिलोमा टेक्दै फोटो खिचाउने, सञ्चारमाध्यम चिउरादही र हिलोको रङ्गीन रिपोर्टिङ गर्ने, अनि त्यो दिन सकिएर जाने क्रम दोहोरिन्छ । यसले प्रश्न उठाउँछ, के यो साँच्चै किसानको पर्व हो ? कि केवल सरकारी, सहरी र सञ्चारमाध्यमीय ‘इभेन्ट’मा सीमित रहन पुगेको एक ‘रुटिन ड्रामा’ मात्र ?
असार १५ को ऐतिहासिक पृष्ठभूमि हेर्दा यो समय नेपाली किसानका लागि रोपाइँको चरम व्यस्तता भएको महिनाको सन्दर्भ दिन हो । यो समय विशेष गरी मानसुनको आगमनसँग मेल खाने हुँदा धान रोपाइँको उपयुक्त अवसर हुन्छ । नेपाली समाजमा धानलाई केवल अन्न नभई संस्कृतिको केन्द्रका रूपमा लिइन्छ । चिउरा–दही खानु, हिलोमा रमाइलो गर्नु, गीत गाउनु र सामूहिक श्रम गर्नुजस्ता परम्पराले यो दिनलाई रमाइलो बनाएका छन् ।
राज्यले औपचारिक रूपमा असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गर्न थालेको भने २०६१ सालबाट मात्र हो । कृषि मन्त्रालयद्वारा यो दिवसलाई औपचारिकता दिइएको भए पनि त्यो घोषणाले किसानको पीडा सम्बोधन गर्न सकेको छैन । मूल उद्देश्यहरूमा धान उत्पादनमा वृद्धि, कृषकको सम्मान, कृषिमा युवाको आकर्षण र अन्न सुरक्षाको सन्देश दिने भनिए पनि व्यवहारमा यस्ता लक्ष्य शुद्ध औपचारिकताको पर्दाभित्र हराएका छन् । देशैभर आयोजना हुने कथित कार्यक्रम; त्यसका पोस्टर, नाचगान र हिलो खेल्ने महोत्सवले राज्य र जनताबिचको दूरीलाई अझ फराकिलो बनाएको छ ।
सञ्चारमाध्यममा धान दिवसलाई प्रस्तुत गरिने शैली झनै चिन्ताजनक छ । सहरका युवतीहरू, सरकारी अधिकारीहरू र टिका लगाएका पाहुनाहरू हिलोमा फोटो खिचाउँदै हाँसिरहेका देखिन्छन् । त्यो दृश्यभित्र असली किसानको पीडा, अभाव र संघर्षको चित्रण दुर्लभ छ । राजधानीमा पत्रकारिताको उत्सव चलेको हुन्छ तर बाँके, सप्तरी, रोल्पा, सल्यान, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, जुम्ला लगायत देशैभरका किसान मल नपाएर, बिउ नपाएर, सिँचाइ नभएर खेत बाँझो राखेर बस्न बाध्य छन् । पर्वको मुखुण्डो लगाइएको यस दृश्यमा किसानको आवाज हराएको छ ।
सञ्चारमाध्यममा धान दिवसलाई प्रस्तुत गरिने शैली झनै चिन्ताजनक छ । सहरका युवतीहरू, सरकारी अधिकारीहरू र टिका लगाएका पाहुनाहरू हिलोमा फोटो खिचाउँदै हाँसिरहेका देखिन्छन् । त्यो दृश्यभित्र असली किसानको पीडा, अभाव र संघर्षको चित्रण दुर्लभ छ ।
प्रश्न उठ्छ, साँचो किसानले के यो दिन कुनै महत्त्व पाउँछ ? कि यो दिन उसले पनि बाँझो खेततिर हेरेर मल खोजिरहेको हुन्छ ? ऊ बैंकको ऋणमा डुबेको, गाउँका विद्यालयमा छोराछोरी पठाएर खल्ती रित्तिएको अवस्था भोगिरहेको हुन्छ । ऊ असार १५ मा हिलोमा रमाउनुको साटो हिलोमा घुटुक्क रोएको हुन्छ ।
धान नेपालको अर्थतन्त्रको मेरुदण्ड हो भन्ने भनाइ पुरानो हो । कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा ओगट्ने भनिए पनि बर्सेनि चामलको आयात बढ्दो छ । विडम्बना, धान दिवसकै दिन बंगलादेश वा भारतबाट चामल आयात गरिएको समाचार आउँछ । जब किसान मल र बिउ खोज्दै सरकारी कार्यालयमा घण्टौँ लाइनमा उभिन्छन्, त्यही बेला कृषि मन्त्रालयको कार्यक्रम हलमा ‘धान दिवस’को विशिष्ट अतिथिले भाषण गर्दै गरेका तस्बिर बाहिरिन्छन् ।
धानको मूल्य समर्थन नीति मात्र कागजी छ, किसानले उत्पादन गर्दा पाएको मूल्य बजारमा उपभोक्ताले तिर्ने मूल्यभन्दा आधा पाउँछ । सरकारको अनुदान प्रणालीमा व्यापक भ्रष्टाचार, दलालको चलखेल र प्रभावशाली बिचौलियाको नियन्त्रणले साँचो कृषकको जीवन झन् कठिन बनाएको छ ।
असार १५ को यो पर्व वर्गीय अन्तर्विरोधको ऐना पनि बनेको छ— एकातिर ‘हिलो खेल्ने’ अवसरप्राप्त मध्यम वर्गीय सहरी जनता अर्कातिर ‘हिलो जोत्ने’ श्रमिक वर्गीय किसान । रमाइलो, इभेन्ट र उत्सव एक वर्गका लागि पर्यटन र सामाजिक सञ्जालको विषय बन्न पुग्छ, अर्का वर्गका लागि त्यो दिन पनि भोक, थकाइ र सास्तीको निरन्तरता मात्र हुन्छ ।
मौसम परिवर्तन र जलवायु संकटले समेत असार १५ को भावनात्मकता र व्यवहारमा असर पारेको छ । असारमा पर्याप्त वर्षा नहुनाले रोपाइँ समयमै हुन सक्दैन । कतिपय ठाउँमा असारमा पानी नपरेर खेत सुक्खा रहन्छ, अनि साउनमा बाढी आउने, ढल्ने, बाली सड्ने घटना बढेका छन् । सिँचाइ प्रणालीको विफलता र सरकारी तयारीको अभावले किसानको आशामा घात पुर्याएको छ ।
युवा पुस्ताको खेतीप्रतिको विमुखता र उदासीनता अर्को गम्भीर चिन्ता हो । वैदेशिक रोजगारले गाउँका खेत खाली छन् । शिक्षित युवामा खेती गर्ने वातावरण छैन । कृषि शिक्षाको व्यवस्था कलेजमा सीमित छ, व्यवहारमा छैन । कृषि विश्वविद्यालयहरूमा ग्राजुयट उत्पादन भइरहेका छन् तर तिनीहरू निजी कार्यालयमा काम खोजिरहेका छन्, खेतमा होइन ।
साना किसान अझै पनि सहकारी र अनुदानमा आश्रित छन् तर ती सहकारी धेरैजसो गोजीमुखी बनिसकेका छन् । साँचो सहकारीको मोडल र कृषि बिमा प्रणालीलाई व्यावहारिक बनाउन सकिएको छैन । बिउ अनुदानको घोषणा हुन्छ तर वितरणमा राजनीति, भ्रष्टाचार र ढिलाइको समस्या हाबी छ । यस्तो प्रणालीमा किसानलाई बिउ होइन झनै निश्चित बर्बादीको प्रत्याभूति हुन्छ ।
समाजको जातीय, भाषिक र भौगोलिक विविधताले धानखेतीको स्वरूपलाई पनि फरक पार्छ । थारु, मधेसी, मगर, गुरुङ, लिम्बु लगायत समुदायको कृषि परम्परा, धानसँगको सम्बन्ध र खेतीको शैली विशिष्ट छ । नीतिगत तहमा ती विविधता प्रायः बेवास्ता गरिन्छ । महिला श्रमिक किसानको योगदान सधैँ छायामा रहन्छ । परम्परागत भूमिकाबाट उनीहरूको नेतृत्वका सवाल अझै ओझेलमा छन् ।
असार १५ लाई साँचो अर्थमा राष्ट्रिय धान दिवस बनाउन अब संरचनात्मक रूपान्तरण आवश्यक छ । यो केवल इभेन्ट होइन किसान र कृषिको सम्मानको पर्व हुनुपर्छ ।
कार्यक्रमलाई एकदिने बनाउने होइन कृषक सप्ताहको अवधारणामा विस्तार गर्नुपर्छ । मल, बिउ, सिँचाइको ग्यारेन्टी; स्वदेशी बिउ प्रवर्द्धन; चामल आयातमा नियन्त्रण; कृषि बिमा र प्रत्यक्ष कृषकलाई अनुदानको व्यवस्था गर्नुपर्छ ।
युवालाई कृषि प्रविधिमा आधारित स्वरोजगार प्रणालीमा आकर्षित गर्नुपर्छ । कृषि कलेज, तालिम केन्द्र र सहकारीहरूको एकीकरणमार्फत कृषि पेसालाई व्यवसायीकरण गर्नुपर्छ । यस्तो हो भने मात्रै असार १५ किसानको मनमा फूलझैँ फुल्नेछ । नत्र यो हरेक वर्ष सरकारी स्वाङ, मिडिया रमाइलो र किसानको आत्मिक शोकको दिन बनिरहनेछ ।
धान दिवस हिलोमा रमाउने होइन माटोको सम्मान गर्ने दिन हो । त्यहाँ केवल रोपाइँ होइन कृषकको पीडासँग ऐक्यबद्धता र कृषि नीतिसँग प्रतिबद्धता हुनुपर्छ । नेपालका खेतहरू बाँझा रहनु भनेको राज्यको नियति बाँझो हुनु हो । त्यसैले असार १५ साँचो अर्थमा सार्थक बन्न अब खेततिर फर्कनुपर्ने बेला आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण