बागमतीको पर्यटन प्रवर्द्धन नीति संरचना निर्माणमै केन्द्रित
सारांश
- बागमती प्रदेश सरकारले पर्यटन प्रवर्द्धनमा प्रभावकारी नीति बनाउन नसकेको गुनासो छ।
- प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि छुट्टै मन्त्रालय बनाए पनि पूर्वाधार विकासमै जोड दिएको देखिन्छ।
- सरकारले पर्यटन प्रवर्द्धनका लागि डिजिटल पहुँच र मार्केटिङमा ध्यान दिन नसकेको आरोप छ।
मकवानपुर । बागमती प्रदेश सरकारको पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी नीति अवलम्बन गर्न नसकेको सरोकारवाला बताउँछन् । प्रदेश सरकार स्थापनाको ८ वर्षको अवधिसम्म पर्यटन प्रवर्द्धनका नाममा पूर्वाधार विकासमै सीमित देखिएको उनीहरूको भनाइ छ ।
प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि अनिवार्य रहेका विविध सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदाको विकास र विस्तारमा काम गर्न सकेको देखिँदैन । दिगो र उत्तरदायी पर्यटन, पर्यावरणीय संरक्षण, स्थानीय संस्कृति र समुदायको सम्मान, दीर्घकालीन सोचमा आधारित प्रवर्द्धन, बजारमुखी रणनीति, साहसिक, धार्मिक, सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा प्रदेश सरकारले खासै ध्यान दिएको छैन ।
प्रदेशको पर्यटकीय विशेषता उजागर गर्ने स्पष्ट र फरक उत्पादनको ब्रान्डिङ, विश्वस्तरीय नारा, लोगो, र कन्सिस्टेन्ट सन्देश विकास गर्न प्रदेश सरकारले नसकेको सरोकारवाला बताउँछन् । सरकारका वेबसाइट पनि पर्यटनमैत्री बन्न सकेका छैनन् भने प्रचार प्रसारका लागि तयार गरिएका सामाजिक सञ्जाल, मोबाइल एप्स पनि प्रभावकारी देखिएका छैनन् ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको वेबसाइटमा कर्मचारी विवरण र केही औपचारिक जानकारीबाहेक प्रदेशभित्रका पर्यटकीय क्षेत्र, सांस्कृतिक महत्त्वका क्षेत्र र विशेषता लगायतबारे कुनै जानकारी समावेश गरिएको छैन । सूचना तथा प्रविधिको यो युगमा आन्तरिक तथा बाह्य पर्यटकहरू सरकारी निकायका वेबसाइटमा उपलब्ध जानकारीका आधारमा घुम्ने योजना बनाउने गर्दछन् । व्यावसायिक हितलाई केन्द्रमा राखेर निजी क्षेत्रले उपलब्ध गराउने जानकारीका तुलनामा सरकारी निकायबाट उपलब्ध जानकारीमा मानिसको विश्वास बढी हुने जानकार बताउँछन् ।
सूचना प्रविधिको यो युगमा पर्यटकहरू सामाजिक सञ्जाल, वेबसाइटका लागि विद्युतीय माध्यमबाट होटल तथा बस–हवाई टिकट बुकिङ गर्दछन् । तर बागमती सरकारले पर्यटन प्रवर्द्धनका लागि डिजिटल पहुँच विस्तार तथा मार्केटिङमा ध्यान दिन नसकेको सरोकारवालाको भनाइ छ । होमस्टे, ग्रामीण पर्यटन लगायतमा स्थानीय नागरिकको प्रत्यक्ष संलग्नताका विषय प्रदेश सरकारको प्राथमिकतामा खासै परेको छैन ।
बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि २०७८ मै छुट्टै मन्त्रालय गठन गरेर काम गर्दै आएको छ । भागबण्डाका लागि मन्त्रालय विभाजन गरी सङ्ख्या बढाइएको आरोप सुरुदेखि नै लाग्दै आएको थियो ।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी नयाँ वेबसाइट निर्माण भइरहेको र डाटा इन्ट्रीको काम भएपछि सबै कुरा व्यवस्थित हुने जानकारी दिन्छन् ।
प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि २ पटक प्रदेश भ्रमण तथा घुमफिर वर्ष घोषणा गरे पनि नतिजा प्रभावकारी बन्न सकेको थिएन । २०७७ मा प्रदेश सरकारले पहिलो पटक बागमती घुमफिर वर्ष घोषणा गरेको थियो भने २०८० मा बागमती भ्रमण वर्ष घोषणा गरेको थियो । तर, लक्ष्य अनुसार काम गर्न नसक्दा सरकारका दुवै कार्यक्रम प्रभावविहीन बनेको थियो ।
बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि २०७८ मै छुट्टै मन्त्रालय गठन गरेर काम गर्दै आएको छ । भागबण्डाका लागि मन्त्रालय विभाजन गरी सङ्ख्या बढाइएको आरोप सुरुदेखि नै लाग्दै आएको थियो । २०७८ कात्तिकदेखि बागमती सरकारले संस्कृति तथा पर्यटन मन्त्रालय खडा गरी संस्कृति र पर्यटनको क्षेत्रमा काम गर्दै आएको हो ।
बागमती सरकारले तत्कालीन समयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेर २०७४ देखि पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्दै आएको थियो । २०७८ सम्ममा यो मन्त्रालयको जिम्मेवारी ३ जना मन्त्रीले सम्हालेका थिए । संस्कृति तथा पर्यटन मन्त्रालय गठन भइ हालसम्म ५ जना मन्त्रीले जिम्मेवारी पाइसकेका छन् ।
मन्त्रालयका सचिव सुवेदीका अनुसार प्रत्यायोजित अधिकारका आधारमा मन्त्रालयले हाल क्षेत्रीय पर्यटन, भाषा, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका काम गर्दै आएको छ । पर्यटन विकास, भाषा, लिपि, धर्म, संस्कृति, ललितकला, पुरातत्व सम्पदाको संरक्षण तथा प्रवर्द्धन र गुठीसम्बन्धी कामकाजका लागि नीति, कानुन र मापदण्ड निर्माण तथा कार्यान्वयन गर्ने मन्त्रालयको प्रमुख दायित्व रहेको उनको भनाइ छ ।
मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि तामाङ र नेपाल भाषामा अध्ययन गरिरहेका विद्यार्थीलाई शोध सहयोग, प्रदेश भाषा दिवस, प्रादेशिक साहित्यिक महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरेको सचिव सुवेदीले बताए ।
मन्त्रालयको प्रमुख जिम्मेवारी पूरा गर्न प्रदेश पर्यटन ऐन २०७८, धार्मिक तथा सांस्कृतिक संस्थालाई अनुदान कार्यविधि २०८१, सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्च कार्यविधि २०८१, पूर्वाधार निर्माण योजना कार्यान्वयन कार्यविधि २०८१, स्रष्टा सम्मान कार्यविधि २०८१, स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई शोध कार्यमा सहयोग कार्यविधि २०८१ निर्माण गरी कार्यान्वयनमा ल्याएको सचिव सुवेदीले जानकारी दिए ।
मन्त्रालयको प्रमुख उपलब्धिका रूपमा प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०८० निर्माण र कार्यान्वयनलाई लिइएको छ । मन्त्रालयले नयाँ पर्यटन गन्तव्य पहिचान, ब्रान्डिङ र गुरुयोजना निर्माणमा अनुसन्धानलाई प्राथमिकतामा राखेको सचिव सुवेदीले दाबी गरे । उनका अनुसार झरना तथा जलाधार क्षेत्रमा पर्यटन सम्भाव्यता अध्ययन, डोल्मा खाङ हिमाल (सिन्धुपाल्चोक) मा आरोहण मार्ग अन्वेषण, दलित तथा लोपोन्मुख जातजातिको संस्कृति अभिलेखीकरण, रैथाने खानाको अध्ययन, पेटेन्ट दर्ता तथा संरक्षण कार्य भइरहेको छ ।
संस्कृति संरक्षणका लागि मन्त्रालयले विविध कार्यक्रम सञ्चालन गर्दै आएको सचिव सुवेदीले बताए । विभिन्न जातजातिका स्थानीय र रैथाने खानाको सांस्कृतिक महोत्सव, लोपोन्मुख नृत्य, बाजा, संगीतको अभिलेखीकरण तथा प्रवर्द्धन, श्रष्टा सम्मान कार्यक्रम, चलचित्र, नाटक, गायन, नृत्य र बाध्ययन्त्रकलाका कलाकारहरूको सम्मान, मूर्त तथा अमूर्त कलाको संरक्षण तथा प्रवर्द्धन, मातृभाषा तथा संस्कृत भाषाको संरक्षण तथा साहित्य प्रवर्द्धनमा मन्त्रालयले विशेष ध्यान दिएको उनको भनाइ छ ।
मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि तामाङ र नेपाल भाषामा अध्ययन गरिरहेका विद्यार्थीलाई शोध सहयोग, प्रदेश भाषा दिवस, प्रादेशिक साहित्यिक महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरेको सचिव सुवेदीले बताए ।
‘पर्यटन सूचना केन्द्रको स्थापना तथा प्रविधि उपयोग, पदमार्गहरूमा संकेत चिह्न स्थापन, होम–स्टे सञ्चालकहरूलाई तालिम दिने काम भएको छ । वैदिक/पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएका गन्तव्यमा पर्यटन प्रवर्द्धन गर्ने लयमा मन्त्रालय छ,’ उनले भने, ‘केबलकार, एम्युजमेन्ट पार्क, मनोरञ्जनात्मक स्थलको इजाजत तथा नियमन, पर्यटन मार्ग घोषणा तथा गन्तव्य परिचयात्मक कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।’
सचिव सुवेदीका अनुसार मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासका लागि २ वटा कार्यालय मार्फत काम गरिरहेको छ । पूर्वाधार विकासका लागि पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँबाट काम भइरहेको उनले बताए । सो बाहेक पर्यटन कार्यालय काठमाडौँले पर्यटन प्रवर्द्धन र होटल व्यवसाय दर्ता नवीकरण तथा अन्य सेवामूलक काम गरिरहेको उनको भनाइ छ । पर्यटकको सहजताका लागि चितवनको सौराहा र काठमाडौँको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरी काम गर्दै आएको उनले बताए ।
‘मन्त्रालयले प्याराडाइज बागमती एप निर्माण अन्तिम चरणमा पुर्याएको छ । एपमा सूचना तथा जानकारी प्रविष्ट गर्ने काम भइरहेको छ । टुरिजम बागमती वेबसाइट निर्माणको काम पनि जारी छ । जसमा पर्यटकीय गन्तव्यको जानकारीका विषय समावेश गरिने जनाइएको छ । ‘चालु आर्थिक वर्षको अन्त्यमा मन्त्रालयले गरेका कामको सङ्ग्रह तयार गर्छौं र व्यवस्थित रूपमा उपभोगको वातावरण गर्छौं,’ सचिव सुवेदीले भने ।
मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि चितवनमा डिजिटल बोर्डसहितको पर्यटन सूचना केन्द्र स्थापना गरेको र ठमेलमा आगामी साता स्थापना गर्ने तयारीमा रहेको उनले बताए ।
पर्यटन प्रवर्द्धनका लागि गन्तव्यको रुट तथा महत्त्व, स्रोत–साधन, प्राकृतिक वातावरणको जानकारीसमेत दिने गरी ट्राभल बुक निर्माण भइरहेको सचिव सुवेदीको भनाइ छ । मन्त्रालयले गन्तव्य परिचय, लाङटाङ म्याराथन, साहसिक पर्यटनका लागि र्याफ्टिङ, साइक्लिङका कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ऐतिहासिक महत्त्वका गढीहरूको श्रव्यदृश्य सामग्री निर्माण गरी डकुमेन्टेशनको काम भइरहेको उनले बताए ।
- पर्यटन पूर्वाधार विकासमा २ अर्ब खर्च, भ्यूटावर निर्माणमै जोड
प्रदेश सरकारले हालसम्मभ ७ वटा आर्थिक वर्षको बजेट कार्यान्वयन गर्दा २ वटा कार्यालयबाट २ अर्बभन्दा बढी रकम पूर्वाधार विकासमा खर्च गरेको छ । मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र इकाई कार्यालय काठमाडौँले २ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ खर्च गरेर पर्यटन पूर्वाधार तथा विभिन्न संरचना निर्माण गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी अशेष खड्काका अनुसार संरचना निर्माणमा २ कार्यालयबाट उक्त रकम खर्च भएको हो । हेटौँडास्थित कार्यालयबाट २ अर्ब ३२ करोड १२ लाख र काठमाडौँबाट १७ करोड ७४ लाख रुपैयाँ खर्च भएको उनले बताए ।
पर्यटन विकास आयोजना हेटौँडाबाट भएको पूर्वाधार विकासको खर्च

पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँबाट भएको खर्च

मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि हालसम्म १० वटा भ्यू टावर निर्माण गरेको छ । पर्यटन विकास आयोजना हेटौँडाबाट उक्त भ्यू टावर तथा हिल स्टेसन निर्माण भएको हो । जस अनुसार चिम्टेश्वर मल्टीप्रपोज हल तथा भ्यू टावर नुवाकोट, तोप्लाङ भ्यू टावर धादिङ, खाँडादेवी भ्यूटावर तथा सिंढीसहितको रेलिङ सिन्धुली, जिरी हिल स्टेसन तथा भ्यू टावर दोलखा, सिद्धबाबा भ्यू टावर सिन्धुली, ककनी हिल स्टेसन तथा भ्यू टावर नुवाकोट, चित्लाङ हिल स्टेसन तथा भ्यू टावर मकवानपुर, शिवालय हिल स्टेसन तथा भ्यू टावर रामेछाप, काभ्रे रोशीचुली भ्यू टावर काभ्रे र मुडे हिल स्टेसन तथा भ्यू टावर सिन्धुपाल्चोक हुन् ।
ती संरचना सञ्चालनको चरणमा पुगिसकेको जानकारी दिँदै मन्त्रालयले छिटै नै सञ्चालनको विधि तयार गरेर अघि बढ्ने जानकारी दिएको छ ।
मन्त्रालय मार्फत पर्यटन प्रवर्द्धनका लागि विभिन्न धार्मिक क्षेत्रका मन्दिर तथा गुम्बा निर्माणको कामसमेत भएको छ । हेटौँडास्थित कार्यालयबाट हालसम्म ६५४ वटा संरचना निर्माण गरिएको छ भने काठमाडौँबाट पनि सोही अनुपातमा संरचना निर्माण गरिएको सूचना अधिकारी खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण