बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘नेपाल–यूके डिजिटल वर्किङ ग्रुप’ गठन

शनिबार, २१ असार २०८२, २१ : १९
शनिबार, २१ असार २०८२

सारांश

  • लन्डनमा सम्पन्न नेपाल-युके टेक फोरम २०२५ ले डिजिटल वर्किङ ग्रुप गठन गर्ने घोषणा गरेको छ।
  • फोरममा नेपाललाई आइटी हबको रूपमा प्रस्तुत गर्दै लगानी, निर्यात र प्रविधि सम्बन्धमा छलफल भयो।
  • नेपाल र बेलायतका राजदूतहरू, लगानीकर्ता र विज्ञहरूले सूचना प्रविधिमा लगानी र सहकार्यको सम्भावनाबारे छलफल गरे।

लण्डन । लण्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न उच्चस्तरीय सम्मेलन ‘नेपाल-युके टेक फोरम २०२५’ का निष्कर्ष अनुगमन गर्न ‘नेपाल–यूके डिजिटल वर्किङ ग्रुप’ गठन गर्ने घोषणा गरिएको छ । 

उक्त ग्रुपमा बेलायत नेपाल दुवै देशका दूतावास, सरकारी निकाय, प्राविधिक विज्ञ र सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहनेछ । सो समूहले सम्मेलनमा भएका छलफलहरूको प्रगतिबारे निरन्तर अनुगमन गर्नुका साथै आगामी दिनमा महत्त्वपूर्ण काम गर्ने विश्वास गरिएको छ ।

डिजिटल व्यापार र लगानी प्रवर्द्धन साथै द्विपक्षीय प्रविधि सम्बन्ध मजबुत पार्ने उद्देश्यले आयोजित 'नेपाल-युके टेक फोरम २०२५' मा नेपाललाई एक प्रमुख आइटी हबको रूपमा प्रस्तुत गर्दै नेपालको उद्यमी वातावरण, आइटी आधारित उत्पादन र सेवाको बढ्दो निर्यात, र विदेशी लगानीका सम्भावनाबारे छलफल गरियो।

फोरममा बेलायतका थिङ्क ट्याङ्क, नीति निर्माता, लगानी कर्ता, कम्पनी प्रमुख, र दक्ष आइटी पेशेवरहरूलाई सहभागी गराएर नेपालमा आइटी क्षेत्रमा लगानी भित्र्याउने, व्यवसाय विस्तार गर्ने, र सेवाको निर्यात बढाउने जस्ता विषयलाई प्राथमिकतामा राखिएको थियो।

बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपालले सूचना तथा सञ्चार प्रविधिमा गरेको प्रगतिबारे प्रकाश पारेका थिए । नेपालमा प्रत्येक वर्ष दशौँ हजारको सङ्ख्यामा आइटी स्नातकहरू तयार हुने जनाउँदै उनले बेलायतलगायत ठूलठूला मुलुकमा उत्कृष्ट गुणस्तरको आइटी सेवा प्रदान गरिरहेको उल्लेख गरे । घरबाट काम गरेर नेपालको जीडीपीमा पनि उनीहरूले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको घिमिरेले बताए।

राजदूत घिमिरेले बेलायतका लगानीकर्ताहरूलाई नेपालको प्रतिस्पर्धी आइटी क्षेत्रमा लगानी गर्न आह्वान गर्दै राम्रो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे।

त्यस्तै नेपालका लागि बेलायती राजदूत रब फेनले नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न गरेका प्रयासहरूको प्रशंसा गरे। तर, लगानीकर्ताले कमाएको मुनाफा सहज रूपमा फिर्ता लैजान सक्ने व्यवस्थामा उनको जोड थियो।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी सुशील ज्ञवालीले “बेलायतका लगानीकर्ताहरूका लागि नेपाल एफडीआई गन्तव्य” सम्बन्धमा प्रस्ट्याए । उनले नीति, कानुनी, संस्थागत र प्रक्रियागत सुधारका पहलहरूको बारेमा बताउँदै नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट माथि उठ्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न लगानी ग्याप कम गर्नुपर्ने कुरामा जोड दिए। साथै, उनले नेपाल–बेलायतबिच दोहोरो कर उन्मुक्ति सम्झौता तयारी भइरहेको समेत जानकारी समेत दिए । बेलायतका आइटी कम्पनीहरूलाई नेपालमा लगानी गर्न उनको आग्रह थियो।

ब्रिटिस संसद्मा ‘अल नेपाल पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष सांसद एलेक्स बेकरले फोरमको सह्राना गर्दै यसबाट दुई देशबिच सरकार, नीतिगत तथा जनस्तरमा सम्बन्ध थप मजबुत र सुदृढ हुने बताइन् ।

बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँल, नेपालका सूचना प्रविधि सम्बन्धी कम्पनीहरूको छाता संस्था नास आइटीका अध्यक्ष सन्तोष कोइरालालगायतले आ-आफ्ना धारणा राखेका थिए । 

फोरममा विभिन्न प्यानलमा छलफलहरू गरियो, जसमा एआईले नेपालको आर्थिक विकासमा पार्न सक्ने भूमिका, डिजिटल व्यापार, बेलायतको डिजिटल अर्थतन्त्रमा लगानीका सम्भावना, डिजिटल कूटनीति र प्रवासी नेपालीहरूको योगदान जस्ता विषय केन्द्रित गरिएको थियो।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजालले समापन मन्तव्य दिँदै कार्यक्रममा आएका निष्कर्षहरू सुनाए।

फोरममा २८ जना वक्ताले विभिन्न सत्रमा आफ्नो विचार राखे भने बेलायत र नेपालका राजदूत, सरकारी अधिकारी, कम्पनी प्रमुखहरू, प्रविधि विशेषज्ञ, प्राध्यापक र अनुसन्धानकर्ताहरू सहित सय बढीको सहभागिता थियो।

कार्यक्रममा बेलायतमा मुख्यालय रहेका प्राइभेट इक्विटी, फिनटेक, एआई, क्लाउड, साइबर सुरक्षा, एजु–टेक, हेल्थ–टेक लगायत क्षेत्रका प्रतिनिधि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप