शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्रीकाे स्पेन भ्रमण निरर्थक

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण निरर्थक भएको विपक्षी दलहरूको टिप्पणी

आइतबार, २२ असार २०८२, २१ : ४९
आइतबार, २२ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी ओलीको ६ दिने स्पेन भ्रमणलाई विपक्षी दलहरूले निरर्थक बताए।
  • ओलीले स्पेन भ्रमणमा नेपालले खासै फाइदा लिन नसकेको र कूटनीतिक उपलब्धि हासिल नभएको आरोप लागेको छ।
  • भ्रमणको प्रतिक्रियास्वरूप, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भ्रमणको आलोचना गरेका छन्।

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको ६ दिने स्पेन भ्रमण निरर्थक रहेको विपक्षी दलहरूले बताएका छन् । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा ओली असार १४ गते स्पेन प्रस्थान गरेका थिए ।

२१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका ओलीले नेपाल र स्पेनबिच महत्त्वपूर्ण सहमतिमा हस्ताक्षर हुने बताएका थिए । भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किएका ओली त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सहभागी नभई बालुवाटार गएका थिए ।

ओलीको भ्रमणबाट नेपालले कुनै फाइदा लिन नसकेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले रातोपाटीलाई बताए । विश्वस्तरमा आयोजना हुने कार्यक्रम कुन स्तरको हो, कसले प्रतिनिधित्व गरेर जाँदा राम्रो हुन्छ भन्ने विषय सरकारले नै सोच्नुपर्ने गुरुङको भनाइ छ ।

‘प्रधानमन्त्रीको स्पेन भ्रमणको विस्तृत जानकारी त थाहा भएको छैन । विश्वस्तरमा हुने कतिपय कार्यक्रममा राष्ट्रप्रमुख नै जान्छन् । कतिपय कार्यक्रममा सरकार प्रमुख जान्छन् । प्रधानमन्त्री जानुपर्ने आवश्यक नभएको ठाउँमा विषयगत मन्त्री वा सचिवलाई पठाउन पनि सकिन्छ’, उनले भने ।

dev-gurung

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वृत्त’सम्बन्धी स्पेनमा भएको कार्यक्रममा प्रधानमन्त्री सहभागी भएर नेपालले कूटनीतिक तथा आर्थिक फाइदा लिएजस्तो आफूलाई नलागेको गुरुङ बताउँछन् । ‘यस्तो विषयमा प्रमुख प्रतिपक्ष दलले भन्ने भन्दा पनि सरकारले नै सोच्नुपर्छ,’ उनले भने ।

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीको भ्रमण असफल भएको निष्कर्ष निकाले । ‘प्रधानमन्त्री ओली जुन कार्यक्रममा जानुभयो, वास्तवमा त्यो कार्यक्रमको हैसियत हेर्दा सबै काम छोडेर एकहप्ता बिताउनेगरी सचिवालयका सदस्यसहित ठुलो टोली लिएर उहाँ नै जानुपर्ने वा महत्त्व दिनुपर्ने थिएन । सम्बन्धित विषयको मन्त्रीको नेतृत्वमा एउटा सानो टिम पठाउँदा हुन्थ्यो’, उनले भने ।

राज्यको स्रोतको पनि दुरुपयोग हुने, समय खर्च हुनेगरी प्रधानमन्त्री आफैँ जम्बो टोली लिएर जानुपर्ने खालको कार्यक्रम नरहे पनि प्रधानमन्त्री स्वयं गएको तर उपलपब्धि त्यस अनुसार नदेखिएको ज्वालाको दाबी छ ।

prakash-jwala2023-08-01-06-26-06

‘स्पेनमा हुने एउटा निश्चित कार्यक्रममा सहभागी भएर विश्व मञ्चमा नेपालको कूटनीतिक हैसियत बढाउन ठुलो मद्दत पुग्ने होइन,’ उनले भने, ‘त्यो निर्धारित शीर्षकमा परम्परागत रूपमा गरिएको कार्यक्रम हो । त्यस हिसाबले त्यो कार्यक्रममा उहाँ नजाँदा नै उपयुक्त हुन्थ्यो । उहाँको भ्रमणबाट नेपाललाई कुनै फाइदा पुगेको देखिँदैन ।’

स्वदेश फर्किसकेपछि त्यहाँको फोरममा, भेटघाटमा के कस्ता छलफल भए ? नेपालका लागि के लाभ भयो ? अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो प्रस्तुति के रह्यो भन्ने सन्दर्भमा कम्तीमा पनि प्रधानमन्त्रीले बताउनुपर्ने ज्वालाले प्रस्ट पारे । ‘नेपालमै पनि निजामती विधेयक, भिजिट भिसा प्रकरण छन् । त्यसबारेमा बोल्नुपर्थ्यो । त्रिविको महत्त्वपूर्ण सिनेट बैठक स्थगित गरेर उद्घाटनका लागि हुम्ला जाने भनेको सुनेको छु । यो पनि राम्रो होइन’, उनले भने ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले स्पेनका नरेश फिलिप द्वितीयसँग तथा समकक्षी सान्चेज, संयुक्त राष्ट्रसंघका महसचिव गुटेरस, विभिन्न देशका सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए ।

एमालेका पूर्वउपाध्यक्ष तथा उपप्रधानमन्त्री डा. भीम रावलले कार्यसूचीविहीन भेटघाटले देशका लागि कूटनीतिक अर्थ नराख्ने जिकिर गरेका छन् ।

‘आयोजक देशका राजा र प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घका महासचिवसँग कार्यसूचीविहीन भेटघाटले देशको लागि तथा कूटनीतिक दृष्टिले कुनै अर्थ नराख्ने स्पष्टै छ । यही भएर स्वदेश फिर्तीका अवसरमा विमानस्थलमा प्रधानमन्त्रीको मुख बन्द भएको रहेछ । यसैलाई भन्छन् व्यक्तिगत लहडमा आधारित असफल कूटनीति,’ सामाजिक सञ्जाल एक्समा रावलले लेखेका छन् ।

Bhim-Rawal_1603358265

तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण सफल रहेको दाबी गरेको छ । पत्रकार सम्मेलनमा ओली सहभागी नभए पनि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिएका थिए । अतिकम विकसित देशका अध्यक्षको हैसियतले सम्मेलनको मूल सत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेको उनले जानकारी दिएका थिए ।

अतिकम विकसित मुलुकले झेल्नु परेको समस्या र त्यसको समाधानका लागि विकसित मुलुकले सहयोग विस्तार गर्नुपर्ने कुरामा प्रधानमन्त्रीले जोड दिएको उनको भनाइ थियो । भ्रमणबाट स्पेन, इस्टोनिया, इजिप्ट, पोर्चुगल लगायत देशबिच सम्बन्ध थप सदृढ भएको उनले दाबी गरे ।

‘प्रधानमन्त्रीको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा  नेपालको छवि अभिवृद्धि भएको छ । नेपालको दिगो विकास र सहयोगका लागि आह्वान गर्नुभयो । नेपालमा लगानी प्रवर्द्धनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ’, सचिव राईले भनेका थिए । 

प्रधानमन्त्री पत्रकार सम्मेलनमा नबसेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा सचिव राईले यसअघि पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता वा सहसचिवबाट राष्ट्रप्रमुख वा सरकार प्रमुखको भ्रमणबारे ‘ब्रिफिङ’ गरिएको अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन रहेको जिकिर गरे ।

संयुक्त राष्ट्रसंघको आयोजनामा हरेक १०/१० वर्षमा हुने यो सम्मेलन चौथो संस्करण हो । सम्मेलनमा विभिन्न ४० वटा देशबाट सरकार प्रमुख, अर्थमन्त्री, वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार र नागरिक समाजका अगुवा सहभागी भएका थिए । सम्मेलनको उद्देश्य विश्वव्यापी विकास लक्ष्य हासिल गर्न आवश्यक स्रोत परिचालन गर्ने, वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने, ऋण व्यवस्थापन सुधार गर्ने तथा सार्वजनिक–निजी साझेदारीमार्फत दिगो विकासका कार्यक्रमहरूलाई सशक्त बनाउने रहेको सचिव राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप