मेलम्ची बन्द, रिबर्माले राहत
सारांश
- काठमाडौंमा मेलम्चीको पानी बन्द भएपछि स्थानीयवासी पानीको अभाव झेलिरहेका छन्।
- मेलम्ची आयोजनाका अनुसार रिबर्मा खोलाको पानी सुन्दरीजल पठाएर पानी वितरण भइरहेको छ, तर मागअनुसार पर्याप्त छैन।
- पानी पर्ने शैली फेरिएकाले पानी सङ्कलन र वितरणमा समस्या भइरहेको छ, जसले गर्दा पानीको अभाव बढेको छ।
काठमाडौँ । काठमाडौँ–१० बानेश्वरको राहुल महर्जनको घरमा धाराबाट नियमित पानी नआएको एक हप्ताभन्दा बढी भयो । मेलम्चीको पानी आउन छोडेपछि अहिले उनी ट्याङ्करबाट पानी झार्न बाध्य छन् ।
‘घर भाडामा दिएका छौँ । घरमा बस्ने मान्छेले पानी खै ? भन्दै खोजेपछि ट्याङ्करबाट पानी झारेको छु । एक हप्ता अगाडि २ घण्टा मात्रै मेलम्ची आएको थियो । अहिले त्यो पनि आएको छैन,’ महर्जन भन्छन् ।
काठमाडौँ–३२ जडीबुटीका श्रीकान्त सापकोटाको पनि समस्या उस्तै छ । ‘एक छिन आएको जस्तो मात्रै गर्छ । मेलम्चीको पानी ५० लिटर पनि झर्दैन, बन्द भइहाल्छ । मेलम्चीको पानी बन्द नहुने भन्दै मन्त्रीको भाषण सुनेको थिएँ गफै रहेछ,’ सापकोटा भन्छन् ।
राहुल र श्रीकान्तले जस्तै समस्या अहिले उपत्यकावासीले भोगिरहेको छन् । यसको कारण हो मेलम्ची खोलाको पानी नआउनु ।
- रिबर्मा नदीको राहत
मेलम्ची खानेपानी आयोजनाको कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार १४ असारदेखि मेलम्ची खोलाको पानी पूर्ण रूपमा बन्द छ । काठमाडौँ उपत्यकामा आउने मेलम्ची नदीको पानी बन्द भएपछि रिबर्मा खोलाले राहत दिइरहेको उनी बताउँछन् । ‘मेलम्ची खोला धमिलो आइरहेको छ । अघिल्लो हप्ताको त ठुलै बाढी आयो । अहिले सुरुङमा मेलम्ची खोलाको एक थोपा पानी पनि हाल्ने अवस्था छैन,’ रातोपाटीसँग उनले भने ।

मेलम्ची खानेपानी आयोजनाले अहिले मेलम्ची नजिकै रहेको सिन्धुपाल्चोककै रिबर्मा खोलाको पानी सङ्कलन गरेर सुन्दरीजल पठाइरहेको छ । ‘मेलम्ची खोलाको पानी दैनिक करिब १७ करोड लिटर सुन्दरीजल पठाइरहेको थियौँ । अहिले मेलम्ची खोलाको पानी बन्द गर्नुपरेको छ । तर पनि रिबर्मा खोलाको पानी दैनिक करिब ७ करोड लिटर मात्रै पथान्तरण भइरहेको छ,’ उनी भन्छन् ।
लामिछानेका अनुसार वर्षामा पहिलो पटक उपत्यकामा मेलम्ची आयोजनाले पानी पठाइरहेको हो । ‘गत वर्षमा कम्तीमा २ महिना पानी ठप्प हुन्थ्यो तर अहिले थोरै भए पनि पानी पठाउन सफल भएका छौँ । हामीले रिबर्मा खोलाको पानी थोरै रकम खर्चेर सङ्कलन गर्ने ठाउँ बनाएका थियौँ । त्यसले अहिले वर्षामा काम गरिरहेको छ,’ उनले भने ।

लामिछानेका अनुसार रिबर्मा खोला वर्षामा ठुलो पानी आउने ठाडो खोला हो । ‘यो वर्षामा ठुलो पानी आउँछ तर हिउँदमा ठुलो हुँदैन । सफा पानी आउने र बाढीको जोखिम पनि नहुने भएकोले यो वर्ष हामीले सङ्कलन केन्द्र बनाएर पानी मेलम्चीकै सुरुङमार्फत सुन्दरीजलमा पठाउन थालेका हौँ,’ उनी भन्छन् ।

- माग ४३ करोड, वितरण १५ करोड लिटर
काठमाडौँ उपत्यकामा पानी वितरणको जिम्मा लिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेयल)का प्रवक्ता प्रकाश कुमार राई मागको एक तिहाइ मात्रै खानेपानी वितरण गर्न सकिरहेको बताउँछन् ।

‘यस अघि मेलम्चीको पानी औसतमा १७ करोड आउँथ्यो । सुन्दरी जलमा बागद्वारसहित अन्य स्रोतको पानी करिब ३/४ करोड थपिँदा केयूकेयलले उपत्यकामा करिब २०/२२ करोड लिटर दैनिक पानी पठाइरहेको हुन्थ्यो । त्यसले आधा माग धान्ने स्थिति थियो,’ रातोपाटीसँग राई भन्छन् । राईका अनुसार उपत्यकामा दैनिक ४३/४४ करोड लिटर माग रहेको छ ।
तर अहिले मेलम्चीको पानी बन्द हुँदा रिबर्माले ७ करोड लिटर मात्रै पठाएको छ । यस्तै सुन्दरी जलमा वर्षाको कारण अन्य स्रोतहरू बढेर ४/५ करोड लिटर पानी जम्मा हुँदा उपत्यकामा सुन्दरी जलमा दैनिक करिब ११ करोड लिटर पानी जम्मा हुन्छ । राईका अनुसार फर्पिङ, नख्खु र नल्लु लगायत स्रोतबाट दैनिक करिब ३ करोड लिटर पानी जम्मा हुने गरेको थियो ।

- वर्षाको शैली बिग्रँदा सङ्कलनमा समस्या
राईका अनुसार केही वर्ष अगाडीसम्म उपत्यकाको पानीको मुहानहरू वर्षामा खुल्ने गरेका थिए । तर अहिले पानी पर्ने शैली फेरिँदा समस्या भइरहेको छ ।
‘अहिले पानी कि पर्दै पर्दैन, कि ह्वात्त पर्छ । त्यसो हुँदा मूल पर्याप्त फुट्दैन र नदीमा पनि की भेल बग्छ की पानी नै कम हुन्छ । भेल, बाढी आउँदा हाम्रो प्रशोधन केन्द्रमा फिल्टर हुनै सक्दैन । अहिले त्यो समस्याले गर्दा पनि वर्षे स्रोतको पानी धेरै उपयोग गर्न सकेको छैनौँ,’ उनले भने ।
राईले पानी कम हुँदा पाइपमा हुनुपर्ने प्रेसर पनि कम हुने गरेको छ, जसले सबै ठाउँमा पानी बराबर वितरण हुन सकेको छैन । ‘हाम्रो वितरण केन्द्रको ट्याङ्कीहरूमा पानी कम हुन्छ अहिले त्यसले पाइपमा दिने प्रेसर पनि कम हुन्छ, यसले अग्लो ठाउँमा पानी नजाने, कम जाने हुन्छ । होचो ठाउँमा भने गइरहेको हुन्छ । यसले पनि पानी अभाव बढाएको देखिन्छ,’ राई भन्छन् । उनले वर्षामा हुने स्रोतहरूको उच्चतम उपयोग गरेर वितरण गर्न खोजे पनि अपर्याप्त रहेको बताए । ‘मागको एक तिहाइ मात्रै वितरण गर्न सकेका छौँ । हाहाकार हुने स्थितिबाट पानी कम आयो भन्ने स्थितिसम्म आएका छौँ,’ प्रवक्ता राईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण