शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजेटमा किचलोः मधेस सरकारको सदनमा हंगामा, बजेट फेल हुने सम्भावना

सोमबार, २३ असार २०८२, २० : ०८
सोमबार, २३ असार २०८२

सारांश

  • आगामी आर्थिक वर्षको बजेटमा विपक्षी दलहरूको विरोधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित भयो।
  • विपक्षी दलहरूले बजेटमा बिचौलिया हाबी भएको र असमानता रहेको आरोप लगाएका छन्, जसले गर्दा पुनर्लेखनको माग गरिएको छ।
  • बजेटमा संशोधन नभए बजेट पास नहुने सम्भावना रहेको र समयसीमाभित्रै समस्या समाधान गर्नुपर्ने सांसदहरूको भनाइ छ।

जनकपुर । आगामी आर्थिक वर्षको बजेटलाई लिएर मधेस सभाको बैठकमा हंगामा सुरु भएको छ ।

विपक्षी दलहरूले बजेटमा प्रश्न उठाउन थालेपछि सदनको बैठक दोस्रो दिन पनि निर्णयविहीन बनेको छ । सोमबार दोस्रो दिन पनि सदनको बैठकमा विपक्षी दलहरूले प्रदेश सभाको बैठक सुरु नहुँदै विरोध प्रदर्शन गरेका थिए । 

विपक्षी दलहरूले विरोध गर्न थालेपछि सदनको बैठक आज पनि स्थगित भएको हो । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मण्डलले मंगलबार दिउँसो १ बजेसम्मका लागि सदनको बैठक स्थगित गरेका हुन् ।

बजेटमा बिचौलिया हाबी भएको भन्दै विपक्षी दलहरूले प्रदेश सभामा हंगामा सुरु गरेका हुन् । विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराइका अनुसार मधेस सरकारको बजेटमा धेरै खेल भएको आराेप लगाए । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र सांसदहरूको कतिपय योजनाभन्दा फरक बजेट राखिएको उनको भनाइ छ ।

प्रदेश सरकारको बजेटमा बचौलिया हाबी भएको प्रस्ट देखिएकोले आफ्नो दलसहित विपक्षी दलहरूले विरोध जनाइरहेको उनको टिप्पणी छ । ‘यो बजेटमा व्यक्ति केन्द्रित बजेट छ, यतिमात्रै होइन बजेट असमान पनि छ । साथै बिचौलिया हाबी भएको छ,’ उनले भने । 

उनका अनुसार त्यसकारण यसको पुनर्लेखन हुनुपर्ने विपक्षी दलहरूको माग छ । पुनर्लेखन नहुँदासम्म आफूहरू सदनको बैठक चल्न नदिने तयारीमा रहेको उनको भनाइ छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई लिएर आइतबारदेखि प्रदेश सभाको बैठक सुरु भएको छ । तर बजेट पासबारे सदनमा कुनै छलफल हुन सकेको छैन । 

आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि प्रदेश सरकारले बजेट ल्याएको २३ दिन भइसक्दा पनि प्रदेश सभाभित्रको किचलो बढ्दो छ । कांग्रेस सांसद श्याम पटेलका अनुसार बजेटमा संशोधन भएन भने बजेट पास नहुने सम्भावना बढ्दो छ । 

उनका अनुसार केही दलका नेताबाहेक अधिकांश सांसदमा बजेटको विषयलाई लिएर व्यापक असन्तुष्टि छ । उनले भने, ‘प्रदेश सभामा सत्तारुढ दलका सांसदहरूले पनि बजेटको विरोध जनाइरहेका छन्, सांसदहरूसंग छलफल हुँदै सबैको बजेट संशोधन गर्ने एक स्वर छ ।' यदि यसो भने असार ३० भित्र बजेट पास हुन सक्ने सम्भावना निकै कम छ । 

त्यसकारण समयसीमाभित्रै बजेटबारे उठेका अवाजहरूको सम्बोधन गर्नुपर्ने जरुरी रहेको उनको ठम्याइ छ । असार १ गते प्रदेश सरकारले ४६ अर्ब बढीको बजेट ल्याएको थियो । त्यसको ११ दिन पछाडि सुरु भएको सदनको बैठकमा रातो किताब प्रदेश सांसदहरूले पाएका थिए । 

रातो किताबको अध्ययनपछि बजेटमा भनै गडबड भएको देखेका सत्तारुढ दलका सांसदसहित विपक्षी दलहरूले बजेट विरोध गर्न थालेका थिए । सदनमा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा विरोध जनाइरहेका छन् ।  बजेट पासका लागि अब प्रदेश सभासँग मात्र ७ दिन बाँकी छ । 

बजेटबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक 

बजेटको विषयलाई विवाद सुरु भएपछि प्रदेश मन्त्रिपरिषद्को बैठक डाकिएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकबारे गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले भने, ‘बैठकमा बजेटमाथि भइरहेको विरोधबारे छलफल गरियो । तर गहन छलफल भने भएन, सत्तारुढ दलहरूसंग सल्लाह गरेर अगाडि बढ्ने सबैको सल्लाह भयो ।’ 

उनका अनुसार अब सदनमा भइरहेको विरोधबारे सत्तारुढ दलहरूसँग सल्लाह गरेर अगाडि बढ्ने सरकारको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप