कोशीका मन्त्री विवादमा : सरकार भन्छ– अध्ययन गर्न समय लाग्छ
सारांश
- कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको आरोप लागेको छ।
- नेकपा माओवादी केन्द्रले मन्त्री मण्डलको राजीनामाको माग गरेको छ, 'क्यूआर आतङ्क' मच्चाएर कर्मचारीसँग रकम असुली गरेको आरोप छ।
- मुख्यमन्त्री र कांग्रेसले छानबिन गर्ने चासो नदेखाएको र प्रमाण बिना कारबाही गर्न नसकिने बताएका छन्।
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उनको राजीनामा माग गरेको छ ।
मन्त्री मण्डलमाथि सचिवालयमार्फत ‘क्यूआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरेको आरोप लागेको छ । यस विषयमा रातोपाटी अनलाइनले निरन्तर समाचार प्रकाशित गरेको थियो । त्यसपछि चर्चामा रहेको यो विषयमा कांग्रेस, एमालेलगायतका सत्तारुढ पार्टीभित्र अनौपचारिक रूपमा मुखामुख हुन बाहेक औपचारिक कुनै छलफल भएको छैन ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सुशासनमा प्रतिबद्ध रहेको बताउने गरे पनि मन्त्रीको यस्तो काण्डबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिने वा छानबिन गर्ने चासो दिएका छैनन् । पर्यटनमन्त्री मण्डल र उनको सचिवालयले समेत यो विषयमा सार्वजनिक ढंगले कुनै प्रतिक्रिया दिएको छैन ।
कांग्रेसका एक सांसदले भने, ‘यो जस्तो लाजमर्दो के हुन्छ ? मुख्यमन्त्रीको पनि लाचारी नै देखियो ।’ यद्यपि सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रीबाट कुनै गलत काम भएको प्रमाणित भएमा त्यसको जिम्मेवारी व्यक्ति स्वयंले लिनुपर्ने बताए । हल्ला र अप्रमाणित समाचारका आधारमा सरकारले कसैलाई दोषी मान्न नसक्ने उनको भनाइ थियो ।
‘सरकार र मुख्यमन्त्री सुशासनको पक्षमा हुनुहुन्छ । यदि कसैले व्यक्तिगत ढंगले गल्ती गरेको छ भने त्यसको जिम्मेवारी उसैले लिनुपर्छ, सरकार वा मुख्यमन्त्रीले होइन,’ भण्डारीले भने ।
उनले प्रदेशका कुनै पनि मन्त्रीले क्यूआर कोड पठाएर पैसा माग्नेजस्तो काम गरेको हुनसक्नेमा विश्वास नलागेको बताए । ‘यो हल्लामात्रै पनि हुनसक्छ । हामीलाई त्यस्तो भएको होला भन्ने लाग्दैन,’ उनले भने, ‘यदि कहीँकतै त्यस्तो भएको प्रमाण छ भने कानुनअनुसार जो कोहीलाई पनि कारबाही हुन्छ ।’
मुख्यमन्त्री कार्यालय वा सरकारले छानबिनमा चासो नदेखाएको भन्ने प्रश्नमा भण्डारीले भ्रष्टाचारसम्बन्धी विषय सम्बन्धित निकायले हेर्ने बताए । साथै, मुख्यमन्त्री कार्यालयले घटनाबारे आन्तरिक रूपमा अध्ययन र अनुसन्धान गरिरहेको हुनसक्ने उनको भनाइ थियो । उनले भने, ‘यो विषय भर्खरै सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्यालयलाई अध्ययन गर्न समय चाहिन्छ । घटनामा कर्मचारीको भूमिका पनि हुनसक्छ, त्यसैले सबै कोणबाट नबुझी निष्कर्षमा पुग्न सकिँदैन ।’
मन्त्री भण्डारीले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका खबरहरू औपचारिक प्रमाण नभएको जिकिर गरे । ‘कुन कार्यालय प्रमुखलाई त्यसरी पैसा मागियो भन्ने स्पष्ट नभएसम्म यसलाई प्रमाणित मान्न सकिन्न’, उनले भने, ‘यति कुरा बाहिर आइसकेपछि अध्ययन र छानबिन हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ, तर अहिले नै मन्त्रीलाई आरोपित गर्न मिल्दैन ।’
उता आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री मण्डल गम्भीर विवादमा तानिएको भए पनि नेपाली कांग्रेसले तत्काल कुनै कारबाही प्रक्रिया अघि नबढाउने बताएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूमाथि लागेका आरोपबारे पार्टीले आन्तरिक रूपमा छानबिन गरिरहेको तर यथेष्ट प्रमाणविना सार्वजनिक टिप्पणी वा कारबाही गर्न नसकिने बताए ।
दलका नेता थापाले आफ्ना मन्त्रीको बचाउ गर्दै घटनालाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको बताए । ‘यो घटनालाई हामीले सहज रूपमा लिएका छैनौँ,’ उनले भने, ‘तर फ्याक्ट कुरा नआई मैले बोल्नुहुँदैन । प्रमाण त दिनुपर्यो नि ।’
मन्त्री मण्डलले आफू निर्दोष रहेको र त्यसलाई पुष्टि गर्न समय मागेको जानकारी दिँदै थापाले थपे, ‘मेरो मन्त्री भनेर गल्ती गर्दा बचाउने कुरा हुँदैन । यदि गल्ती प्रमाणित हुन्छ भने कारबाही हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण