साम्बासहित १० फुटबलर सम्मानित
सारांश
- एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने १० फुटबलरलाई नगद र छात्रवृत्तिसहित सम्मान गरिएको छ।
- सम्मान कार्यक्रममा कप्तान सावित्रा भण्डारी, अनिता बस्नेत, रेखा पौडेल लगायतका खेलाडीहरूलाई सम्मान गरिएको थियो।
- काठमाडौँ महानगरपालिका वडा नं.४ का वडाध्यक्ष दिनेश महर्जनले महिला फुटबलमा थप लगानी गर्नुपर्ने बताए।
काठमाडौँ । एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० फुटबलरलाई एउटै व्यवस्थापनमा सञ्चालित दी इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले बुधबार नगद र छात्रवृत्तिसहित सम्मान गरेको छ ।
धुम्बाराहिस्थित स्कुलमा आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्व कप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपैयाँ र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।
महिला फुटबलमा लगानी वृद्धि गर्नुपर्ने उल्लेख गर्दै प्रमुख अतिथि रहेका काठमाडौँ महानगरपालिका वडा नं.४ का वडाध्यक्ष दिनेश महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाई उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’
द इन्साइट भिजन स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठले भने, ‘हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै देशको प्रतिष्ठा बढाएका छन् । हामीले सम्भावना देखेरै उनीहरूलाई औपचारिक शिक्षामा पनि सहज तवरले अगाडि बढ्न सकोस् भनेर चार वर्षयता महिला फुटबलमा धेरैलाई छात्रवृत्ति दिएका छौँ । अहिले साम्बासहित १० जनाले पूर्ण छात्रवृत्तिमा बीबीएस अध्ययन गरिरहेका छन् । यसरी नै हामी खेलाडीहरूको हौसला बढाउँदै जानेछौँ ।’
‘शिक्षा हामी सबैका लागि महत्त्वपूर्ण हुन्छ,’ सम्मानपछि कप्तान सावित्राले भनिन्, ‘सबैले आ–आफ्ना क्षेत्रमा मिहिनेत गर्नुपर्छ । फुटबलसँगै औपचारिक शिक्षालाई अगाडि बढाउने अवसर दिएर इन्साइट भिजनले हामीलाई यहाँ उभिने अवसर दिएको छ । यसको लागि इन्साइट भिजन तथा राजधानी क्याम्पसलाई धेरै–धेरै धन्यवाद ।’ एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टिम तथा उमेर समूहका १४ जना फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता नेपाली सावित्रासहित पूजा, अनिता, रेखा र सविताले एसियन कप छनोट खेलेका थिए । तास्कन्दमा भएको छनोटमा नेपाल घरेलु टिम उज्बेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन असफल भएको थियो । तर, टिमको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले सुरुका दुई खेलमा लाओसलाई ९–० र श्रीलङ्कालाई ८–० ले हराएको थियो । उज्बेकिस्तानविरुद्ध ३–३ को बराबरी भएपछि छनोटको लागि निर्णायक खेल टाइब्रेकरमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण