शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य बीमा कार्यक्रम

आठ जटिल रोगको उपचारमा थप एक लाख, कसरी होला कार्यान्वयन ?

बिहीबार, २६ असार २०८२, ०७ : ५८
बिहीबार, २६ असार २०८२

सारांश

  • सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जटिल खालका आठ रोगको उपचारका लागि थप रु एक लाख उपलब्ध गराउने भएको छ।
  • मिर्गौला, मुटु, पार्किन्सन्स जस्ता रोगका बिरामीले २ लाखसम्मको स्वास्थ्य सेवा पाउनेछन्।
  • स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्षले यो कदम सकारात्मक भएपनि व्यवहारमा लागू गर्न कठिन हुने बताएका छन्।

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जटिल खालका आठ वटा रोगको उपचार गर्न थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मिर्गौला, मुट, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल शेल एनिमिया रोगीले एक लाख थपेर दुई लाख रुपैयाँको  निःशुल्क स्वास्थ्य सेवा पाउने भएका हुन् । 

स्वास्थ्य मन्त्रीको निर्देशनअनुसार स्वास्थ्य बीमा बोर्ड बैठकले जटिल खालका रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको बोर्डका सूचना अधिकारी विकेस मल्लले बताए । 

स्वास्थ्य बिमितहरूले साउन १ देखि उल्लिखित आठ रोग उपचारका लागि दुई लाख प्राप्त गर्न सक्ने उनले बताए । जसप्रति जनस्वास्थ्यविद् डा. शरद वन्तले सकारात्मक प्रतिक्रिया जनाएका छन् । यद्यपि दुई लाखले जटिल रोगीको स्वास्थ्य आवश्यकता पूर्ति गर्न नसक्ने भने उनले जिकिर गरे । तर यो व्यवहारमा लागु हुनुपर्नेमा उनले जोड दिए । ‘बिमित स्वास्थ्य उपचारका लागि तोकिएका अस्पतालहरूमा पुग्दा परीक्षण, औषधि र उपचार आवश्यकता अनुसार उपलब्ध हुँदैनन्, यसलाई घोषणामा मात्रै सीमित गर्न भएन,’ उनले भने । 

यस्तै स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष तथा स्वास्थ्य सचिव डा.सिनेन्द्रराज उप्रेती जटिल रोगीका लागि एक लाख रुपैयाँ थप्नु सकारात्मक भए पनि व्यवहारमा लागु हुन कठिन देख्छन् । 

‘स्वास्थ्य बिमितहरूलाई अघिल्ला वर्ष उपचार गरेबापत सेवाप्रदायक अस्पतालहरूले समयमै भुक्तानी नपाउँदा उनीहरू पनि असन्तुष्ट छन्,’ उनी भन्छन्, ‘जटिलखाले बिरामीको स्वास्थ्य उपचारमा पैसा थप गरी उधारोमा उपचार गराएपछि सेवामा प्रभावकारी नहुन सक्छ, ।’

स्वास्थ्य बीमा कार्यक्रम भएका औषधि उपचारमा गुणात्मक पक्ष बढाउन अस्पतालहरू खासै सक्रिय नभएको उनको आरोप छ । 

त्यस्तै आर्थिक संकट र व्यवस्थापकीय कमजोरीको असर सेवामा देखिने गरेको पाइन्छ । जसकारण बीमा नवीकरण गर्नेहरूको दर पनि ह्वात्तै घटेको छ । चालु आर्थिक वर्षमा नवीकरण गर्ने बिमितको दर घटेर ५४ प्रतिशतमा झरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले कम हो । 

स्वास्थ्य बीमा कोषको आयस्रोत वृद्धि नभएसम्म स्वास्थ्य सेवा बढाउनु त्यति उपयुक्त नभएको उप्रेतीको भनाइ छ । ‘एकातिर अस्पताललाई पैसा तिर्न बाँकी, अर्कोतिर आयस्रोत छैन, त्यस्तो अवस्थामा बिमितको सेवा प्रभावमा  सहज हुँदैन,’ उप्रेती तर्क गर्छन् । 

स्वास्थ्य बीमा नगराएकाहरूले पनि क्यान्सर, मुटु र मिर्गौला रोगको उपचारका लागि बागमती प्रदेशका अस्पतालबाट एक लाख रुपैयाँको स्वास्थ्य उपचार गराउन सक्छन् ।

यसअघि भने स्रोतको समस्याका कारण दीर्घरोगीको उपचारमा दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार गर्न नसकिएको बोर्डका सूचना अधिकारी मल्ल बताउँछन् । अहिले भने स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दीर्घरोगीहरूलाई दुई लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको उनी प्रस्ट पार्छन् । 

यस्तै मल्ल आठ प्रकारका जटिल रोगीको संख्यात्मक रूप बिरामी र विशिष्टकृत अस्पतालमा उपचार हुने भएकाले सहज हुने पनि जिकिर गर्छन् ।

उनले भने, ‘बीमीत मध्ये केहीलाई मात्रै यस्ता जटिल खालका स्वास्थ्य समस्या हुन सक्छ ।   विशिष्टीकृत अस्पतालमा जटिल रोगको सेवा पाइने भएकाले थप एक लाख रुपैयाँको भार बोर्डले धान्न सक्छ ।’ 

आठ प्रकारका जटिल रोगको स्वास्थ्य उपचार प्राप्त गर्ने बिमितको कागजातको आवश्यक मापदण्ड बनाउने क्रममा रहेको उनले जानकारी दिए । 

उता स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बीमा कोषको आयस्रोत बढाउन नीतिगत निर्णय गरेका पनि सूचना अधिकारी मल्लले बताए । यस्तै, अब सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा सहभागी गराउने नीति तथा कार्यक्रममा पनि उल्लेख गरिएको उनले जानकारी दिए । 

यस्तै स्वास्थ्य बीमा नगरेका तर जटिल प्रकारका रोग मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया, जलनको उपचारका लागि एक लाखसम्मको निःशुल्क उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

स्वास्थ्य बीमा नगराएकाहरूले पनि क्यान्सर, मुटु र मिर्गौला रोगको उपचारका लागि बागमती प्रदेशका यी अस्पतालबाट एक लाख रुपैयाँको स्वास्थ्य उपचार गराउन सक्छन् ।

मुटु उपचार 

मुटुसम्बन्धी उपचार बागमती प्रदेशभित्रः वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, ललितपुर, कान्ति बाल अस्पताल महाराजगञ्ज, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियो महाराजगञ्ज, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर । 

क्यान्सर उपचार

बागमती प्रदेशभित्र वीर अस्पतालः त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, ललितपुर, कान्ती बाल अस्पताल महाराजगञ्ज,परोपकार प्रसूतीतथा स्त्रीरोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन, बीपी कोइराला मेमोरियल चितवन, भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर नेपाल जावलाखेल, काठकाडाँै क्यान्सर सेन्टर ताथली भक्तलपुर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, धुलिखेल अस्पताल काभ्रे, केन्द्र, मनमोहन कार्डियो महाराजगञ्ज, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर । 

मिर्गौला  

बागमती प्रदेशभित्र मिर्गौला उपचार गराउन स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाइने अस्पतालहरूः वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, ललितपुर, कान्ति बाल अस्पताल महाराजगञ्ज, किष्ट मेडिकल कलेज, धुलिखेल अस्पताल, ग्राण्डी अस्पताल धापासी, ओम हस्पिटल चाबहिल, सुमेरु सामुदायिक अस्पताल धापाखेल, वीरेन्द्र सैनिक अस्पताल छाउनी । 

जटिल रोग उपचार प्राप्त गर्न बिरामीले यस्ता कागजातहरू बनाउनुपर्छ

  • विपन्न बिरामीले स्थायी बसोबास भएका वडाको सिफारिसमा पालिकाको सिफारिस पत्रसहित सम्बन्धित अस्पतालमा सम्पर्क गर्ने । 

सिफारिस पत्रमा उल्लेख गर्नुपर्ने विवरणहरू 

  • बिरामीको नाम थर र ठेगाना र १६ वर्षमुनिका भए जन्म दर्ता र सम्र्पक नम्बर लेखेको हुनुपर्छ । 
  • यस्तै उपचारका लागि तोकिएको अस्पतालको सिफारिस, रोग पहिचान भएको चिकित्सकको प्रिस्किप्सनको संक्षिप्त ब्यहोरा ।
  • बिरामी विपन्न नागरिक भएको ब्यहोरा खुल्ने पत्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप