बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वास्तुशास्त्र र प्राकृतिक ऊर्जाको उपभोग

बिहीबार, २६ असार २०८२, १३ : ०२
बिहीबार, २६ असार २०८२

हामी देखिरहेका छौँ । आजको विश्व तीव्र गतिमा अघि बढिरहेको छ । जहाँ तर्क, प्रविधि र आधुनिक वास्तुकलाले हाम्रो जीवनशैलीलाई परिभाषित गरिरहेका छन् । नयाँनयाँ खोज र निर्माण शैलीले भौतिक सुखसुविधालाई सहज पनि बनाएको छ । यस्तो समयमा कतिपयलाई प्राचीन विज्ञान अर्थात् वास्तुशास्त्र पुरानो र अप्रचलित लाग्न सक्छ । कतिपयलाई अन्धविश्वास त कतिपयलाई यो अतीतको एउटा अवशेष मात्र हो भन्ने लाग्न सक्छ तर यस शास्त्रमा दीर्घकालीन प्रासंगिकता मानव, प्रकृति र हामी वरिपरि निर्मित वातावरणबिचको गहिरो सम्बन्धलाई बुझ्ने अद्वितीय क्षमतामा निहित छ ।

वास्तुशास्त्र, जसको शाब्दिक अर्थ ‘वास्तुकलाको विज्ञान’ हो, यो यस्तो सिद्धान्त हो जसले प्राकृतिक ऊर्जासँग समन्वय हुने गरी घर तथा संरचना निर्माणका उपायहरू दिन्छ । यसको मुख्य लक्ष्य जीवनमा सन्तुलन, समृद्धि र समग्र सुख–शान्तिको प्राप्ति हो ।

वर्तमान युगले हामीलाई वैज्ञानिक दृष्टिकोण र प्राविधिक नवप्रवर्तनतर्फ धकेलेको छ । भवन निर्माणमा पनि सुन्दरता, कार्यक्षमता र गतिलाई प्राथमिकता दिने गरेको पाइन्छ । अग्ला भवनहरू, काँचका संरचनाहरू र जटिल डिजाइनहरू आधुनिक निर्माण कलाका विशेषता हुन् । विश्वव्यापी रूपमा मानव निर्मित अद्भुत संरचनाहरू यसका प्रत्यक्ष उदाहरण देख्न पाइन्छ । सामान्य मानिसले यस्ता विशाल भवनलाई वास्तुशास्त्रीय दृष्टिले हेर्न सक्दैनन् । उनीहरू दिशा, ऊर्जा वा प्राकृतिक तत्त्वहरूको कुरा गर्ने वास्तुशास्त्रलाई अन्धविश्वास वा परम्परागत धारणाका रूपमा मात्र हेर्ने गर्छन् । उनीहरूको बुझाइमा वास्तु अनुकूलन आजको वैज्ञानिक र तर्कसंगत समाजमा सम्भव हुँदैन भन्ने लाग्न सक्छ । यो विषयमा केही सरल र वैज्ञानिक तर्कहरू महत्त्वपूर्ण हुन सक्छ ।

वास्तुशास्त्र केवल धार्मिक संस्कार वा अन्धविश्वास होइन, यो ब्रह्माण्डमा व्याप्त पञ्चतत्त्व (पृथ्वी, जल, अग्नि, वायु, आकाश), चुम्बकीय क्षेत्र र सौर्य ऊर्जाको प्रभावलाई मानव जीवनमा सकारात्मक बनाउने वैज्ञानिक ढाँचा हो । यसले भवनको आकार, दिशा, कोठाको स्थान, झ्याल–ढोकाको व्यवस्थापन र रङको प्रयोगसम्मका कुरामा ध्यान दिन्छ । यसले बाहिरबाट आउने ऊर्जालाई व्यवस्थित गरी भित्र सकारात्मक वातावरण सिर्जना गरोस् भन्ने लक्ष्य लिएको हुन्छ । वास्तुका सिद्धान्तहरूले प्रकृतिमा रहेको ब्रह्माण्डीय ऊर्जालाई घरभित्र आकर्षित गरी त्यसलाई सुख, समृद्धि र शान्तिको स्रोतमा रूपान्तरण गर्ने प्रयास गरिरहेका हुन्छन् र गर्छन् ।

वास्तुशास्त्रको मुख्य लक्ष्य या उद्देश्य मानव, प्रकृति र वातावरणबिचको अटल सम्बन्धबाट अधिकतम लाभ लिनु हो । यसलाई अझ सजिलो भाषामा मानव जीवनलाई प्राकृतिक ऊर्जाबाट अधिकतम सुविधा दिनु हो । हामी आफ्नो जीवनको ठुलो हिस्सा घर वा कार्यस्थलमा बिताउँछौँ । यी स्थानको संरचना र ऊर्जाले हाम्रो मानसिक शान्ति, शारीरिक स्वास्थ्य, सम्बन्ध र उत्पादकत्वमा प्रत्यक्ष प्रभाव पार्छ । जब कुनै घर वा कार्यस्थल वास्तुका सिद्धान्त अनुसार निर्माण गरिन्छ, तब त्यहाँका बासिन्दाले प्राकृतिक ऊर्जासँगको सामञ्जस्यता महसुस गर्छन् । पर्याप्त सूर्यको प्रकाश, ताजा हावाको प्रवेश, सही दिशामा शयनकक्ष वा भान्साकोठाको व्यवस्थापनले व्यक्तिको ऊर्जास्तर र मनोभावमा प्रत्यक्ष असर पार्छ । सकारात्मक ऊर्जाले तनाव कम गर्न र समग्र कल्याण बढाउन मद्दत गर्छ । 

जब हामी आफ्नो घर र कार्यस्थललाई प्रकृतिको तालसँग मिलाएर बनाउँछौँ, तब हामी केवल भौतिक संरचना निर्माण गर्दैनौँ, बरु सकारात्मक ऊर्जा, समृद्धि र समग्र कल्याणको वातावरण पनि सिर्जना गर्छौं ।


 

वास्तुशास्त्रले भवन निर्माणमा प्राकृतिक तत्त्वहरूको सम्मान र उपयोगमा जोड दिन्छ । यसले भूमिको छनोटदेखि पानीको निकाससम्मका प्रत्येक पक्षमा प्रकृतिसँगको तालमेललाई प्राथमिकता दिन्छ । जसले हामीलाई प्रकृतिसँग जोडिएर बस्न र यसको शक्तिबाट लाभान्वित हुन मद्दत गर्छ । मानिसले गर्ने कर्म, प्रयास र भावनासँग वातावरणीय साथको अपरिहार्यतालाई वास्तुले समेटेको हुन्छ । कर्म र वातावरणको सकारात्मक एकीकरणले हामीलाई दिगो र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । जुन आजको वातावरणीय चुनौतीका लागि पनि महत्त्वपूर्ण छ ।

वास्तुशास्त्र अनुसार हरेक भवनको आफ्नै ऊर्जा क्षेत्र हुन्छ । सही दिशा र अनुपातमा बनाइएका संरचनाले सकारात्मक ऊर्जा उत्सर्जन गर्छन् भने गलत तरिकाले बनाइएका संरचनाले नकारात्मक ऊर्जालाई आकर्षित गर्न सक्छन् । यसरी वास्तुशास्त्रले भौतिक संरचनालाई केवल इँटा र सिमेन्टको थुप्रोको रूपमा नभई ऊर्जाको एक जीवित प्रणालीको रूपमा हेर्छ । जहाँ केवल भौतिक संरचनामात्र होइन ऊर्जाको सञ्चार हुन्छ ।

आधुनिक निर्माण कलाले प्रायः सौन्दर्य र प्रयोगात्मकतामा मात्र ध्यान केन्द्रित गर्छ भने वास्तुशास्त्रले यसमा ‘आत्म’ र ‘ऊर्जा’को पक्षमा जोड दिन्छ । प्राचीन नियमहरू पालना गर्दै यसका आधारभूत सिद्धान्तलाई समकालीन डिजाइन र निर्माण प्रविधिसँग एकीकृत गर्दा भवन ‘घर’मा रूपान्तरण हुन्छ । प्राकृतिक भेन्टिलेसन, डे–लाइटिङ र जैविक सामग्रीको प्रयोगजस्ता अवधारणा आधुनिक दिगो निर्माण कलाका लागि पनि महत्त्वपूर्ण छन् । जसमा वास्तुका मौलिक उद्देश्यहरूसँग तालमेल गराउँदा थप सकारात्मकता मिल्छ । वास्तुशास्त्रले आधुनिक आर्किटेक्टहरूलाई सानदार डिजाइनका लागि प्रेरित गरिरहेको हुन्छ । आधुनिक डिजाइन र निर्माणमा वास्तुशास्त्रको प्रयोग भौतिक संरचनाको साथसाथै त्यहाँ रहने मानवको भावनात्मक र ऊर्जात्मक आवश्यकतालाई पनि सम्बोधन गर्छ ।

वास्तु विज्ञान धार्मिक, परम्परागत र आध्यात्मिक ऊर्जाको समग्र रूप हो, अन्धविश्वास होइन । यो एउटा कालातीत ज्ञान हो जसले आजको भागदौडपूर्ण जीवनमा सन्तुलन र शान्ति ल्याउन सहयोग गर्छ । यो मानव जीवनलाई ब्रह्माण्डीय ऊर्जासँग जोड्ने पुल हो । जब हामी आफ्नो घर र कार्यस्थललाई प्रकृतिको तालसँग मिलाएर बनाउँछौँ, तब हामी केवल भौतिक संरचना निर्माण गर्दैनौँ, बरु सकारात्मक ऊर्जा, समृद्धि र समग्र कल्याणको वातावरण पनि सिर्जना गर्छौं । तर्क, प्रविधि र आधुनिकताको यो युगमा पनि वास्तुशास्त्रको यो दूरदर्शिता अझ बढी उपलब्धिमूलक छ । यसले हामीलाई भौतिक विकाससँगै आध्यात्मिक र प्राकृतिक सामञ्जस्यताको महत्त्व उजागर गर्छ । आज वास्तुशास्त्रको महत्त्वसँगै निर्माण भइसकेका संरचनामा पनि सुधार गर्न जनचेतना जगाउनु अनिवार्य भएको छ । वास्तु विज्ञानले तपाईं हाम्रो घरलाई वास्तु अनुकूल बनाई सुख, शान्ति र समृद्धिका लागि परामर्श र उपचार गर्छ । 

लेखक वास्तु विज्ञानका सञ्चालक तथा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप