शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा महानगरले खर्चियो साढे ५ अर्ब

बिहीबार, २६ असार २०८२, २२ : १८
बिहीबार, २६ असार २०८२

पाेखरा । गण्डकीको एक मात्रै पोखरा महानगरपालिकाले यो वर्ष झन्डै साढे ५ अर्ब खर्च गरेको छ । ७ अर्ब ५१ करोडको बजेट ल्याएको पोखराले वर्षभरीमा ५ अर्ब ३५ करोड खर्च गरेको हो ।

महानगरले गरेको खर्च पूरा बजेटको ७१.२२ प्रतिशत हुन आउँछ । खर्च गरेर २ अर्ब १६ करोड रुपैयाँ मौज्दात रहेको महानगरका वित्त महाशाखा प्रमुख जयराम पौडेलले जानकारी दिए ।

महानगरको समग्र खर्च उत्साहजनक देखिए पनि विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्चभन्दा प्रशासनिक तथा सञ्चालन (चालु) खर्चको दर उच्च रहेको छ । उनका अनुसार ३ अर्ब १८ करोडको चालू बजेटमध्ये २ अर्ब ८० करोड अर्थात् झन्डै ८८ प्रतिशत खर्च गरिएको छ ।

यसको विपरीत, विकास परियोजनाहरूमा लगानी हुने ४ अर्ब ३२ करोड ७५ लाख ६४ हजार रुपैयाँको पूँजीगत बजेटमा २ अर्ब ५४ करोड ९४ लाख ९५ हजार (करिब ५९ प्रतिशत) मात्र खर्च भएको छ ।

पोखराले महानगर सहित विभिन्न ४३ खर्च केन्द्रबाट बजेट निकासा दिन्छ । वडा कार्यालयले पनि आफ्नो बजेटको चेक आफै काट्दै आएका छन् । खर्च केन्द्रगत विवरण हेर्दा केही वडा कार्यालय र महाशाखाहरूले बजेट कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गरेका छन् भने केहीको प्रदर्शन अत्यन्तै कमजोर देखिएको छ । वडा नम्बर २१ ले सर्वाधिक धेरै ९५.८ प्रतिशत बजेट खर्च गरेको छ । वडा नम्बर १६ ले पनि २१ कै हाराहारी ९५.१९ प्रतिशत खर्च गरेको छ ।

महाशाखातर्फ सबैभन्दा धेरै खर्च शिक्षा महाशाखाबाट भएको छ । शिक्षाले ९३.३३ प्रतिशत खर्च निकालेको हो । शहरी उत्थानशील तथा जीविकोपार्जन सुधार आयोजनाले सबैभन्दा कम खर्च गरेको देखाएको छ ।

यो परियोजनाले कुल २६ करोड १६ लाख १९ हजार बजेटमध्ये जम्मा ३० लाख ४७ हजार अर्थात १.१६ प्रतिशत मात्रै खर्च गरेको छ । शहरी विकास, पर्यटन तथा वातावरण महाशाखाको पनि खर्च निराशाजनक छ । यसले ४७.०४ प्रतिशत खर्च गरेको छ । वडा तर्फ ३ नम्बर वडा कार्यालयले सबैभन्दा कम खर्च अर्थात् ४७.९६ प्रतिशत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप