बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संस्मरण

गणेश दाजु जानुभो

शनिबार, २८ असार २०८२, १७ : ३०
शनिबार, २८ असार २०८२

सारांश

  • लेखमा गणेश रसिकसँगको भेटघाट र उनको स्वास्थ्य अवस्थाबारे वर्णन गरिएको छ।
  • लेखकले बाल्यकालदेखि रसिकलाई चिनेको र उनलाई भेट्ने सपना पूरा भएको कुरा उल्लेख छ।
  • रसिकको स्वास्थ्यमा आएको गिरावट र उनको निधनले लेखकलाई दुखी बनाएको छ।

सानो छँदा, विद्यालयको कक्षाकोठामा ‘हट्ने होइन डटी लड्ने, नेपालीको बानी हुन्छ’ गीतलाई स्वर मिलाइमिलाई गाउने गर्थ्यौं हामी । महेन्द्रमाला नामक पुस्तकमा थियो उक्त गीत । राष्ट्रिय भावनाले भरिभराउ गीतलाई हामीले कण्ठस्थ बनाएका थियौँ त्यसबेला । त्यहीबेला लागेको थियो, ‘यो गीत लेख्ने मान्छे नजिकबाट कस्तो होला ? कस्तो दिमाग भएको मान्छेले गीत लेख्छ होला ?’ मनमा यस्तैयस्तै कुरा खेलिरहन्थे । गीत लेख्ने, गीत गाउने मान्छेलाई भेट्न पाए कस्तो हुन्थ्यो होला भन्ने उत्सुक जागिरहन्थ्यो । तर मेरा लागि यो सम्भव हुने कुरै थिएन ।

सुदूरपूर्वको एउटा गाउँमा बस्ने मजस्तो अति साधारण बच्चाका लागि दिवास्वप्न मात्रै थियो त्यो । तर गणेश रसिकलाई रेडियो नेपालबाट नियमितजसो सुनिरहन्थ्यौँ हामी । ‘मलाई प्यारो लाग्छ, लहरा पहराको गीत’, ‘यो नेपाली ठिटो, खान्छ सिटोपिठो’ लगायत कैयौँ गीत आपाले बजाउने रेडियोबाट सुन्ने गर्थें म । त्यसबेलाको एक मात्र रेडियो भन्नु रेडियो नेपाल मात्रै थियो । त्यही रेडियो नेपालबाट गणेश रसिक, हिरण्य भोजपुरे, गोपाल योञ्जन, अम्बर गुरुङहरू बज्थे ।

समय बित्दै गयो । परिस्थितिले मलाई देशबाट लखेट्यो । म हङकङ आएँ । लामो समयदेखि हङकङमा काम गरेँ । आज पनि म यहीँ छु । काम सँगै गीत सुन्ने, कविताहरू पढ्ने, आफैँ पनि केही लेखेजस्तो गर्न थालेँ । साहित्य सानैदेखिको मेरो रुचिको विषय छँदै थियो । कामबाट बचेको समयमा लेखपढमा लगाउँथे म ।

एकदिन । सन् २०१३ को मार्च ३ तारिख । हङकङमा कार्यरत भोजपुरेहरूले ‘भोजपुरे साँझ’ गर्ने कार्यक्रम तय भयो । भोजपुर मेरो जन्म नभए पनि मेरो जरा भोजपुरै हो । म आफैँलाई झापाली भन्दा भोजपुरे हुँ भन्नुमा गर्व लाग्छ । आमा–आपा, दाजुहरू सबै भोजपुरमा जन्मिए पनि म भने झापामा जन्मेकी हुँ । भोजपुरबाट हाम्रो परिवार बसाइँ सरेर झापा झरेपछि म झापामै जन्मिएकी हुँ तर बर्सेनि आमाआपाको पछि लागेर पहाड भोजपुर निस्कन्थेँ म । त्यस कारण पनि भोजपुर मेरा लागि विशेष हुने गर्छ । उक्त भोजपुरे साँझमा भोजपुरे गायकहरूको विशेष कार्यक्रम राखिएको थियो । भोजपुरे साँझमा नेपालबाट आउने कलाकारको लिस्टको पहिलो नम्बरमै आदरणीय गणेश रसिकको नाम समावेश थियो । रसिक दाजुसँगै आभा मुकारुङ, भीषण मुकारुङ र श्याम साम्सोङ समेत हुनुहुन्थ्यो ।

महेन्द्र माला पुस्तकमा पढेको गणेश रसिक, रेडियोमा सुनेको गणेश रसिकलाई अब भने बल्ल नजिकबाट देख्ने, भेट्ने अवसर मिलिरहेको थियो । बाल्यकालको मेरो कुतूहलता, रहर पूरा हुने भएपछि मनमनै दङ्ग परिरहेकी थिएँ म । अन्ततः ‘भोजपुर साँझ’मा रसिक दाजुसँग भेट भयो । दाजुलाई नजिकबाट देखेँ । शिरमा भादगाउँले टोपी, आँखामा चस्मा, दौरा–सुरुवालमाथि कोट र रातो रङको गलबन्दी । नजिकबाट रसिक दाजुलाई देखेपछि फेरि एकपटक उही पुरानो दिनको याद ताजा भएर आयो । महेन्द्र मालाको ‘हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ’ भन्ने गीतको सम्झना भएर आयो । त्यसयता गणेश रसिक दाजुसँग निकट रहँदै आइरहेँ । भोजपुर साँझपछि इलाम समाज हङकङले समेत रसिक दाजुको एकल साङ्गीतिक साँझ कार्यक्रम गर्‍यो । उक्त कार्यक्रममा पनि दाजुसँग भेट भयो । सो भेटमा दाजुले मेरा लागि उहाँद्वारा लेखिएको संस्मणहरूले सजिएको पुस्तक ‘दशगजामा उभिएर’ पुस्तक उपहार दिनुभयो । त्यो पढेपछि त यस्तो लाग्यो, हामीले के दुःख भोगेका रहेछौँ र ? रसिक दाजुको दुःखको अघि हामीले पाएको सानोतिनो दुःख केही रहेनछ भन्ने महसुस भयो । उहाँले आफूले हुर्काउनुभएका आफ्नै भाइहरू शम्मी, श्यामा र प्रजुलाई गुमाइसक्नुभएको रहेछ । दशगजामा उभिएर पुस्तक उनी भाइहरूलाई समर्पण गरिएको पढेपछि मन कुडिएर आएको थियो ।

केहीछिन हिँडेपछि हेमन भाइले भन्नुभयो, ‘नाना ! रसिक दाजु फर्किनुहुन्न अब ।’ हेमन भाइको कुराले मेरो मनमा हुरी चल्यो । अघि मैले उहाँका हात समाएकी थिएँ । त्यसबेला दाजुले आँखाभरि आँसु बनाउनुभएको दृश्य फेरि आँखामा आयो । हेमन भाइको कुरा सुनेपछि यस्तो लाग्यो, ‘के गणेश दाजुलाई अन्तिमपटक छोएँ मैले ?

दसगजामा उभिएर पुस्तकको चौथो संस्करण आउँदासम्म एउटै मात्रै भएको छोरा निमेश समेत गुमाइसक्नुभएको थियो । रसिक दाजुले गुमाइसकेको छोराका लागि त्यहीँ चौथो संस्करणमा लेख्नुभएको छ— ‘छोरा मलाई थाहा छ, तँैले दोहोर्‍याएर पढेको धेरै पुस्तकमध्ये ‘दसगजामा उभिएर’ पनि हो । हाम्रो पारिवारिक जीवनको इतिवृत्त त्यो पुस्तकभित्रको जीवन्त पात्रहरूमा तँ पनि साक्षी थिइस् । तेरा तीनजना काकाहरू पनि थिए र तिनैजना काका एकएक गर्दै असमयमा नै यो धर्ती छाडेर गएपछि मैले दसगजामा उभिएर तेरो काकाहरूको नाममा समर्पण गरेको थिएँ । र थप यो पनि लेखेको थिएँ, अब मेरो पालो तर निमेश ! छोरा भएर पनि तैँले कहाँ दिइस् र म बाबुलाई आफ्नो पालो पुर्‍याउन । तेरो जिद्धी र ढिपी गर्ने बानीले जबर्जस्ती नै मेरो पालो मिचिस् मिचाहा... ।’

यसरी दुःख र पीडाहरूका ढाकरले थिचिँदै बाँचिरहनुभएका रसिक दाजुलाई भाउजू निराले समेत कोभिडको समयमा सधैँका लागि छाडेर जानुभयो । भाइहरू गए, एउटै भएको छोरा गए, श्रीमती थिइन् । उनी समेत गएपछि रसिक दाजु साँच्चिकै एक्लो हुनुभयो । उहाँको एक्लोपन देखेर नियतिले समेत उहाँलाई एक्लै राखिरहन सकेन सायद । श्रीमती गुमाएको केही समयपछि रसिक दाजु आफैँलाई क्यान्सर जस्तो घातक रोगले आक्रमण गर्‍यो ।

दाजुसँग २०१३ मा परिचित भएबाट म प्रत्येकपटक नेपाल जाँदा गणेश रसिक दाजुलाई भेट्ने गर्थें । काठमाडौँको गहनापोखरीमा धेरैपटक पुगेकी छु । भाउजूको हातको मिठामिठा परिकार खाएकी छु । थकाली समुदायकी भाउजूले बनाउने परिकार विशेष हुन्थे । भाउजूको मृत्युपछि सायद उहाँको झझल्को मात्र आइरहने भएर गहनापोखरीको घर छाडेर भक्तपुर सर्नुभयो । डेढ वर्षअघि कामविशेषले नेपाल जाँदा पनि उहाँलाई भक्तपुरको सोही घरमा भेट्न पुगेकी थिएँ । दाजुलाई रोगले च्यापिसके पनि सधैँजस्तै स्वास्थ्य देखिनुभएको थियो । अस्ति भर्खरै मात्र । फागुन ३ कान्तिपुरमा ‘गणेश रसिकको वियोगान्त जीवनी’ दीपक सापकोटाले रसिक दाजुमाथि लेख्नुभएको लेख पढिरहँदा लेखसँगै छापिएका दाजुको तस्बिरहरू मैले हेर्नै सकिनँ । एक वर्षअगाडि स्वस्थ देखिनुभएको रसिक दाजुलाई क्यान्सरले जित्न थालेछ, सोचेर मन भाँचिएको थियो मेरो । पत्रिकामा छापिएको तस्बिरहरूले आँखा भरिएका थिए मेरा ।

यसपटक मेरो पुस्तक ‘प्याउली’ विमोचन साथै केही काम विशेषले भर्खरै गएको फागुन २१ मा नेपाल पुगेको भोलिपल्ट भाइ हेमनलाई लिएर दाजुलाई भेट्न भक्तपुर पुगेँ । अहो ! २०१३ मा पहिलोपटक देखेको कहाँको भव्य रसिक दाजु, अहिले आफैँ हलचल गर्न नसक्ने, आगोले डढेर बँचेको कालो मुढाजस्तो रसिक दाजु ! एकैछिन त दाजुलाई हेर्नै सकिनँ मैले । सुरुमा त दाजुलाई बोलाउन बक्के समेत फुटेन मेरो । घाँटीमा शब्दहरू अड्किए । दाजुको त्यो हालत देखेर उहाँको अघि बस्नै सकिनँ म । कस्तो निस्सासिएजस्तै भयो । म कोठाबाट चुपचाप बाहिर निस्किएँ । बाहिरको चिसो हावामा एकैछिन फ्रेस भएँ । आँखामा भरिएको आँसु पुछे र फेरि भित्र छिरेँ । हेमन भाइ रसिक दाजुको छेवैमा बसेर केही कुरा गरिरहनुभएको थियो । चिकित्सकले दाजुलाई धेरै बोल्ने अनुमति नभएको कुरा उहाँका सहयोगीहरूबाट थाहा पायौँ हामीले ।

एकैछिन बसेपछि हामी दाजुलाई छाडेर निस्कियौँ । निस्कनुअघि भर्खरै प्रेसबाट ल्याएको मेरो पुस्तक ‘प्याउली’ उहाँलाई थमाएँ । बोलीहरू लर्बराउँदै मलाई बधाई र शुभकामना दिनुभयो ।

उहाँले पनि भर्खरै प्रकाशित ‘गणेश रसिक ः अभ्यर्थना ग्रन्थ’ थर्थर कामिरहेको हातले हस्ताक्षर गरेर मलाई र हेमन भाइलाई दिनुभयो । निकटमै विमोचन हुँदै गरेको मेरो पुस्तकका लागि आशीर्वाद र शुभकामना दिनुभयो । रसिक दाजुको घरबाट निस्कँदा हामी दिदीभाइ चुपचाप हिँडिरह्यौँ । केहीछिन हिँडेपछि हेमन भाइले भन्नुभयो, ‘नाना ! रसिक दाजु फर्किनुहुन्न अब ।’ हेमन भाइको कुराले मेरो मनमा हुरी चल्यो । अघि मैले उहाँका हात समाएकी थिएँ । त्यसबेला दाजुले आँखाभरि आँसु बनाउनुभएको दृश्य फेरि आँखामा आयो । हेमन भाइको कुरा सुनेपछि यस्तो लाग्यो, ‘के गणेश दाजुलाई अन्तिमपटक छोएँ मैले ?

खासमा त्यस दिन दाजुको अघि धेरैबेर बस्न नसकेरै चाँडो गरेर निस्किएका थियौँ हामी । भक्तपुरबाट ललितपुर पुग्दासम्म बाटोभरि दाइका गीत, कविता, संस्मरण, उपन्यास र पछिल्ला दिनहरूमा क्यान्सरले दाजुलाई बिस्तारै मार्दै लगिरहेको कारुणिक क्षणहरूका कुरा गरिरह्यौँ ।

...

नेपाल बसाइ बिट मारेर म आफ्नो कर्म क्षेत्र हङकङ फर्किएँ । यता आएर काममा व्यस्त भइगएँ । बेलाबेला सामाजिक सञ्जालमा दाजुका बारे अरु स्रष्टाले भेटघाट गरेका खबर आइरहेकै थिए । भर्खरै मात्र गीतकार संघ नेपालले उहाँलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ले सम्मानित गरेको फेसबुकबाटै थाहा पाएकी थिएँ । अस्पताल पुगेरै सम्मान गरिएको उक्त सम्मानपछि रसिक दाजुले उज्यालो अनुहार बनाएर केही मन्तव्य राखिरहेको दृश्यले मेरो मन त्यसै–त्यसै खुसी भएको थियो । अस्पतालको बेडबाटै उहाँले ‘वसन्त भाइ र बालिका बहिनीलाई पनि सम्झेको छु । तपाईंहरूले सुनाइदिनु है’ भनिरहनुभएको थियो । दाजुले हामीलाई दिनुभएको स्नेहले होला सायद, उक्त भिडियो हेरेर मेरो गला अवरुद्ध भएको थियो ।

भोलिपल्ट । आइतबारको दिन, यहाँ रेस्टुरेन्टको काममा व्यस्त थिएँ म । नेपालबाट आउनुभएका गुरुङ फिल्मका कलाकारहरूको पार्टी चलिरहेको थियो । त्यही ग्रुपबाट एक जनाले नेपालमा कसलाई के भएछ आज ? कालोदिन भनेर फेसबुकमा लेखिरहेका छन् त भन्नुभयो । लाऽऽ कसलाई के भएछ नि, फेरि सोचेँ । ठिक त्यसैबेला कहिले म्यासेज नगर्ने गीतकार अञ्जन किरातीले युकेबाट मेरो मेसेज बक्समा लेख्नुभयो, ‘रिप गणेश रसिक दाजु’ । सायद म गणेश दाजुको नजिक भएर उसले मलाई थाहा दिएको हुन सक्छ । अनि त थाहा भयो, गणेश दाजु पनि जानुभएछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालिका बान्तावा
बालिका बान्तावा
लेखकबाट थप