ख्वामित् यस् गिरिधारीले अति पिर्यो व्यर्थै गर्यो झेल पनि...
आज २१२औँ भानुजयन्ती । नेपाल तथा भारतमा मात्रै होइन नेपालीभाषी रहेका विश्वका विभिन्न स्थानमा आज साहित्यिक कार्यक्रम, कविता वाचन, रामायण पाठ, कविता प्रतियोगिता आदि आयोजना गरेर धुमधामका साथ भानुजयन्ती मनाइँदै छ । हामी हरेक वर्ष यो दिनमा भानुभक्तलाई सम्झन्छौँ ।
१८७१ असार २७ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यका पिता धनञ्जय आचार्य सरकारी कर्मचारी (खरदार) थिए । पिता कामको सिलसिलामा घर बाहिर हुने हुँदा भानुको बाल्यकाल हजुरबुबासँग बित्यो । उनका हजुरबुवा श्रीकृष्ण आचार्य तनहुँको चुँदी रम्घाका प्रतिष्ठित पण्डित अनि जमिनदार थिए । उनकै छहारीमा घरमै भानुभक्तको प्रारम्भिक शिक्षा संस्कृत भाषामा भयो ।
भानुभक्तको जन्मबारे विवाद पनि पाइन्छ । मोतीराम भट्टले लेखेको ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र’ (१९४८) मा भानुभक्तको जन्म वि.सं. १८६९ मा भएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डा. रजनी ढकाल भन्छिन्, ‘भानुभक्तकी नातिनी विष्णुमाया (रमानाथकी छोरी)ले सुब्बा रंगनाथ शर्मालाई ‘भानुभक्त मणिमाला’ (१९९८) मा भूमिका लेखाई उनको जन्म १८७१ असार २९ गते आइतबार भएको बेहोरा दिएकी थिइन् ।’
भानुभक्तलाई नेपाली साहित्यको आदि कविका रूपमा सम्मान गरिन्छ । उनको सिर्जनात्मक कृतिमाथि टेकेरै नेपाली साहित्यको आकाश फैलिएको हो तर उनले यो उपाधि आफ्नो जीवनकालमा पाएका होइनन् । उनको मृत्युको कैयौँ वर्षपछि मात्रै नेपाली समाजले उनलाई आदिकवि भनेर चिन्यो । संस्कृतजस्तो कठिन भाषामा सीमित धार्मिक ग्रन्थहरू आम नेपालीले बुझ्न नसक्ने अवस्था थियो । त्यस्तो बेला भानुभक्तले नेपालीमा रामायण लेखेर नेपाली भाषाको उन्नयनमा ठुलो योगदान गरे । त्यो बेला संस्कृत लेखपढ र बुझाइ केवल पण्डित वर्गको पहुँचमा थियो । भानुभक्तले रामायणलाई नेपालीभाषीका माझमा पुर्याए ।
- नेपालीमा रामायण
रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्दा भानुभक्तले केवल शब्द अनुवाद गरेनन्, भावनालाई पनि रूपान्तरित गरे । रामायणमा वर्णन गरिएका पात्रहरू, कथा र दर्शन नेपाली संस्कार, समाज र भाषा अनुसार ढाले । भानुभक्तको रामायण त्यही ‘अनुवाद’ मात्र रहेन, त्यो त नेपाली आत्माको पुनर्जागरण बन्यो । उनको भाषा सरल, सरस, लयात्मक र नैतिक शिक्षाले भरिएको हुन्छ ।
एक् दिन् नारद् सत्य लोक पुगि गया लोक्को गरुँ हित् भनी ।
ब्रह्मा ताहिँ थिया पर्या चरणमा खुसी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै ।।
भानुभक्तले रामायणलाई नेपालीभाषीले बुझ्ने सरल शैलीमा प्रस्तुत गरेका छन् । गम्भीर विषयलाई सहज भाषामा लेख्ने कला उनीमा थियो । भानुभक्तको कृतित्व उनको जीवनकालमै प्रसिद्ध भने भएन । उनले जीवनको उत्तरार्द्धमा कष्टसाध्य जीवन बिताए । १९२५ सालमा उनको निधन भयो । मृत्यु भएपछि मात्र उनका कृतिहरू प्रकाशित हुन थाले । खासगरी उनका नाति तुल्सीराम आचार्यले उनका कृति संकलन गरी प्रकाशित गरेपछि भानुभक्त ‘जनकवि’का रूपमा स्थापित भए ।
भानुभक्तले संस्कृत भाषाबाट अनुवाद गरेको भए पनि भानुभक्तीय रामायण नेपाली परिवेशमा भिजेको डा. रजनी ढकाल बताउँछिन् । ‘उनको रामायणमा राम र लक्ष्मण पनि नेपाली लाग्छन् । मूलतः संस्कृतमा अभ्यस्त रहेको शार्दूलविक्रीडित छन्दलाई नेपाली सरल भाषामा लेखेको हुनाले रामायणबाट भानुभक्तको लोकप्रियता बढेको हो,’ डा. ढकाल भन्छिन्, ‘भानुभक्तले आफू बाँचेको समाज र लोकजीवनका विषयलाई कवितामा बुनेका छन् । कविता संस्कृत भाषामा मात्र लेखिन्छ, कविताको विषय जीवनभन्दा परको विशेष चिन्तन हुन्छ भन्ने तत्कालीन सोचलाई भानुभक्तले बदलिदिएका छन् ।’
डा. ढकालका अनुसार, समाज र जीवनका भोगाइसँग जोडिएका विषय कविताका जीवन्त आधार हुन् भन्ने पक्षलाई भानुभक्तको काव्य लेखनले स्थापित गरिदिएको छ । उनका फुटकर कविता, खण्डकाव्यले पनि यसलाई पुष्टि गरेका छन् । जनबोलीको नेपाली भाषालाई कवितामा उतार्ने र समाजका यथार्थलाई टिपोट गर्ने उनको प्रवृत्ति मुख्य रूपमा स्मरणीय छ । ‘जातीय, लैङ्गिक र सामाजिक विभेदलाई सचेततापूर्वक सम्बोधन गर्न नसक्नु भानुभक्तको लेखनमा रहेका कमजोरी हुन् तर आफ्नो चेतनाको तह अनुसार भाषा र साहित्यमा आफूलाई समर्पण गरेका कारण उनलाई सम्झिनुपर्छ,’ डा. ढकाल भन्छिन्, ‘उनका कविताले कतै शक्तिको अर्चना गरेका छन् र कतै भ्रष्ट शासनका विरुद्ध पनि बोलेका छन् । ‘भोलि भोलि भन्दैमा... जस्ता कवितालाई हेर्दा उनीमा केही सचेतता देखिन्छ नै । त्यो समयको अवस्था अनुसार उनले सामाजिक र पारिवारिक सुसम्बन्धका लागि आदर्शको नै गायन गरेका छन् ।’
भानुभक्तपूर्व पनि राम्रा कवि नदेखिएका होइनन्, उनका समकालीन सन्त ज्ञान दिलदासले सामाजिक र जातीय विभेदका विरुद्ध बोलेका छन् तर भानुभक्तको चेतना त्यो तहमा नपुगेको डा. ढकालको भनाइ छ । ‘यद्यपि उनको नेपाली भाषाप्रतिको लगाव अनि लेखनको समर्पण भावले उनी सम्मानित भएका हुन् भन्ने लाग्छ,’ डा. ढकाल भन्छिन्, ‘जयन्ती मनाउने परम्परा नेपाली समाजमा छ, नेपाली भाषाका लागि काम गरेका अग्रज स्रष्टा भएका कारण हामी भानुभक्तलाई सम्झिन्छौँ र सम्झिनुपर्छ भन्ने लाग्छ ।’
भानुभक्तलाई हामी राष्ट्रिय गौरवका रूपमा सम्झन्छौँ । नरेन्द्रराज प्रसाईंले आफ्नो कृति ‘भानुभक्त आचार्यको जीवनवृत्त’मा उल्लेख गरे अनुसार, भाषा साहित्यमा दिएको योगदानको कदर गर्दै २००३ सालमा भारतको दार्जिलिङमा भानुजयन्ती मनाइयो । सोही वर्ष धरानमा पनि भानुजयन्ती मनाइएको थियो । २०१० सालमा गोपाल पाँडे ‘असीम’ले नेपाली शिक्षा परिषद्का माध्यमबाट कवि शिरोमणि लेखनाथ पौड्यालको सभापतित्वमा भानुजयन्ती मनाएको जानकारी भेटिएको प्रसाईंले उल्लेख गरेका छन् । समयकालसँगै भानुभक्त आचार्य एउटा वंश, गोत्र वा जात वा भूगोल विशेष मात्रै सीमित भएनन्; उनलाई नेपाल सरकारले राष्ट्रिय विभूतिका रूपमा अभिलिखित गर्यो । अहिले उनी नेपाली साहित्यको आदिकवि बनेका छन् । राष्ट्रको गौरव भएका छन् । अहिले हरेक वर्ष उनको जन्मजयन्तीमा भानुजयन्ती मनाइन्छ ।
मनमा आएका जस्तासुकै भावलाई भानुभक्तले कवितामा उतार्न सक्थे । आफ्ना विचार र भावनालाई उनले कवितामा कसरी व्यक्त गर्थे भन्ने धेरै उदाहरण पाइन्छन् । भानुभक्तकै गाउँमा गिरिधानी रानाभाट नाम गरेका एक धनीमानी व्यक्ति थिए । उनीसँग भानुभक्तले जग्गाको मुद्दा खेप्तै आएका थिए । यसै सन्दर्भमा भानुभक्तले लेखेका छन् ।
- मनका भावना कवितामा
मनमा आएका जस्तासुकै भावलाई भानुभक्तले कवितामा उतार्न सक्थे । आफ्ना विचार र भावनालाई उनले कवितामा कसरी व्यक्त गर्थे भन्ने धेरै उदाहरण पाइन्छन् । नरेन्द्रराज प्रसाईंंको पुस्तक अनुसार, भानुभक्तकै गाउँमा गिरिधानी रानाभाट नाम गरेका एक धनीमानी व्यक्ति थिए । उनीसँग भानुभक्तले जग्गाको मुद्दा खेप्तै आएका थिए । यसै सन्दर्भमा भानुभक्तले लेखेका छन् ।
ख्वामित् यस् गिरिधारीले अति पिर्यो व्यर्थै गर्यो झेल पनि,
यस्का झेल उतार्नलाई सजिलो यो हो व्यहोरा भनी ।
ख्वामित्लाई चढाउनकन ञहाँ क्यै श्लोक कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस्त झगडा छिनिन्छ पाऊ पर्याँ ।
००
साँचा हुन् जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी,
ई कुरा त अइन् सवाल रितले स्रेस्ता प्रमाण्ले गरी ।
साबित् ता ठहरेन पो पनि भन्या यसमा अइन्मा जती,
तोक्याको छ गुना हजार तिरुँला राख्वैन एक्दाम रती ।
००
यस्भन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दसी छन् सही,
श्रोता साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहीँ ।
गन्र्याछैन उजुर्गर्याँ पनि भन्या झुट्टा गराई दिनू,
सर्कार्मा इजहार्दिञा खुशि भई यो झेल् कसोरी छिनू ।’
भानुभक्तको जीवन परिवर्तन गर्ने पात्र कुनै साहित्यिक गुरु थिएनन् न त व्यक्ति कुनै पण्डित नै थिए । ती त एक सामान्य घाँसी थिए । ती घाँसीले घाँस काटेर बेचेको पैसाले कुवा खन्न लागेका थिए । यो देखेर भानुभक्त निकै प्रभावित भए । भानुभक्तका पंक्ति छन् :
भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
बाबुराम आचार्य लगायत केही इतिहासकारले भानुभक्त र घाँसीको भेटलाई मिथ्या पनि भनेका छन् । भारत बसाइका क्रममा घाँस किनबेच हुने देखेका मोतीरामले नेपालमा पनि त्यस्तै गरी घाँस बिक्री हुने स्थिति कल्पेर घाँसी र भानुभक्तको काल्पनिक संवाद तयार पारेको पनि भनिन्छ ।
रामायणबाहेक भानुभक्तका अन्य चार कृति छापिएका छन् । भानुभक्तलाई प्रकाशमा ल्याउने काम मोतीराम भट्टले गरेका हुन् । भानुभक्तको मृत्यु हुनुभन्दा दुई वर्षअघि मात्रै जन्मिएका थिए भट्ट । उनले भानुभक्त आचार्यबारे खोजबिन गरे र जीवनी लेखे । उनले भानुभक्तलाई आदिकविका रूपमा उभ्याउन केही कसर बाँकी राखेनन् । केहीपछि भानुभक्तका आफन्तले पनि उनको जीवनी लेखेका छन् । उनीबारे बाहिर आएका कुरामा अनेक तथ्यगत तरलता भेटिन्छ । धेरैपछि उनीबारे लगभग एकै प्रकारका घटनाक्रम प्रस्तुत भएका भए पनि पाठकमाझ उनीबारे के कुरा पत्याउने र के नपत्याउने भन्ने स्थितिको सिर्जना भएको जीवनीकार नरेन्द्रराज प्रसाईंले आफ्नो कृतिमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण