पानी नपर्दा सुक्यो धानको ब्याड
सारांश
- सुनसरीका किसानहरूले समयमै वर्षा नहुँदा धानको ब्याड सुक्न थालेको गुनासो गरेका छन्।
- सिँचाइको अभाव र आकाशे पानीको भर परेका किसानहरूले धान रोपाइँ गर्न सकेका छैनन्, जसले गर्दा बाली गुम्ने खतरा बढेको छ।
- कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार, गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ निकै कम भएको छ र किसानहरूले राहतको माग गरेका छन्।
सुनसरी । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो ।
आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ । स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने, “यो वर्ष पानी पर्ने आशा त थियो, तर चाहिएको बेला पानी परेन । हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ ।”
उनकाअनुसार विद्युत् आपूर्ति सबै क्षेत्रमा नपुगेकाले पम्प सेट मार्फत सिँचाइ गर्न सकिएको छैन । वराहक्षेत्र नगरपालिकाले श्रीलङ्का टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ ।
रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताए । वर्षामा भर पर्ने उनीहरूजस्ता किसानलाई यही अवस्था रहिरहेमा धान बाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ ।
कोशी गाउँपालिका–७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताए । धरान उपमहानगरपालिका–६ का किसान बुद्धिमान तामाङका अनुसार कुलोमा पानी नआएपछि रोपाइँ गर्न सकिएको छैन । “पोहोर साल यही समयसम्म रोपाइँ सकिएको थियो, तर यसपालि तीन भागमा एक भाग पनि रोपाइँ सकिएको छैन”, तामाङले भने ।
सुनसरीमा हाल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, गत वर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । तर यस वर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइ भएको छ ।
किसानले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बिउ र अन्य कृषि उपकरणमा अनुदान माग गरिरहेका छन् । केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट राहतको माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण