विमानस्थल अध्यागमनमा अब कर्मचारीले उन्मुक्ति नपाउने
सारांश
- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कर्मचारीका लागि 'एकीकृत जबाफदेहिता फ्रेमवर्क, २०८२' तयार पारेको छ।
- फ्रेमवर्कले कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै कमजोरी, विवाद र अनियमितता नियन्त्रण गर्ने लक्ष्य राखेको छ।
- नक्कली कागजात प्रयोग गरेमा मेनपावर/कन्सल्टेन्सीलाई जिम्मेवार बनाइनेछ भने भिसा नवीकरण नगर्नेलाई जरिवाना गरिनेछ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कर्मचारीहरूका लागि ‘एकीकृत जबाफदेहिता फ्रेमवर्क, २०८२’ तयार पारेको छ। कर्मचारीहरूको काम, कर्तव्य र अधिकारमा स्पष्टता ल्याउँदै उनीहरूलाई आफ्नो कामप्रति पूर्ण जबाफदेही बनाउन फ्रेमवर्क बनाएको हो । उक्त फ्रेमवर्क आजदेखि लागू भएको अध्यागमन कार्यालयले जनाएको छ ।
विमानस्थलको अध्यागमन प्रक्रियामा बारम्बार देखिने कमजोरी, विवाद र अनियमिततालाई नियन्त्रण गर्ने उद्देश्यले फ्रेमवर्क तयार पारेको हो । यसले कुनै पनि त्रुटि वा समस्या देखिएमा कुन कर्मचारी प्राथमिक रूपमा जिम्मेवार हुने र अन्तिम जबाफदेही को हुने भनी स्पष्ट रूपमा किटान गरेको छ।
के–के छन् मुख्य व्यवस्थाहरू ?
फ्रेमवर्कले नेपाली नागरिकको प्रस्थान, विदेशी नागरिकको आगमन तथा बसाइ र प्रक्रियागत त्रुटिहरूलाई मुख्य तीन खण्डमा बाँडेर हरेक अवस्थामा हुने कारबाहीको व्यवस्था गरेको छ।
१. नेपाली नागरिकको प्रस्थानमा कडाइ
नक्कली कागजात : नक्कली वा फर्जी कागजात प्रयोग गरी कुनै यात्रुले यात्रा गरेको पाइएमा सम्बन्धित यात्रुका साथै त्यसमा संलग्न मेनपावर÷कन्सल्टेन्सीलाई समेत जिम्मेवार ठहऱ्याई मुलुकी अपराध संहिताअनुसार कारबाही अघि बढाइनेछ।
अधुरा कागजात : आवश्यक कागजात पूरा नभएका यात्रुले प्रस्थान अनुमति पाएमा डेस्कमा खटिएका अधिकृत प्राथमिक जिम्मेवार र सुपरिवेक्षकको रूपमा रहेका वरिष्ठ अध्यागमन अधिकृत अन्तिम जबाफदेही हुनेछन्। उनीहरूमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
प्रतिबन्धित यात्रु : यात्रामा प्रतिबन्धित व्यक्तिले यात्रा गरेको पाइएमा सम्बन्धित एयरलाइन्स कम्पनीलाई जिम्मेवार बनाइ कारबाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा लेखी पठाइनेछ।
२. विदेशी नागरिकको आगमन र बसाइमा निगरानी
कालोसूचीका व्यक्तिलाई प्रवेश : नेपाल प्रवेशमा रोक लगाइएका व्यक्तिले भिसा वा आगमन अनुमति पाएमा अनुमति दिने अधिकृतलाई जिम्मेवार बनाइनेछ । त्यस्ता विदेशीलाई कानुनबमोजिम देश निकाला गर्न अध्यागमन विभागमा लेखी पठाइने र भिसा जारी गर्ने अधिकृतमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
भिसा नवीकरण : भिसा नवीकरण नगरी लामो समय बस्ने विदेशी नागरिकलाई कानुनअनुसार शुल्क, विलम्ब शुल्क र जरिवाना तिराएर मात्र नवीकरण गरिनेछ वा मन्त्रालयको स्वीकृतिमा देश निकाला गरिनेछ।
३. प्रक्रियागत त्रुटिमा पनि कारबाही
फ्रेमवर्कले स–साना प्रक्रियागत त्रुटिमा समेत कारबाहीको व्यवस्था गरेको छ, जसअनुसार पहिलो पटक गल्ती भएमा सचेत गराउने र त्रुटि दोहोरिएमा विभागीय कारबाही गरिनेछ।
यो फ्रेमवर्कले अध्यागमनजस्तो संवेदनशील निकायमा हुने गरेका कमजोरीहरूलाई सम्बोधन गरी सेवालाई थप पारदर्शी, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालाले काममा सहजता ल्याउने र तीव्र रूपमा सेवा प्रवाह गर्न सहज हुने बताए । यसका लागि मुख्य सचिवबाट समेत निर्देशन आएका उनको भनाइ छ ।
भिजिट भिसा प्रकरण चर्चामा आएपछि अध्यागमनले कमीकमजोरी सुधार गर्न विभिन्न कदमहरू अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण