शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
स्थलगत रिपोर्ट

काठमाडौँदेखि पोखरासम्मको सडक : कसैलाई राहत, कसैको उठिबास

मङ्गलबार, ३१ असार २०८२, ०७ : ३६
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • पृथ्वी राजमार्ग विस्तारले कतै राहत त कतै पीडा दिएको छ, कतिपय स्थानमा घर भत्काउनुपरेको छ।
  • नागढुंगा-पोखरा सडक विस्तार लामो समयदेखि नसकिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ, कतै कालोपत्र सम्पन्न भएको छ भने कतै स्तरोन्नति हुँदैछ।
  • विभिन्न खण्डमा सडक निर्माणको म्याद थपिएको छ, भने कतिपय पुल निर्माण अन्तिम चरणमा पुगेका छन्।

काठमाडौँ । राजधानीलाई पर्यटकीय नगरी पोखरा जोड्ने पृथ्वी राजमार्ग विस्तारले कतै राहत र कतै पीडा दिएको छ । धादिङको सिमबजारमा सडक बनेपछि धुलो र दुर्घटनाबाट मुक्ति पाएकोमा स्थानीय खुसी छन्, तर त्यही सडकका कारण घर भत्काउनुपर्दा ईश्वरप्रसाद धिताल जस्ताको उठिबास लागेको छ । 

भौतिक पूर्वाधार मन्त्रालय, निर्माण व्यवसायी महासंघ र पत्रकारहरूको संयुक्त स्थलगत भ्रमणले देखाएको यो आयोजनाको यथार्थ हो ।  

नागढुंगादेखि पोखरासम्म १८५.२६ किलोमिटर सडकमध्ये १२.२६ किलोमिटर त्रिभुवन राजमार्गअन्तर्गत पर्दछ  । पृथ्वी राजमार्ग नौविसेदेखि पोखरासम्म १७३.४३ किलोमिटर छ ।

यो सडक लामो समयदेखि विस्तार हुन नसक्दा जनताले निकै सास्ती खेप्नुपरेको छ । कतै सडक कालोपत्रसम्पन्न भएको छ भने कतै स्तरोन्नति हुने क्रममा छ । त कतै निर्माण सम्पन्न भएको छ । कतै सडक निर्माण सकिए पनि स्थानीयलाई सास्ती भने अझै कायम छ ।

नागढुंगा–मुग्लिन सडकअन्तर्गत सिमबजार क्षेत्रमा सडक मर्मत हुँदा लामो समय सास्ती पाएको गुनासो गरेका छन् । अहिले स्तरोन्नतिपछि केही समस्या समाधान भएको स्थानीयहरूले बताएका छन् । धादिङ गल्छी गाउँपालिका सिमबजारकी चित्रकुमारी श्रेष्ठ पहिला सीमबजार क्षेत्रको सडकमा सवारी डुब्ने र दुर्घटना हुने समस्या हुने गरेको बताउँछिन् । तर सडक मर्मत हुन थालेपछि यस्तो समस्या नभएको उनले बताइन् । 

1b9d2d6b-08dc-4f71-b1cb-f81f16c6146b

‘पहिला धेरै डुबान हुन्थ्यो । पहिला गाडी डुब्ने मान्छे दुर्घटनामा पर्ने समस्या थियो । डरमर्दो सडक थियो । हामी स्थानीयले सडक डिभिजनलाई गहार्दागुहार्दा छिटो बनेको छ,’ श्रेष्ठले भनिन्, ‘हिउँदमा धुलो उडेर स्वास्थ्यमा समस्या परिरहन्थ्यो । अब सडक कालोपत्र भएपछि यो समस्या समाधान हुँदैछ ।’ तर अझै पनि बस्ती छेवैमा रहेको गर्दु खोलाको बाढी आउँदा बस्तीमा पस्ने समस्या भने रहेको उनी बताउँछिन् । 

सोही स्थानका शम्भु रिमाल पनि यो सडकमा भोगेको सास्तीबारे सुनाउँछन्, ‘पहिला यो सडक हिँडिसाध्य थिएन । यो सडक वरपरका बस्तीमा बाढी पसेर डुबान हुने समस्या थियो । अहिले हेर्दा राम्रो बनेको छ । अझै पनि यो खोला बाढी आउँदा घरलाई बाधा पार्छ ।’ 

42540bd7-1e16-4810-83b5-08099d474747

खोला छेउमा पर्खाल लगाएर बाढीको जोखिलाई नियन्त्रण गरिनुपर्ने उनको तर्क छ । 

यसैगरी ईश्वरीप्रसाद धिताल सडकका कारण घर भत्काउन बाध्य भएको बताउँछन् । ‘यही बाटाको कारणले मेरो उठिबास लाग्यो । घर डुब्यो, अहिले भत्काएर माटोले पुर्दैछु । अझै पनि माटो पुगेको छैन,’ धिताल भन्छन्, ‘यो सडकले कसैलाई फाइदा पुगे पनि कसैलाई बेफाइदा गरेको छ । पहिला कति यात्रुले दुःख पाए ।’

71f2210d-d7e6-4aaf-8bd4-693a605e937c

डुबानका कारण बजार क्षेत्रमा करिब १० घर प्रभावित भएको उनको भनाइ छ । साथै अहिले सडक बनेपछि सवारी डुब्ने र दुर्घटना कम भएको धितालले बताए । 

करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन वटा प्याकेज छुट्याएर स्तरोन्नति गरिँदै छ । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन भनी छुट्याइएको छ । पहिलो प्याकेजअन्तर्गत नागढुंगा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ । यी तीन वटै प्याकेजको निर्माणका लागि सरकारले विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिइएको छ ।

नागढुंगा–मलेखु कहाँ के छ समस्या ? 

यो सडकको पूर्वी खण्डको पहिलो प्याकेज नागढुंगा–नौबिसे खण्डको १२.२६ किलोमिटर सडक हो । यसको भौतिक प्रगति करिब ८५ प्रतिशतसम्म पुगेको छ । पूर्वी खण्डका आयोजना प्रमुख केशव ओझाकाअनुसार करिब ६ किलोमिटर सडक दोस्रो लेयरको कालोपत्र सकिएको छ । तेस्रो तहको कालोपत्र बर्खा सकिएपछि सुरु गरिने भएको छ । 

सुरुङको भाग र झ्याप्ले खोलाबाहेक सबै सडकमा कालोपत्र सकिएको छ । यो खण्डमा पर्ने दुईवटा पुलहरू नौबिसे र खत्रीपौवाको स्लाब ढलान भइसकेको छ । पहुँच मार्ग निर्माणको काम बाँकी छ ।

यो खण्ड १ अर्ब ३० करोड रुपैयाँ लागतमा जाङ्सु–सगुन जेभीले २०७८ चैत २९ गते २४ महिनाभित्र स्तरोन्नति सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । २०८१ जेठ २८ गते सक्नुपर्नेमा नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो । दोस्रोपटक थपिएको म्याद २०८२ साउन १० गतेसम्म छ । उक्त अवधिमा नसकिने भएपछि म्याद थप गर्ने तयारी भइरहेको आयोजना प्रमुख ओझाले बताए । 

sss

पूर्वी खण्डको दोस्रो प्याकेज नौबिसे–मलेखु खण्डको करिब ४३ प्रतिशत काम सम्पन्न भएको छ । ४३.५४ किलोमिटरको यो खण्ड विस्तारका लागि ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागतमा जेडआईसीजी–शर्मा–लामा जेभीले २०७९ वैशाख १४ गते ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर सो अवधिमा विस्तार कार्यले गति लिन नसकेपछि २०८३ कात्तिकसम्मका लागि म्याद थप गरेको छ ।

हालसम्म १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने १३ मध्ये ८ वटा पुल निर्माण सकिएर सञ्चालनमा समेत आइसकेका छन् । ५ वटा पुल निर्माणधीन अवस्थामा छन् । 

मलेखु–मुग्लिन कति बन्यो ?

नागढुंगा–मुग्लिन सडकअन्तर्गत पश्चिम खण्ड मलेखु–मुग्लिन खण्ड ३८.८६ किलोमिटर सडक हो । यो खण्डमा अहिलेसम्म ८ किलोमिटर सडक  कालोपत्र गरिएको आयोजनाको पश्चिम खण्डले जनाएको छ । पश्चिम खण्डका आयोजना प्रमुख केदारप्रसाद नेपालका अनुसार करिब ३२ प्रतिशत काम सम्पन्न भएको छ । 

नेपालकाअनुसार ८ किलोमिटर चारलेन सडक कालोपत्र सकिएको छ । ६ वटा पुलमध्ये ४ वटा निर्माण अन्तिम चरणमा छ । २ वटा निर्माण सुरु भएको छ । २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको यो खण्ड कुल ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा शर्मा–जेडआईसीजीले निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ भित्र सक्नुपर्ने म्याद छ । तर आगामी आर्थिक वर्षभित्र निर्माणसम्पन्न हुने नेपाल बताउँछन् । 

2

यो खण्ड ढिला हुनुमा थुप्रै कारणहरू रहेको नेपाल बताउँछन् । ‘यो सडक खण्ड निर्माणमा ढिलाई हुनुको मुख्य कारण बिजुलीका पोल र सडक दायाँ–बायाँका रूखहरू समयमा नकाट्नु हो,’ नेपालले भने, ‘त्यसपछि निर्माण सामग्रीहरूको उपलब्धता समयमा नहुनु र निर्माण व्यवसायीको पनि स्रोत परिचालनमा ढिलासुस्ती, मुआब्जा, बाढीपहिरो आदि कारणहरू हुन् ।’

गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले सडकमा क्षति पुग्दा थप चुनौती थपिएको नेपाल बताउँछन् । ‘असोजको भीषण बाढी पहिरोले धेरै ठाउँमा सडकलाई क्षति पुरÞ्याएको हुनाले थप काम गर्न पनि ढिलो भयो,’ उनले भने, ‘बाढीले क्षति पुर्‍याएको पुनर्निर्माणको काम हुँदैछ । कृष्णभिरमा पुगेको क्षतिका कारण सडक निर्माणमा थप चुनौती थपियो ।’ कृष्णभिरलगायत सबै क्षतिग्रस्त स्थानमा पुनर्निर्माण भइरहेको छ । 

जामुने खण्ड मादी पुल निर्माण हुँदै   

एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा मुग्लिन–पोखरा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेन सडकलाई चार लेन र ६ लेनमा विस्तार गरिँदैछ । दुई खण्डमा विभाजित यस आयोजनाको निर्माण कम्पनी र लागत पनि फरक–फरक छन् । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड छुट्याएर निर्माण अघि बढाइएको छ । 

यस अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्डको ४१.११ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ । सडक पूर्वी खण्डका आयोजना प्रकाशचन्द्र भण्डारीकाअनुसार यस खण्डको भौतिक प्रगति ८५ प्रतिशत छ । 

उनका अनुसार यस सडक खण्डमा शतप्रतिशत सडक कालोपत्र सम्पन्न भएको छ । अब सडक सुरक्षासम्बन्धी कामहरू, जस्तैः रोड मार्किङ, ट्राफिक सङ्केत र सेफ्टी ब्यारियर जडानको काम भइरहेका छ । मुलसडकसँग जोडिएका सडकहरूमा करिब ५०० मिटर सडक कालोपत्र हुन बाँकी छ । 

यसैगरी मादीखोला पुल निर्माणका क्रममा रहेको छ । यो पुल ३१८ मिटर लम्बाइको छ । नेपालको पहिलो चार लेनको पुल हो । यसअघि नेपालमा चार लेनको कुनै पुल निर्माण भएकै छैन । 

पाँच वर्षभित्र निर्माण सक्नु पर्ने यो पुल डिजाइन एण्ड बिल्ड ठेक्काअनुसार निर्माण भइरहेको छ । यो पुल निर्माणका लागि १ अर्ब २१ करोड रकम लागतमा बन्दै गरेको यो पुलको अन्तिम म्याद आगामी भदौ २० गतेसम्म छ । 

जामुने–पोखरा अब एक वर्ष लाग्ने

जामुनेदेखि पोखराको सेती पुलसम्म ३८.८८ किलोमिटर सडकमध्ये १९ किलोमिटर सडक ६ लेन र बाँकी सडक ४ लेनमा विस्तार भइरहेको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ । 

करिब ३७ किलोमिटर सडक एकतर्फी कालोपत्र भएको छ । १५०० मिटर पुरानो सडकमा सवारी हिँड्नुपर्ने अवस्था छ । १२ वटामध्येमा ११ वटा पुल निर्माण सम्पन्न भएको छ । अब विजयपुर खोला पुल निर्माणको चरणमा छ । 

पश्चिम खण्ड निर्माणको ठेक्का ७ अर्ब ४० करोड रुपैयाँमा एनहुई केयूएन हाइवे एन्ड ब्रिजले पाएको हो । २०७८ जेठ ३ गते भएको सम्झौताअनुसार सुरुमा २०८१ भदौ १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर सो अवधिमा काम नसकिएपछि दुईपटक म्याद थपिएको छ । काम सक्ने अन्तिम म्याद २०८२ पुस १६ गतेसम्म छ ।

यो पुल करिब ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । एकपटक म्याद सकिएर पुन म्याद थप गरिएको छ । यो २०८२ पुससम्म म्याद छ । 

‘म्यादभित्र मुख्य सडक संरचना सकिन्छ । बाँकी फूटपाथ र सुरक्षाका विषयहरूलाई थप चाहिन्छ । सबै काम सम्पन्न गर्न २०८३ को असारसम्म समय चाहिन्छ,’ कुँवरले भने, ‘अहिले निर्माण कम्पनीले पनि राम्ररी काम गरेको छ । एक–दुई वर्ष ठेकेदारले ढिला गरेको र ठेक्का तोड्ने अवस्थामा पुगिसकेको थियो । पहिला बिजुलीको पोल,खानेपानीको समस्या थियो । चारलेन खण्डको पोल हटाइसकेको छ । करिब १५०/६० वटा पोल हटाउन बाँकी छ ।’ 

पश्चिम खण्ड निर्माणको ठेक्का ७ अर्ब ४० करोड रुपैयाँमा एनहुई केयूएन हाइवे एन्ड ब्रिजले पाएको हो । २०७८ जेठ ३ गते भएको सम्झौताअनुसार सुरुमा २०८१ भदौ १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर सो अवधिमा काम नसकिएपछि दुईपटक म्याद थपिएको छ । काम सक्ने अन्तिम म्याद २०८२ पुस १६ गतेसम्म छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप