कोशी प्रदेश सभाले बनाएको ऐनको उपदफा नै सर्वोच्च अदालतद्वारा खारेज !
सारांश
- सर्वोच्च अदालतले कोशी प्रदेशको स्थानीय सेवा ऐन, २०८० को दुई उपदफा खारेज गरेको छ।
- यस फैसलाले कोशी प्रदेशका पालिकामा भएका कर्मचारी बढुवालाई गैरकानुनी ठहर गर्दै पुरानै तहमा फर्काउनेछ।
- निजामती सेवाबाट समायोजन भएका कर्मचारीलाई बढुवा प्रक्रियामा सहभागी नगराउने प्रावधान थियो, जुन अब खारेज भएको छ।
विराटनगर । कोशी प्रदेश प्रदेश सभाले बनाएको ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८०’ को एउटा दफाको दुई वटा उपदफा नै खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २५ गते उक्त ऐनका दुई उपदफा बदर गर्ने फैसला गरेको हो ।
यो फैसलासँगै करिब एक वर्षअघि कोशी प्रदेशका विभिन्न पालिकामा भएका बढुवा गैरकानुनी ठहरिएका छन् । जसले गर्दा बढुवा पाएका कर्मचारीहरू पुरानै तहमा फर्किनुपर्ने भएको छ । त्यस्ता कर्मचारी कोशी प्रदेशमा अनुमानित ४ सयको संख्यामा रहेको कर्मचारीवृत्तले जनाएको छ । यद्यपि यसको आधिकारिक विवरण आएको छैन ।
कोशी प्रदेश सभाबाट पारित भएको ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८०’ ले निजामती सेवाबाट समायोजन भएर आएका कर्मचारीलाई बढुवा प्रक्रियामा सामेल नगराउने प्रावधान राखेको थियो । उक्त ऐनको दफा ८ को उपदफा १६ र १७ मा ‘निजामती सेवा बाहेक’ अन्य सेवाबाट समायोजित भएका कर्मचारीको मात्र बढुवा हुने व्यवस्था गरिएको थियो ।
यही व्यवस्था संघीय ‘कर्मचारी समायोजन ऐन, २०७५’ र संविधानको समानताको हकसँग बाझिएको भन्दै मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्की, भद्रपुर नगरपालिकाका प्रशासकीय अधिकृत खेम प्रसाईं लगायत कोशी प्रदेशका करिब ६० जना कर्मचारीले २०८० साल माघमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनीहरूको मुख्य जिकिर समायोजन ऐन, २०७५ अनुसार साविककै सेवाबाट ज्येष्ठता गणना हुनुपर्ने र बढुवाको अवसरबाट वञ्चित गर्न नपाइने भन्ने थियो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट निवेदकहरूको मागदाबी सदर गर्दै प्रदेश ऐनका उक्त विभेदकारी दफालाई बदर गर्ने फैसला सुनाएको हो । यद्यपि फैसलाको पूर्ण पाठ नआएसम्म आधिकारिक निकायले यसबारे केही बताउन चाहेन ।
सर्वोच्चको यो फैसलासँगै कोशी प्रदेशका पालिकाहरूमा छैटौँबाट सातौँ र आठौँबाट नवौँ तहमा भएका बढुवाहरू स्वतः बदर हुनेछन् । फैसलाको पूर्णपाठ आएपछि यो निर्णय कार्यान्वयनमा जाने र बढुवा भएका कर्मचारीहरू पुरानै तहमा घटुवा हुनेछन् । यसले निजामती सेवाबाट समायोजन भएका कर्मचारीहरूका लागि भने बढुवाको बन्द भएको ढोका खोलेको छ ।
रिट निवेदकमध्येका एक जना मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीले प्रदेश कानुनले आफूहरूजस्ता निजामती सेवाबाट समायोजन भएका कर्मचारीलाई अन्यायपूर्ण तरिकाले बढुवा प्रक्रियाबाटै बाहिर राखेको बताए ।
‘निजामती सेवाबाहेक भनेर अन्य सेवाबाट आएकालाई मात्र बढुवा गर्ने गरी कानुन बनाइयो । हामी त संघीय कानुन कर्मचारी समायोजन ऐन, २०७५ को दफा १४ अनुसार ज्येष्ठता गणना हुने सर्तमा समायोजन भएर आएका हौँ,’ कार्कीले भने, ‘हामी ज्येष्ठ हुँदाहुँदै कनिष्ठ कर्मचारी बढुवा हुने अवस्था अन्यायपूर्ण थियो । त्यही भएर हामीले संघीय कानुनसँग बाझिएको भन्दै रिट दायर गरेका थियौँ ।’
सर्वोच्चले आफूहरूको मागदाबीअनुसार नै रिट जारी हुने फैसला गरेको भन्दै उनले यसबाट न्यायको अनुभूति भएको बताए ।
यो फैसलाले संघीय कानुनसँग बाझिने गरी प्रदेशले बनाउने कानुनहरू स्वतः बदर हुने नजिर स्थापित गरेको छ भने स्थानीय तहमा समायोजन भएका हजारौँ निजामती कर्मचारीको वृत्तिविकासको बाटोलाई सुनिश्चित गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण